२१ वैशाख, काठमाडौं । जनमत पार्टीका बहुमत सांसदहरूले कांग्रेसका कृष्ण यादव नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
जनमत पार्टीका ९ जना सांसदहरूले फिर्ता लिएको पत्र पठाएका छन् जनमत पार्टीका महासचिव समेत रहेका प्रमुख सचेतक चन्दन सिंहका अनुसार पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतसँगको सल्लाहमा पार्टी संसदीय दलका बुहमत सदस्यले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् ।
‘सरकार बनेदेखि नै मधेश प्रदेशमा मुख्यमन्त्रीले गरेका काम ठीक थिएनन् त्यसैले हामीले हाम्रो पार्टीको समर्थन फिर्ता लिने निर्णय गरेका हौं‘ महासचिव सिंहले अनलाइनखबरसँग भने ।
मधेश सरकारमा जनमत पार्टीबाट संसदीय दलका नेता र महेश यादव अर्थमन्त्री र बसन्त कुशवाहा युवा तथा समाजकल्याण मन्त्री छन् । प्रदेश सभामा जनमत पार्टीका हाल १२ जना सदस्य छन् । ती मध्ये बबिताकुमारी राउत उपसभामुख छिन् ।
मधेशमा एमाले बाहेक सबै दल मिलेर सरकार बनेको छ । जनमत पार्टीका सांसदहरूको यो निर्णयसँगै कांग्रेस नेतृत्वको सरकारको विकल्पमा वैकल्पिक गठबन्धन बन्न खोजेको संकेत देखा परेको छ ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ जना चाहिन्छ । प्रदेश सभामा हाल नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १२, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक-एक सिट रहेको छ ।
प्रतिक्रिया 4