News Summary
Generated by OK AI. Editorially reviewed.- डोनाल्ड ट्रम्पले अमेरिकी जनतासँग परामर्श नगरी इरानमाथि आक्रमण गर्ने निर्णय लिएका थिए र आफ्नो शक्तिमा 'मेरो आफ्नै नैतिकता र मेरो स्वविवेक' मात्र रहेको बताए।
- दार्शनिक जुर्गेन हेबरमासले लोकतन्त्रको सार सार्वजनिक विमर्श र बहसमा रहेको र सबै राजनीतिक शक्ति नागरिकहरूको सञ्चारात्मक शक्तिबाट प्राप्त हुने बताएका थिए।
- हेबरमासले सामाजिक सञ्जालले लोकतान्त्रिक बहसलाई असम्भव बनाएको र ट्रम्पको निरङ्कुश कार्यशैलीले अमेरिकी लोकतन्त्रमा विघटन ल्याएको बताएका छन्।
अमेरिकीहरू गलत बहानामा युद्धमा धकेलिएको लामो इतिहास छ। सन् १८९८ मा अमेरिकी नौसेनाकै विज्ञले जहाजमा भएको दुर्घटनाजन्य विस्फोटका कारण सो घटना भएको बताए पनि ‘यलो प्रेस’ ले ‘युएसएस मेन’ डुब्नुमा स्पेनलाई दोष दिएर युद्धको उन्माद फैलाउन प्रोत्साहित गरेको थियो। त्यसैगरी, जर्ज डब्लु बुस प्रशासनले सद्दाम हुसेनको ९/११ को आक्रमणसँग सम्बन्ध रहेको र उनले आमविनाशकारी हतियारहरू बनाइरहेको दाबी गर्दै इराकमाथि गरिएको आक्रमणको औचित्य पुष्टि गर्ने प्रयास गरेको थियो; जबकि ती दुवै कुरा पछि गएर असत्य साबित भए।
तर इरान युद्धको सन्दर्भमा, अन्य धेरै कुरामा जस्तै, डोनाल्ड ट्रम्पले नयाँ मानक स्थापित गरेका छन्। उनी जनतासँग झुट बोल्ने झन्झट समेत नगरी युद्ध शुरु गर्ने पहिलो राष्ट्रपति हुन्; किनभने उनलाई जनताले के सोच्छन् भन्ने कुराको कुनै वास्ता नै थिएन। इरानमाथि आक्रमण गर्ने विषयमा अमेरिकी जनतासँग कुनै परामर्श गरिएन- न त औपचारिक रूपमा कङ्ग्रेसका निर्वाचित प्रतिनिधिहरूमार्फत, न अनौपचारिक रूपमा बौद्धिक वृत्त, कार्यकर्ता र नागरिक समाजका समूहहरूमा नै।
ट्रम्पले जनवरीमा न्युयोर्क टाइम्ससँग कुरा गर्दै भने झैं, कमान्डर-इन-चिफका रूपमा उनको शक्तिमा ‘मेरो आफ्नै नैतिकता र मेरो स्वविवेक’ बाहेक अरू कुनै कुराको बन्देज थिएन। उनले थप भनेका थिए, ‘मलाई रोक्न सक्ने यो एउटै मात्र कुरा हो।’
विश्व घटनाक्रमहरूमा प्रखर टिप्पणीकार, दार्शनिक जुर्गेन हेबरमासले इरान युद्धबारे टिप्पणी गर्न पाएनन्। अमेरिका र इजरायलको आक्रमण शुरु भएको दुई हप्तापछि ९६ वर्षको उमेरमा गत मार्च १४ मा उनको निधन भयो। तर यस युद्धले उदार लोकतन्त्रको भविष्यका बारेमा उनका ती गहिरा भयहरूलाई चरितार्थ गरिदियो, जसको विश्लेषण र रक्षामा उनले आफ्नो लामो जीवन बिताएका थिए। हेबरमासका लागि लोकतन्त्रको सार नै ‘डिस्कोर्स’ (विमर्श) अर्थात् विचार र मूल्यमान्यताहरूका बारेमा हुने निरन्तरको बहस थियो।
राजनीतिक र सामाजिक सिद्धान्तका आफ्ना महत्त्वपूर्ण कृतिहरूमा उनले ‘पब्लिक स्फेयर’ (सार्वजनिक वृत्त) को बारेमा लेखेका छन्, जहाँ नागरिकहरू निर्णयमा पुग्नका लागि एक ठाउँमा उभिन्छन्। त्यस्तै, उनले कम्युनिकेटिभ एक्सन अर्थात् सञ्चारात्मक क्रियाको बारेमा पनि लेखेका छन्, जसले भाषालाई सहकार्यको शक्तिको रूपमा बदल्छ। उनले लेखेका थिए, ‘सबै राजनीतिक शक्ति नागरिकहरूको सञ्चारात्मक शक्तिबाट प्राप्त हुन्छ। र, एक आदर्श लोकतन्त्रमा सबै सान्दर्भिक प्रश्न, मुद्दा र योगदानहरूलाई बहस तथा वार्ताका माध्यमबाट उठाइन्छ र निष्कर्षमा पुर्याइन्छ।
हेबरमासको जस्तो लामो र उत्पादनशील जीवनको अन्त्यलाई त्रासदी भन्न सकिंदैन। तर उनको मृत्युपश्चात् विश्वभर प्रकाशित श्रद्धाञ्जलीहरूमा एक विशेष प्रकारको कारुणिकता थियो, जसले स्वयम् लोकतन्त्रको दुःखद अवस्थालाई नै सङ्केत गरिरहेको भान हुन्थ्यो। गत नोभेम्बरमा म्युनिखमा भएको आफ्नो अन्तिम सार्वजनिक उपस्थितिमध्ये एकमा उनले ट्रम्पको कार्यकारी शक्तिको स्वेच्छाचारी-निरङ्कुश विस्तारका कारण संयुक्त राज्य अमेरिका जस्तो सबैभन्दा पुरानो उदार लोकतान्त्रिक शासन व्यवस्थाको अपरिवर्तनीय विघटनप्रति शोक व्यक्त गर्दै मन्तव्य दिएका थिए।
अमेरिकाको निरङ्कुशतातर्फको मोडले हेबरमासको जीवनको अन्त्यलाई अन्धकारमय बनाइदियो, जसलाई उनले आफ्नो भाषणमा राजनीतिक रूपमा निकै अनुकूल जीवनका रूपमा वर्णन गरेका थिए। शायद यो जीवन यस अर्थमा अनुकूल थियो कि यसको सुरुआत यति तल्लो बिन्दुबाट भएको थियो कि त्यहाँबाट माथि उठ्नुको विकल्प नै थिएन।
हेबरमासको जन्म सन् १९२९ मा जर्मनीमा भएको थियो र उनी नाजीवादको छायामा हुर्किएका थिए। उनी हिटलर युथका सदस्य थिए र उनका पिताले दोस्रो विश्वयुद्धको समयमा जर्मन सेना (वेहरमाच) मा एक अधिकारीका रूपमा सेवा गरेका थिए। उनले पश्चिम जर्मनीमा लोकतन्त्रले जरा गाडेको र पछि पुनर्गठित जर्मनी स्वतन्त्र युरोपको एउटा बलियो खम्बा बनेको देख्न पाउने गरी लामो जीवन बाँचे।
यो सुखद अन्त्य कुनै पनि हालतमा सुनिश्चित थिएन र यसमा एक सिद्धान्तकार एवम् प्रखर वक्ताका रूपमा हेबरमासको कार्यले महत्त्वपूर्ण योगदान पुर्याएको थियो। उनले आफ्नो करिअरको सुरुआत सन् १९५० को दशकमा पश्चिम जर्मनीबाट गरेका थिए, जतिबेला प्राज्ञिक क्षेत्रमा अझै पनि पूर्व नाजीहरूकै वर्चस्व थियो।
नाजी शासनसँगको सहकार्यका बाबजुद तत्कालीन जर्मन दर्शनका आदर्श मानिने मार्टिन हाइडेगरको प्रभावको विरुद्धमा उभिएर युवा हेबरमासले थिओडोर एडोर्नोलाई आफ्नो मार्गदर्शकका रूपमा पाए, जो नाजी कालखण्डमा निर्वासनमा रहेका एक कट्टर सामाजिक आलोचक थिए। एडोर्नो ‘क्रिटिकल थ्यौरी’ (आलोचनात्मक सिद्धान्त) को फ्र्याङ्कफर्ट स्कूलका संस्थापकहरूमध्ये एक थिए। हेबरमासले उक्त स्कूलको दोस्रो पुस्ताको नेतृत्व सम्हाल्दै आफ्नो करिअरको अधिकांश समय फ्र्याङ्कफर्ट विश्वविद्यालयमा विताए।
तर एडोर्नोले होलोकास्टपछि आधुनिक सभ्यताप्रति प्रभावकारी रूपमा आशा मारिसकेका थिए भने हेबरमासले आफ्नो करिअर पश्चिमी बौद्धिक परम्पराभित्रै स्वतन्त्रताका स्रोतहरू खोज्नमा समर्पित गरे। त्यो खोज सन् १९६२ मा प्रकाशित उनको पहिलो पुस्तक ‘द स्ट्रक्चरल ट्रान्सफर्मेसन अफ द पब्लिक स्फेयर’ बाट शुरु भएको थियो। यो अझै पनि उनको सबैभन्दा लोकप्रिय कृति हो।
हेबरमासका पछिल्ला सघन सैद्धान्तिक लेखनको तुलनामा यो बढी स्पष्ट र ऐतिहासिक छ। हेबरमासले ‘जनमत’ को आधुनिक अवधारणाको विकास १८औं शताब्दीको युरोपका कफी पसल, सलोन र पत्रिकाहरूबाट भएको पत्ता लगाएका थिए, जसले सर्वसाधारणलाई समसामयिक घटनाहरूमा बहस गर्न र शासकका निर्णयहरूमाथि आफ्नो धारणा बनाउन अवसर दिएका थिए।
फ्रान्सेली क्रान्तिको आधारशिला तयार गर्ने यही परिवेश हेबरमासको राजनीतिक प्रेरणाको स्रोत बन्यो। उनले लेखेका छन्- सार्वजनिक वृत्त (पब्लिक स्फेयर) को अर्थ दमनको अन्त्य हो, ताकि विचार र नीतिहरू जनमतको बाध्यकारी अन्तर्दृष्टि बाहेक अरू कुनै पनि आधारमा हावी नहुन्।
तर हेबरमासले के कुरा स्वीकार गरेका थिए भने यो उदार लोकतान्त्रिक आदर्श कहिल्यै पनि पूर्ण रूपमा साकार हुन सकेन। न त १८औं शताब्दीमा, जब सार्वजनिक वृत्त केवल सम्भ्रान्त पुरुषहरूका लागि मात्र खुला थियो; न २०औं शताब्दीमा, जब जनमत निष्क्रिय र जड बन्यो र प्रोपोगान्डाबाट प्रभावित हुने वस्तुमा परिणत भयो। उनले दुःख व्यक्त गर्दै भनेका छन्, ‘आम सञ्चारमाध्यमले निर्माण गरेको यो संसार देखावटी रूपमा मात्र सार्वजनिक वृत्त हो।’
यस्ता अवलोकन गर्नेमा हेबरमास एक्लो थिएनन्। तर मार्क्सबाट शुरु भएका वामपन्थी चिन्तकहरूले उदारवादी आदर्शलाई पूर्ण रूपमा अविश्वसनीय र पूँजीवादी शक्तिको एउटा आवरण मात्र मान्थे भने हेबरमासले उदारवादको युटोपियन सम्भावनामाथि विश्वास कायम राखे।
एक वास्तविक विवेकी लोकतन्त्र कहिल्यै अस्तित्वमा थिएन भन्ने कुरा सत्य हुन सक्छ तर उनले कुनै पनि असल समाज यसकै सिद्धान्तहरूमा आधारित हुनुपर्नेमा जोड दिए। उनले सन् १९९२ को आफ्नो पुस्तक ‘बिट्विन फ्याक्ट्स एन्ड नर्म्स’ मा लेखेका छन्, ‘कानूनको वैधता अन्ततः सञ्चारात्मक व्यवस्थामा निर्भर गर्दछ।’
उनका अनुसार नागरिकहरू तार्किक बहसमा सहभागी हुनुपर्छ, जसले आफ्ना विचारहरू स्वतन्त्र रूपमा व्यक्त गर्न र कठिन समस्याहरूको आपसी समझदारीमा आधारित समाधान खोज्न सकून्।
बहसको गतिशीलता सम्बन्धी हेबरमासको अध्ययनले उनलाई राजनीतिक दर्शनको क्षेत्रभन्दा धेरै अगाडि पुर्यायो। उनको बौद्धिकताले समाजशास्त्र, भाषाविज्ञान, मनोविज्ञान र सांस्कृतिक अध्ययनलाई समेट्नुका साथै विगत र वर्तमानका अन्य धेरै चिन्तकसँग संवाद गर्दछ। वास्तवमा, हेबरमासले हरेक विषयका बारेमा सबै कुरा पढेका छन् कि भन्ने भान कहिलेकाहीं पर्छ। उनको लेखनशैली पनि जर्मन दर्शनको लामो परम्परा जस्तै सघन र अमूर्त छ। यद्यपि, उनको कामलाई उनी आफैंले भनेको ‘डिस्कोर्स इथिक्स’ (विमर्शको नैतिकता) को एक जीवन्त उदाहरणका रूपमा पनि लिन सकिन्छ, जहाँ अन्य विचारहरूसँग इमानदार र निरन्तर वैचारिक आदानप्रदान हुन्छ।
अन्ततः हेबरमासको यो विश्वास थियो कि भाषा स्वयम्ले मानिसहरूलाई लोकतान्त्रिक तर्कवितर्कप्रति प्रतिबद्ध बनाउँछ। सन् १९८१ को उनको महान् कृति ‘द थ्यौरी अफ कम्युनिकेटिभ एक्सन’ मा उनले भाषालाई केवल प्रस्तावनाका रूपमा हेर्ने वैज्ञानिक प्रवृत्तिलाई अस्वीकार गरे अर्थात्, संसारका बारेमा दिइने त्यस्ता अभिव्यक्तिहरू जुन कि त सत्य हुन्छन् वा असत्य। हेबरमासले के कुरामा जोड दिएका छन् भने सबैभन्दा महत्त्वपूर्ण कुरा कुनै अभिव्यक्ति केका बारेमा छ भन्ने होइन, बरु त्यो कसलाई सम्बोधन गरिएको छ भन्ने हो।
जुनसुकै समयमा हामी केही भन्छौं, त्यो अर्को मानवलाई उनीहरूको सहमति प्राप्त गर्ने एउटा अन्तर्निहित प्रयासका रूपमा भनिरहेका हुन्छौं। विभिन्न प्रकारका अभिव्यक्तिहरूले फरक–फरक किसिमको स्वीकारोक्ति खोज्छन्: एउटा तथ्यगत दाबी, जस्तै- ‘पृथ्वी सूर्यबाट तेस्रो ग्रह हो’ ले सत्यका रूपमा स्वीकार गरिनुपर्ने अपेक्षा राख्छ भने ‘हत्या पाप हो’ जस्तो नैतिक दाबीले सहीका रूपमा स्वीकार गरिनुपर्ने अपेक्षा राख्छ।
हेबरमासले लेखेका छन्, ‘व्यक्तिको वाक्–कार्य (स्पिच एक्ट) तब मात्र सफल हुन्छ, जब अर्को व्यक्तिले त्यसमा रहेको प्रस्तावलाई स्वीकार गर्दछ।’ र, कुनै वाक्–कार्यलाई स्वीकार गर्ने वा अस्वीकार गर्ने निर्णय सधैं ‘सम्भावित आधार वा कारणहरूमा आधारित’ हुन्छ। जब हामी केही भन्छौं, तब हामीले त्यसको पछाडि आफूसँग ठोस कारणहरू छन् र आवश्यक परेको खण्डमा ती कारणहरू प्रस्तुत गर्न सकिन्छ भन्ने एउटा मौन प्रतिज्ञा गरिरहेका हुन्छौं।
हेबरमासले यो निष्कर्ष निकाले कि ‘अनुनय’ (पर्सुएसन) भाषा प्रयोग गर्ने धेरै तरिकामध्ये एउटा तरिका मात्र होइन; बरु यो भाषाको हरेक प्रयोगको जग हो। ‘मानवीय वाणीको अन्तर्निहित लक्ष्य’ (टेलोस), अर्थात् जुन उद्देश्यका लागि यो लक्षित छ, त्यो भनेको मानिसहरूका बीचमा समझदारीमा पुग्नु हो।
वास्तविक जीवनमा, पक्कै पनि हामी भाषालाई केवल तर्कसङ्गत अनुनयका लागि मात्र प्रयोग गर्दैनौं। हामी यसलाई आदेश र धम्की दिनका लागि पनि प्रयोग गर्छौं, जहाँ सहमतिको सट्टा आज्ञाकारिताको माग गरिन्छ। तर हेबरमासका अनुसार जब हामी सम्भावित ‘नोक्सान’ वा ‘पुरस्कार’ का कारण कसैसँग सहमत हुन्छौं, तब हामी साँच्चिकै सहमत भइरहेका हुँदैनौं, बरु केवल आत्मसमर्पण गरिरहेका हुन्छौं।
यही सिद्धान्त अनुसार, सार्वजनिक बहस तब मात्र वास्तविक हुन्छ जब कुनै पनि सहभागीलाई वञ्चित गरिंदैन, कुनै पनि विचारलाई निषेध गरिंदैन र कसैलाई पनि दबाबमा पारिंदैन। यस्ता शर्तहरू वास्तविक राजनीतिमा विरलै पाइन्छन् तर हामी सधैं यो आदर्शको नजिक जान वा यसबाट टाढा हुन सक्छौं।
बीसौं शताब्दीको मध्यमा जब हेबरमासले ‘स्ट्रक्चरल ट्रान्सफर्मेसन’ लेखे, उनले सार्वजनिक बहसका मुख्य बाधाहरू प्राविधिक रहेको विश्वास गरे। रेडियो, टेलिभिजन र ठूला स्तरका समाचारपत्रहरूले कफी पसलका पण्डितहरूले सपनामा पनि सोच्न नसक्ने दर्शकहरूसम्म पुग्न सम्भव बनाइदिए। तर यो सञ्चार एकतर्फी थियो: आम सञ्चारमाध्यमहरूले जनतासँग कुरा त गरे तर उनीहरूलाई केही भन्ने र असहमति जनाउने अवसरबाट वञ्चित गरिदिए। र, सञ्चारमाध्यमको कार्यसूची (एजेन्डा) धनी र शक्तिशालीहरूद्वारा तय गरिने भएकाले फरक मत राख्ने आवाजहरू सुनिनु लगभग असम्भव भयो।
हेबरमासको जीवनको उत्तरार्धसम्म आइपुग्दा, विडम्बनापूर्ण रूपमा, प्रविधिको विकासले ठ्याक्कै उल्टो समस्या खडा गरिदियो। इन्टरनेट र सामाजिक सञ्जालका कारण विचारको बजारमा प्रवेश गर्नका लागि अवरोधहरू पहिलेभन्दा धेरै कम भएका छन्। एक एक्लो स्ट्रिमर लाखौंका लागि आधिकारिक व्यक्ति बन्न सक्छ, जबकि कुनै समय शक्तिशाली रहेका टेलिभिजन नेटवर्क र पत्रिकाहरू भने टिकिरहन सङ्घर्ष गरिरहेका छन्।
यो सञ्चारका लागि एक वरदान हुनुपर्ने थियो र इन्टरनेटको सुरुआती दिनहरूमा धेरै आदर्शवादीहरूले यस्तै हुनेछ भन्ने सोचेका थिए। त्यसो भए, विचार र बहसको यो प्रचुरता लोकतन्त्रका लागि अभावभन्दा पनि किन घातक सावित भयो त ?
सन् २०२३ मा प्रकाशित आफ्ना पछिल्ला पुस्तकहरूमध्ये एक- ‘अ न्यु स्ट्रक्चरल ट्रान्सफर्मेसन अफ द पब्लिक स्फेयर एन्ड डेलिबरेटिभ पोलिटिक्स’ मा हेबरमासले यस विकासक्रमको संक्षिप्त सर्वेक्षण गरेका छन्। उनले अवलोकन गर्दै लेखेका छन्, ‘जसरी छापाखानाले सबैलाई सम्भावित पाठक बनायो, आजको डिजिटलाइजेसनले सबैलाई सम्भावित लेखक बनाइरहेको छ।’
समस्या के छ भने जब कुरा बहसको आउँछ, परिमाण प्रायः गुणस्तरको शत्रु बनिदिन्छ। तार्किक सार्वजनिक बहस तब मात्र हुन सक्छ जब सहभागीहरूले निश्चित शर्तहरू स्वीकार गर्छन्- सबैभन्दा महत्त्वपूर्ण कुरा, सत्य बोल्ने र अरूका दृष्टिकोणहरू सुन्ने दायित्व।
इन्टरनेट यी गुणहरूलाई प्रोत्साहित गर्नका लागि परिचित छैन। समस्या केवल मानिसहरूले व्यक्तिगत वा राजनीतिक लाभका लागि जानाजानी झुट बोल्नु र भ्रामक सूचना (डिसइन्फर्मेसन) फैलाउनु मात्र होइन। मुख्य समस्या त सार्वजनिक वृत्त (पब्लिक स्फेयर) आपसमा प्रतिस्पर्धा गर्ने विभिन्न समूहमा विभाजित हुनु हो, जहाँ प्रत्येक समूहले अरूलाई बेवास्ता गर्न सक्छन्।
यदि तपाईं कुनै विचारविरोधी हुनुहुन्छ भने तपाईंको सामाजिक सञ्जालको फिड सोही विचारविरोधीहरूले नै भरिएको हुन्छ, जसले गर्दा तपाईंका मान्यताहरू सधैं पुष्टि हुन्छन् र तिनलाई कहिल्यै चुनौती दिइँदैन। यसले लोकतान्त्रिक बहसलाई असम्भव बनाउँछ।
हेबरमासले लेखेका छन्, ‘विवेकी राजनीतिको मुख्य उद्देश्य नै राजनीतिक विवादहरूमा हाम्रा मान्यताहरूलाई सुधार गर्न सक्षम बनाउनु र समस्याहरूको सही समाधानको नजिक पुग्नु हो।’ यदि हामीले कहिल्यै पनि प्रतिवादका चुनौती भोग्नु परेन वा स्पष्टीकरणको मागद्वारा आफूलाई इमानदार राखेनौं भने त्यो सम्भव हुँदैन (अथवा उनले आफ्नो सञ्चार सिद्धान्तको प्राविधिक भाषामा भने झैं, ‘सञ्चारात्मक सामग्रीहरू अब आलोचनायोग्य वैधताका दाबीहरूको मुद्रामा आदानप्रदान हुन सक्दैनन्।’)
जब हेबरमासले सामाजिक सञ्जालका बारेमा लेखे, उनी आफ्नो ९० को दशकमा थिए र उनले यसले निम्त्याउने चुनौतीलाई केवल उदार लोकतन्त्रका लागि मात्र नभई आफ्नै विचार र विश्वदृष्टिकोणका लागि समेत सम्भवतः कम आँकेका थिए। आजको राजनीतिमा इन्टरनेटको सबैभन्दा डरलाग्दो प्रभाव भनेको यसले विभाजन ल्याउनु मात्र होइन। बरु, अनलाइन अस्तित्वको हल्कापनले एक प्रकारको खुसियालीपूर्ण शून्यवाद (निहिलिजम) लाई प्रश्रय दिइरहेको छ। सामाजिक सञ्जालले डिस्कोर्स अर्थात् सार्थक बहसलाई भन्दा ट्रोलिङलाई बढी प्रोत्साहन गर्छ- जहाँ तपाईंले के भन्नुहुन्छ भन्ने कुराले अर्थ राख्दैन, जबसम्म मानिसहरूले तपाईंमाथि ध्यान दिइरहन्छन्।
ट्रम्पलाई निरङ्कुश भन्नुमा हेबरमास सही थिए, तर सामाजिक सञ्जालको युगमा उनलाई ‘स्ट्रङम्यान’ बनाउने तत्त्व भनेको उनको पागलपनयुक्त तुच्छता हो, जसमा उनी के गरिरहेका छन् वा अब के गर्नेछन् भन्ने कुरामा न उनलाई थाहा छ, न त कुनै चासो नै देखिन्छ। उनले कुनै पनि कुरालाई गम्भीरतापूर्वक नलिने भएकाले, उनले मानिस र संस्थाहरूमाथि पूर्ण रूपमा गम्भीर क्षति पुर्याइरहँदा समेत उनलाई गम्भीरतापूर्वक लिन लगभग असम्भव जस्तै बनाइदिन्छन्।
यही गुणले गर्दा ट्रम्प राजनीतिक सिद्धान्तकारहरूका लागि एउटा रहस्य बनेका छन् तर सामाजिक सञ्जालका लागि भने उनी एक तारा हुन्- एउटा यस्तो माध्यम जहाँ कार्ल मार्क्सको प्रसिद्ध वाक्यांश सापटी लिने हो भने, ‘जे जति ठोस छ, ती सबै हावामा विलीन भएर जान्छन्।’
जब क्रूरता र अनुत्तरदायित्व यति प्रभावकारी राजनीतिक संयोजन बन्न सक्छन्, तब यो स्पष्ट हुन्छ कि तार्किक बहसको युग अर्थात् जुर्गेन हेबरमासको युग अब पूर्ण रूपमा समाप्त भएको छ।
(द एटलान्टिकमा प्रकाशित एडम किर्सको विचारको भावानुवाद। कवि, समालोचक र सम्पादक समेत रहेका एडम किर्स ‘द एट्लान्टिक’ र ‘द न्यु योर्कर’ का नियमित लेखक पनि हुन्। ‘द पिपल एन्ड द बुक्स’ र ‘द डिस्कार्डेड लाइफ’ (कविता सङ्ग्रह) सहित १० वटा पुस्तक लेखेका छन्।)
प्रतिक्रिया 4