+
+
Shares

इलामको जसबीरेमा जोन एन्ड दि लोकल्स गुञ्जिएपछि

यसअघि इन्दिरा जोशी, राजेशपायल राईलगायतको सांगीतिक कार्यक्रम गरिसकेको हेलिबोधले स्थानीय पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउन यस्तो कार्यक्रम गर्दै आएको अध्यक्ष पूर्णफत्र लिम्बु बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामको जसबीरमा हेलिबोध क्लबले आयोजना गरेको सांगीतिक कार्यक्रममा जोन एन्ड दि लोकल्सले हजारौं दर्शकसामु प्रस्तुति दिएका थिए।

साँझ पानी थामिएको थिएन । दिउँसोदेखि परेको पानी केही मत्थर भने भएको थियो । छिनमै हुस्सु लाग्ने र छिनमै खुल्ने इलामको मौसमको के कुरा गर्नु ।

खुला आकाशमुनि रमाउनेका लागि त्यति अनुकुल थिएन मौसम । तर, जोन चाम्लिङ राईको चुम्बकीय आकर्षणले मौसमलाई चुनौती दियो । अरू बेला फुटबल खेल हुने ठूलो मैदान दर्शकले भरियो । खचाखच दर्शकसँगै जसबीरेको खेल मैदान सांगीतिक माहौलमा बदलियो । अनि चर्को ध्वनि, चहकिलो प्रकाशसँगै प्रकट भए जोन चाम्लिङ राई ।

हजारौं दर्शकको हुटिङसँगै जसबीरेको चिसो मौसम एकाएक तातियो । जोन एन्ड दि लोकल्सलाई सुन्न र प्रत्यक्ष हेर्न दार्जीलिङबाट समेत ओइरिएका दर्शकको भीडले त्यो साँझ रंगीन बनाइदियो ।

पूर्वी इलाममा पहिलो पटक जोन मन्चमा पर्दापण गरिरहेका थिए र उनलाई हेर्न अधैर्य भई बसेका दर्शक उमंगले नाचेका थिए । पानी परिरहेको थियो र त्यसैको शीतलतामा दर्शकहरू उफ्रिरहेका थिए ।

दर्शकको उत्साह देखेर जोनले अविश्राम गाइरहे, ‘बादलसरी वरिपरि’, ‘साधना’, ‘समयले’, ‘के गरौं’, ‘मुटुदेखि’, ‘मनका कुरा’ । गीत उनले मात्र गाएनन्, उपस्थित दर्शकले पनि सँगसँगै स्वरमा स्वर मिसाइदिए ।

साँझ ५ बजेबाट सुरु भएको कार्यक्रम १० बजेसम्म जारी रह्यो । यसबीचमा स्थानीय कला केन्द्रहरूका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए । जोन एन्ड दि लोकल्सलाई जसबीरमा प्रस्तुत गरेको हो, हेलिबोध क्लबले ।

बिब्ल्याँटेस्थित यस क्लबले वार्षिक कार्यकम अन्तर्गत यसपाली जोन एन्ड दि लोकल्सलाई निम्त्याएको हो । यसअघि इन्दिरा जोशी, राजेशपायल राईलगायतको सांगीतिक कार्यक्रम गरिसकेको हेलिबोधले स्थानीय पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउन यस्तो कार्यक्रम गर्दै आएको अध्यक्ष पूर्णफत्र लिम्बु बताउँछन् ।

भनिहालौं, अहिलेको पुस्तामाझ अत्याधिक रुचाइएका सांगीतिक समूह हो, जोन एन्ड दि लोकल्स । रहरै रहरमा बनाएको गीत अचानक लोकप्रिय भएपछि उदाएको यो समूह अहिले आफ्नै चिनारी र धुन बोकेर विश्व परिक्रमा गरिरहेका छन् ।

फोटोहरु :  मिलन मुखिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?