+
+
Shares

विवादास्पद वैज्ञानिक : जसले चिम्पान्जी र मान्छेबीच गर्भाधान गराउने प्रयास गरे

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोभियत जीव वैज्ञानिक इल्या इवानोभले सन् १९१० मा मानव र चिम्पान्जीबीच हाइब्रिड बनाउन सकिने दाबी गरेका थिए।
  • इवानोभले अफ्रिकामा चिम्पान्जीमा मानवको अण्डाशय प्रत्यारोपण र कृत्रिम गर्भाधान प्रयास गरे तर असफल भए।
  • उनको प्रयोगले धर्मलाई चुनौती दिन र कम्युनिस्ट प्रणालीलाई बलियो बनाउन खोजिएको थियो तर सन् १९३२ मा मृत्यु भएपछि असफल भयो।

बीसौँ शताब्दीको सुरुवातमा सोभियत संघका प्रसिद्ध जीव वैज्ञानिक इल्या इवानोभले एउटा अत्यन्तै विवादास्पद र असामान्य प्रयोग सुरु गरे । उनको सपना मानिस र चिम्पान्जीलाई मिलाएर एउटा नयाँ हाइब्रिड जीव उत्पादन गर्नु थियो । त्यसलाई ह्युमनजी भनिन्छ ।

जनावरहरू बीच हाइब्रिड बनाउन सफलता प्राप्त गरिसकेपछि मानव र बाँद‍र प्रजातिबीच पनि त्यो सम्भव हुन सक्ने उनको विश्वास थियो । उनले घोडा, जेब्रा र गधा, गाई र बाइसनबीच क्रस ब्रिडिङ गरेर ठिमाहा उत्पादन गरेर सफलता पाएका थिए । सोही सफलताले गर्दा उनले बोल्सेभिक सरकारको समर्थन पनि प्राप्त गरे ।

इवानोभले सन् १९१० मै विश्वका वैज्ञानिकहरूसामु दाबी गरेका थिए कि भविष्यमा मानव र बाँदर प्रजाति अर्थात एपबीच हाइब्रिड बनाउन सकिन्छ । सोभियत सरकारलाई यो विचार मन परेको थियो किनभने यसले क्रमविकास सिद्धान्तलाई बलियो प्रमाण दिन सक्थ्यो र धर्मलाई चुनौती दिन सक्थ्यो ।
त्यसैले सरकारले उनलाई पैसा र सहयोग दियो ।

सन् १९२५ मा इवानोभ अफ्रिकाको फ्रेन्च गिनी गए र त्यहाँको जङ्गलबाट चिम्पान्जीहरू समात्ने प्रयास गरे।

त्यहाँ उनले एउटा पोथी चिम्पान्जीमा मानवको अण्डाशय प्रत्यारोपण गर्ने प्रयास गरे । पछि उनले त्यो चिम्पान्जीलाई मानवको शुक्राणुबाट गर्भाधान गराउने प्रयास गरे । तर त्यसमा सफलता पाएनन् । त्यसपछि उनले उल्टो बाटो अपनाए।

अफ्रिकादेखि सोभियत संघसम्मका प्रयोग

इवानोभले अफ्रिकाबाट चिम्पान्जीहरू सोभियत संघ ल्याए । सन् १९२६/२७ तिर उनले गिनीमा तीन वटा पोथी चिम्पान्जीलाई मानवको शुक्राणुबाट कृत्रिम गर्भाधान गर्ने प्रयास गरे । तर त्यसो गरिएका कुनै पनि चिम्पान्जी गर्भवती भएनन्।

पछि उनी सोभियत संघ फर्किएर अबखाजियामा एउटा प्राइमेट नर्सरी स्थापना गरे । त्यहाँ उनले केही सोभियत महिलाहरूलाई चिम्पान्जीको शुक्राणुबाट गर्भाधान गराउने प्रयास गरे । तर कुनै पनि महिला गर्भवती भएनन् ।

वास्तवमा मानव र चिम्पान्जीबीच हाइब्रिड बनाउन असम्भव थियो । किनकि मानवमा ४६ क्रोमोजोम हुन्छन् भने चिम्पान्जीमा ४८ वटा । यी दुवैका प्रजनन कोषहरू एकअर्कासँग मेल खाँदैनन् । जसका कारण यी दुई जीवबीच गर्भधारण नै हुन सक्दैन । यही जैविक भिन्नताका कारण इवानोभका सबै प्रयास असफल भए।

नैतिक र राजनीतिक विवाद

इवानोभका प्रयोगहरू अत्यन्त विवादास्पद थिए । उनले स्थानीय अफ्रिकी महिलाहरूलाई उनीहरूको सहमति बिना यस्तो प्रयोगमा सहभागी गराउने बारे पनि सोचेका थिए । तर सोभियत सरकारले त्यसो गर्न अनुमति दिएन ।

पश्चिमी मिडियामा उनको त्यस्तो कामको समाचारका बारेमा ठूलो सनसनी मच्चियो । केही मानिसहरूले यसलाई विकासवाद प्रमाणित गर्ने अवसर मान्थे भने केहीले यसलाई अनैतिक र पाप ठान्थे ।

सोभियत सरकारले सुरुमा त उनलाई समर्थन दिइरहेको थियो । तर उनले कुनै सफलता प्राप्त गर्न नसकेपछि अनि नैतिक प्रश्नहरू उठ्न थालेपछि इवानोभमाथि दबाब बढ्यो । सन् १९३० मा उनलाई गिरफ्तार गरियो र कजाकिस्तान पठाइयो । अन्ततः सन् १९३२ मा उनको मृत्यु भयो।

प्रयोगको वास्तविक उद्देश्य के थियो ?

केही इतिहासकारहरूको भनाइ अनुसार इवानोभले विज्ञानका लागि मात्र होइन सोभियत नास्तिकतालाई मजबुत बनाउनका लागि यस्ता प्रयोग गरिरहेका थिए । मानिस बाँदरबाट उत्पन्न भएको हो भन्ने कुरा प्रमाणित गरेर धर्मलाई कमजोर बनाउने उनको उद्देश्य थियो ।

कतिपय रिपोर्टहरूका अनुसार उनले बलियो तर आज्ञाकारी नयाँ मानव बनाउने परिकल्पना गरेका थिए । त्यस्ता मानवले कम्युनिस्ट प्रणालीका लागि काम गर्न सकून् भन्ने उनको चाहना थियो । तर यो प्रयोग पूर्णरूपमा असफल भयो र त्यसपछि कहिल्यै दोहोर्‍याइएन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?