२३ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षहरूले सरकारले विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताएका छन् । त्रिवि विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दिपकराज जोशी र पृथ्वीनारायण क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले संयुक्त विज्ञप्ति जारी गरेर विश्वविद्यालयसम्बन्धि अध्यादेशको विरोध जनाएका छन् ।
त्रिवि सभा सदस्य समेत रहेका दुवै अध्यक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको स्वायत्ततामाथि ठाडो राजनीतिक हस्तक्षेप गर्ने उद्देश्यले उक्त अध्यादेश ल्याइएको स्पष्ट देखिन्छ । लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित विद्यार्थी प्रतिनिधिलाई पन्छाउँदै, आवश्यक स्पष्टता र मापदण्डविना विश्वविद्यालय सभालाई कमजोर बनाउने प्रयास गरिएको छ ।’
विश्वविद्यालयमा गरिने नियुक्तिहरूलाई पूर्णत: राजनीतिक बनाउन खोजिएको उनीहरूको भनाइ छ ।
‘कार्यकारी परिषद् र त्रिभुवन विश्वविद्यालय सभाका अधिकार कटौती गर्दै तिनलाई सरकारको नियन्त्रणमा राख्ने प्रयास गरिएको देखिन्छ । अझ गम्भीर रूपमा, पदाधिकारी तथा सेवा आयोगका अध्यक्षलाई पदबाट हटाउने र छानबिनको दायरामा ल्याउने त्रिवि सभाको बहुमत अधिकारसमेत अध्यादेशमार्फत खोसिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4