+
+
Shares

सिटी होटलले भन्यो : संस्थापक सेयर लकइनमै छ, भ्रम फैलाउनेविरुद्ध कानुनी प्रक्रियामा जान्छौं

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटी होटलले संस्थापक समूहको सेयर बिक्री भएको अफवाह पूर्णतः गलत र भ्रामक रहेको प्रेस विज्ञप्ति जारी गर्‍यो।
  • कम्पनीले २०८३ जेठ ४ सम्म संस्थापक र कर्मचारी समूहका ९०.४० प्रतिशत सेयर लकइनमा रहेको सीडीएससीको आधिकारिक विवरणबाट प्रमाणित भएको बतायो।
  • सिटी होटलले भ्रामक समाचार प्रकाशन गर्नेविरुद्ध कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ।

२३ वैशाख, काठमाडौं । कानुन विपरीत सिटी होटलको ‘लकइन’ मा रहेको संस्थापक समूहको सेयर बिक्री गरिएको भनी फैलाइएका अफवाह पूर्णतः गलत, भ्रामक र तथ्यहीन रहेको कम्पनीले जनाएको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सिटी होटलले भनेको छ,‘कम्पनीले सुरुवातबाट नै लकइन सम्बन्धी नियमको पूर्ण रूपमा पालना गर्दै आएको छ । यस प्रकारका निराधार र भ्रामक समाचारमा विश्वास नगर्न तथा कम्पनीका आधिकारिक सूचनालाई मात्र विश्वसनीय स्रोतको रूपमा ग्रहण गर्न अनुरोध गरिन्छ ।’

कम्पनी–सचिव सुन्दरबहादुर सेनीद्धारा जारी विज्ञप्तिअनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडसमक्ष पत्राचार गरी संस्थापक समूहको सेयर अद्यावधिक विवरण माग गरिएको थियो । कम्पनीका संस्थापक र कर्मचारी समूहका सम्पूर्ण २ करोड ७२ लाख १९ हजार ३२८ कित्ता सेयर २०८३ जेठ ४ सम्म लक–इनमा रहेको विवरण प्राप्त भएको कम्पनीले उल्लेख गरेको छ।

‘हाल कम्पनीको लकइनमा रहेको सेयर कुल जारी सेयरको ९०.४० प्रतिशत (संस्थापक र कर्मचारीसमेत) रहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सीडीएससीको आधिकारिक विवरणबाट हाल कम्पनीको सम्पूर्ण संस्थापक समूहको सेयर नियमानुसार लकइनमा रहेको र सोमा कुनै पनि कैफियत नरहेको प्रमाणित हुन्छ ।’

सिटी होटलले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई साविक सेयरधनीलाई हकप्रद सेयर जारी गरेको जनाएको छ । सो क्रममा केही सेयर बिक्री नभई बाँकी रहन गएकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन नम्बर १५ बमोजिम बोर्डलाई जानकारी गराई लिलाम बढाबढमार्फत सेयर बिक्री गरिएको कम्पनीको भनाइ छ ।

‘लिलाम प्रक्रियामा लगानीकर्ताहरूले आ–आफ्नो मूल्यांकनका आधारमा न्यूनतम अंकित मूल्य १०० रुपैयाँभन्दा माथि राखेर बोलकबोल गरी सेयर खरिद गरेका थिए ।

‘लिलाम बढाबढ गर्नुपूर्व २०८२ कात्तिक १६ मा प्रकाशित सार्वजनिक सूचनामा संस्थापक तथा कर्मचारी समूहतर्फका सेयर नियामकीय आवश्यकता बमोजिम २०८३ जेठ ४ सम्म लकइनमा रहने व्यहोरा स्पष्ट रुपमा उल्लेखित छ’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।

कम्पनी र कम्पनीका पदाधिकारीविरुद्ध भ्रामक तथा आधारहीन समाचार प्रकाशित हुँदै आएको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

‘यस्ता भ्रामक समाचार प्रकाशन गर्ने कार्यमा संलग्न सबै विरुद्ध कम्पनीले आवश्यक कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?