News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट कार्यसमिति सदस्यमा निर्वाचित भएका ईश्वर जिसीले खेल क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने लक्ष्य राखेका छन्।
- ईश्वर जिसीले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सका अध्यक्ष भएर खेल क्षेत्रमा योगदान दिँदै आएका छन्।
- उद्योग वाणिज्य महासंघमा सदस्य निर्वाचित भएपछि जिसीले खेल क्षेत्रलाई व्यवस्थित र दिगो उद्योगको रूपमा स्थापना गर्ने योजना बनाएका छन्।
२५ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट कार्यसमिति सदस्यमा निर्वाचित भएका ईश्वर जिसीले खेल क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने आफ्नो स्पष्ट लक्ष्य रहेको बताएका छन् ।
उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएट कार्यसमिति सदस्यतर्फ विजयी भएका जिसी पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत खेल क्षेत्रमा पनि जोडिएका छन् ।
एनपीएलमा लुम्बिनी लायन्सका अध्यक्ष समेत रहेका उनले खेलकुद क्षेत्रमा पनि आफ्नो योगदान दिँदै आएका छन् । लुम्बिनी लायन्सले दोस्रो संस्करणको एनपीएलको उपाधि जितेको थियो ।
‘स्वास्थ्य पर्यटन, खेल तथा उत्पादनमूलक कम्पनीहरूको नेतृत्व गर्दै आएको अनुभवका आधारमा मनोरञ्जन र खेल क्षेत्रको महत्व कति ठूलो हुन्छ भन्ने कुरा मैले नजिकबाट बुझेको छु’ जिसीले भने ।
उनले खेल क्षेत्र मनोरञ्जनको लागि मात्र नभई यसले पर्यटन प्रवर्दनमा सहयोग गर्ने देखि अन्तर्राष्ट्रिय सम्बन्धमा समेत सहयोग पुग्ने बताए । ‘खेल क्षेत्रले केवल मनोरञ्जन मात्र होइन, सम्पूर्ण व्यवसायिक चक्रलाई एकीकृत गर्दै बलियो इकोसिस्टम निर्माण गर्न सक्छ’ जिसीले भने ‘यसले पर्यटन, रोजगारी, उत्पादन, सेवा तथा अन्तर्राष्ट्रिय सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्दै देशलाई विश्वस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’
जिसीले उद्योग वाणिज्य महासंघमा एसोसिएट कार्यसमिति सदस्य निर्वाचित भएपछि अब आफूले खेल क्षेत्रलाई व्यवस्थित गर्न र दिगो उद्योगको रुपमा स्थापित गर्न पहल गर्ने बताए । ‘खेल क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र दीगो उद्योगको रूपमा स्थापित गर्नु नै मेरो एक नवीन र प्राथमिक एजेन्डा रहनेछ’ उनले भने ।
प्रतिक्रिया 4