News Summary
Generated by OK AI. Editorially reviewed.- जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण सार्वजनिक गरेको छ।
- विभागका मौसमविद् सुदर्शन हुमागाईंले एल निनो र आईओडीको अवस्थालाई आधार मानेर मनसुनको वर्षा र तापक्रमको अनुमान गरेको बताए।
- प्रक्षेपण अनुसार १८ जेठदेखि १४ असोजसम्म अधिकांश भूभागमा वर्षा कम र तापक्रम बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको छ।
२५ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।
विभागका अनुसार नेपालको कुनै–कुनै भागमा सरदरसम्म वर्षा हुने अनुमान गरिए पनि धेरैजसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने अनुमान गरिएको हो ।
यो अनुमानको आधार के हो ? विभागको जलवायु विश्लेषण शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार यो प्रक्षेपण विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपहरूको आकलन र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ)को आकलनलाई आधार मानेर गरिएको हो ।
मालदिभ्सको मालेमा बसेको सास्कोफको बैठकमा नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंका गरी नौ देशका मौसमविद्हरू सहभागी थिए ।
साथै नेपालको मनसुन ऋतुको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो र एन्सो तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डाइपल (आईओडी)को हालको अवस्थाको विश्लेषणलाई पनि आधार मानिएको छ ।
विभागका अनुसार हाल हिन्द महासागरमा एन्सो तटस्थ हुने अवस्थामा रही एल–निनो अवस्थातर्फ उन्मुख छ । प्रशान्त महासागरको तापक्रम औसतभन्दा बढी हुने अवस्थालाई ‘एल निनो’ भनिन्छ । यसले दक्षिण एसियाली मनसुनलाई कमजोर बनाउँछ ।
यसैगरी आईओडी हाल तटस्थ अवस्थामा छ । आगामी मनसुन ऋतुको अन्त्यसम्ममा भने आईओडी धनात्मक हुने आकलन छ ।
जलवायु अध्येतासमेत रहेका विपदविज्ञ डा. धर्मराज उप्रेती जुन महिनाको मध्यसम्म ठिकै पानी परे पनि जुनको अन्त्यतिरबाट सुक्खा हुँदै जाने र सेप्टेम्बरको अन्त्यतिर पुन: सक्रिय हुनसक्ने बताउँछन् ।
‘आईओडी तटस्थ अवस्थामा छ र प्रशान्त महासागरमा एल निनो मात्र नभएर सुपर एलनिनोको अवस्था छ । सुपर एलनिनो हुने बित्तिकै सुक्खा हुन्छ’, डा. उप्रेती भन्छन्, ‘जुन महिनाको मध्यसम्म ठिकै पानी परे पनि जुनको अन्त्यतिरबाट सुक्खा हुँदै गएर नेपालमा एकदम धेरै वर्षा हुने जुलाईको समयमा कम पानी पर्ने सम्भावना छ ।’
‘त्यसपछि सेप्टेम्बरको अन्त्यतिर आईओडी पोजेटिभ हुने सम्भावना छ । यदि त्यसो भयो भने दशैं–तिहारको बेलातिर फेरि मनसुन सक्रिय हुने अनुमान गर्न सकिन्छ,’ उनले भने ।
गत वर्ष २०८२ सालमा विभागले देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने र मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको जनाएको थियो । धेरैजसो केन्द्रहरूमा सरदरभन्दा कमदेखि सरदर वर्षा र केही केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन गरिएको थियो । अधिकतम र न्यूनतम तापक्रम पूर्वानुमान गरेजस्तै अधिकांश स्थानमा सरदरभन्दा बढी मापन भएको विभागले जनाएको छ ।
गत वर्ष मनसुन बाहिरिने बेला अक्टुबर ३–५ मा पूर्वी नेपालमा ठूलो पानी पर्दा जनधनको क्षति भएको थियो ।
सामान्यतया सरदर वर्षा र सरदर तापक्रम भन्नाले कुनै स्थानको लामो समय (सन् १९९१ देखि सन् २०२०सम्म) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा वा तापक्रमलाई जनाउँछ । सरदरभन्दा कम र बढी वर्षा वा तापक्रम भन्नाले क्रमश: ३३.३ प्रतिशत भन्दा कम र ६६.६ प्रतिशत भन्दा बढी वर्षा वा तापक्रमलाई बुझिने मौसमविद् सुजन सुवेदीले जानकारी दिए ।

यस वर्षको आकलन कस्तो छ ?
जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईंका अनुसार यस वर्षको मनसुन अवधिमा कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदर भन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।
देशका बाँकी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको मौसमविद् हुमागाईंले जानकारी दिए ।
यो प्रक्षेपण आगामी १८ जेठदेखि १४ असोजसम्म अवधिको हो ।

मनसुन अवधिमा गर्मी बढ्ने
यही अवधिमा अधिकतम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म छ ।
मौसमविद हुमागाईंका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तर–पूर्वी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तर–पूर्वी तथा दक्षिणी भूभाग, बागमती प्रदेशका पश्चिमी भूभाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ ।
यसैगरी कोशी प्रदेशका मध्य भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको अनुमान छ ।
न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना स्थान विशेष अनुसार फरक-फरक छ ।
प्रतिक्रिया 4