News Summary
Generated by OK AI. Editorially reviewed.- गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म 'मालती मंगले' शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ।
- ढकालले भने, 'मनोरञ्जनसँगै केही सन्देश पनि लिएर आएका छौं' र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताए।
- फिल्मले गाउँघरको जीवन र प्रेमकथा समेटेको छ र ढकालले भविष्यमा पनि राम्रो कथावस्तु लिएर फिल्म बनाउने योजना रहेको बताए।
काठमाडौं । गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । ग्रामीण परिवेश र नेपाली समाजको कथामा आधारित यो फिल्मले प्रदर्शनको सुरुआती दिनदेखि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ ।
फिल्म प्रदर्शनको सन्दर्भमा अनलाइनखबरसँग कुरा गर्दै ढकालले आफू फिल्मको शीर्षक सुन्नासाथ आकर्षित भएको बताए । उनका अनुसार फिल्ममा प्रेमकथा, जीवनका उतारचढाव, गाउँघरको परिवेश र सन्देशमूलक पक्ष समेटिएको छ । “मनोरञ्जनसँगै केही सन्देश पनि लिएर आएका छौं,” उनले भने ।
ढकालले प्रिमियरमा दर्शकबाट पृथक कथावस्तु रहेको प्रतिक्रिया पाएको बताए । “दर्शकको रेस्पोन्सले खुसी मिलेको छ । कथावस्तु र कलाकारको अभिनयबारे राम्रो प्रतिक्रिया आयो,” उनले भने, “म्युजिकल हिसाबले पनि दर्शकले रुचाउनुभएको छ ।”
अहिलेको फिल्मी वातावरण पहिलेभन्दा धेरै चुनौतीपूर्ण बनेको उनको अनुभव छ । अनलाइन माध्यममा सहजै सामग्री हेर्न पाइने भएकाले दर्शकलाई हलसम्म ल्याउन कठिन भएको उनले बताए । “फिल्म बनाउनभन्दा चलाउन धेरै गाह्रो हुन्छ,” ढकालले भने, “प्रचारप्रसारमा निकै दौडधुप गर्नुपर्छ । अहिलेको समय चुनौतीपूर्ण छ ।”
सांगीतिक यात्राको अनुभवले फिल्म निर्माणमा सहयोग पुगेको पनि उनले बताए । करिब २३ वर्षअघि आफूले आशीर्वाद फिल्ममा अभिनेताका रूपमा काम गरेको स्मरण गर्दै उनले त्यसबेला सुटिङदेखि रेकर्डिङसम्मको अनुभव लिएको बताए । “त्यही अनुभवलाई लिएर ‘मालती मंगले’सम्म आइपुगेको हुँ,” उनले भने ।
ढकालका अनुसार यो फिल्म नेपाली माटो र गाउँघरको जीवनसँग जोडिएको कथा भएकाले विशेष छ । “पहिला धेरै कथा भारतीय फिल्मबाट प्रभावित हुन्थे । अहिले आफ्नै गाउँघर र समाजका कथा आउन थालेका छन्,” उनले भने, “टेक्नोलोजी आधुनिक भए पनि कथामा नेपालीपन हुनु खुसीको कुरा हो ।”
उनले पछिल्लो समय नेपाली फिल्मप्रति युवापुस्ताको आकर्षण बढेको पनि बताए । “पहिला धेरैले हिन्दी फिल्म हेर्थे । अहिले नेपाली फिल्मलाई समर्थन गर्ने क्रम बढेको छ,” उनले भने ।
फिल्मको शीर्षक राष्ट्रकवि माधव घिमिरेको चर्चित गीतिकथासँग मिल्ने भए पनि कथा भने फरक रहेको ढकालले स्पष्ट पारे । “यो गाउँका मालती र मंगलेको कथा हो । मायाप्रीति, संघर्ष र समाजको परिवेश समेटिएको छ,” उनले भने, “राष्ट्रकविज्यूको शीर्षक भएकाले त्यसको गरिमा कायम राख्ने प्रयास गरेका छौं ।”
फिल्मका कलाकार विजय, वर्षा र मेक्सम गौडेलको अभिनयप्रति पनि उनी आशावादी देखिए । विशेषगरी मेक्सम गौडेलले भविष्यमा नेपाली फिल्म क्षेत्रमा राम्रो सम्भावना बोकेको उनले बताए ।
भविष्यमा पनि राम्रो कथावस्तु भएका फिल्म निर्माणलाई निरन्तरता दिने सोच रहेको ढकालले बताए । “म अचानक यो क्षेत्रमा आएको होइन,” उनले भने, “अब पनि राम्रो स्टोरी र सब्जेक्ट लिएर अघि बढ्ने सोच छ ।”
अभिनयमा पुनः फर्किने सम्भावनाबारे बोल्दै उनले आफूलाई सुहाउने कथा आए अभिनय गर्न सक्ने संकेत गरे । यद्यपि छोरी रानीलाई भने तत्काल फिल्म क्षेत्रमा ल्याउने योजना नरहेको उनले बताए । “उनी अहिले मेडिकल पढिरहेकी छिन् । सानैदेखि गाउने क्षमता छ,” उनले भने, “भविष्यमा उनको रुचि के हुन्छ, त्यसैअनुसार अघि बढ्छिन् ।”

प्रतिक्रिया 4