+
+
Shares

भिक्ट्री डे परेडमा पुटिनले भने- युक्रेनसँग न्यायसंगत युद्ध लड्दैछौं

समारोहअघि रुस र युक्रेन तीन दिने युद्धविराममा सहमत भएको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १८:३३

२६ वैशाख, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग न्यायसंगत युद्ध लडिरहेको टिप्पणी गरेका छन् । मस्कोको रेड स्क्वायरमा रुसको वार्षिक भिक्ट्री–डे(विजय दिवस) परेडमा सम्बोधन गर्दै पुटिनले युक्रेनसँगको युद्ध औचित्यपूर्ण रहेको बताउँदै त्यो न्यायसंगत पनि भएको दाबी गरेका हुन् ।

रुसका लागि भिक्ट्री डे परेड सबैभन्दा ठूलो राष्ट्रिय उत्सव हो । एडल्फ हिटलर नेतृत्वको नाजी जर्मनीमाथि सोभियत संघले हासिल गरेको जितको सम्झनामा रुसले यो दिवस मनाउने गर्छ ।

सो सम्बोधनमा पुटिनले युरोपेली समुदाय र नाटोको चर्को आलोचना पनि गरे । सो क्रममा उनले युक्रेनलाई नाटो देशहरूले हतियार र समर्थन दिइरहेको भन्दै उनीहरूको समर्थनप्राप्त युक्रेन आक्रामक शक्ति भएको दाबी पनि गरे ।

पुटिनले आक्रामक भाषण दिएपनि रुसमा यसपटक विगतको तुलनामा शान्त ढंगले विजय दिवस मनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

समारोहअघि रुस र युक्रेन तीन दिने युद्धविराममा सहमत भएको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए ।

करिब दुई दशकयता पहिलोपटक मस्कोको विजय दिवस परेडमा कुनै सैन्य हतियार वा भारी सैन्य उपकरण समावेश नगरिएको समाचारमा आएको छ ।

यद्यपि, कडा सुरक्षा व्यवस्थाका बीच ठूलो संख्यामा सैनिकहरूले रेड स्क्वायरमा मार्च गरेको समाचार छन् ।

उक्त समारोहलाई सम्बोधन गर्दै पुटिनले आफ्नो भाषण दोस्रो विश्वयुद्धका क्रममा सोभियत सैनिकहरूले दिएको बलिदानको स्मरणबाट सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?