+
+
Shares

मुग्लिन सडक विस्तार ठप्प हुनु चिन्ताजनक, सरकारको ध्यान पुगोस् : कुलमान घिसिङ

सडक विस्तारमा ढिलाइ हुँदा दुर्घटनाको जोखिम, लामो जाम, आर्थिक क्षति र जनसाधारणको दु:ख झन् बढ्ने निश्चित बनेको उनले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १९:२५

२६ वैशाख, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उपत्यकालाई जोड्ने मुगलिन सडक विस्तार रोकिनु अत्यन्त चिन्ताजनक विषय भन्दै दु:ख व्यक्त गरेका छन् । यसबारे शनिबार फेसबुकमार्फत अध्यक्ष घिसिङले सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘काठमाडौं उपत्यकालाई देशसँग जोड्ने मुख्य जीवनरेखा नागढुङ्गा–नौबिसे–मुग्लिन सडक विस्तार कार्य हाल लगभग ठप्प अवस्थामा पुगेको देखिनु अत्यन्त चिन्ताजनक विषय हो,’ उनले भनेका छन् । उनले आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा आवश्यक पहल र समन्वयका कारण उक्त सडकको निर्माण कार्यले तीव्रता लिएको दाबी गरेका छन् ।

‘तर अहिले निर्माण सामग्री अभाव, मूल्यवृद्धि लगायतका कारण देखाउँदै काम रोकिँदा हजारौं यात्रु जोखिमपूर्ण र कष्टकर यात्रा गर्न बाध्य भएका छन्। विशेषगरी वर्षायाम नजिकिँदै गएको अवस्थामा यो सडकको काम रोकिरहनु थप गम्भीर विषय बनेको छ,’ उनले भनेका छन् ।

यो सडकबाट दैनिक करिब १५ हजार सवारी साधन आवतजावत गर्ने उल्लेख गर्दै सडक विस्तारमा ढिलाइ हुँदा दुर्घटनाको जोखिम, लामो जाम, आर्थिक क्षति र जनसाधारणको दु:ख झन् बढ्ने निश्चित बनेको उनले बताएका छन् ।

‘यो केवल सडक निर्माणको विषय होइन, राजधानीको आपूर्ति, अर्थतन्त्र र नागरिकको दैनिक जीवनसँग जोडिएको संवेदनशील सवाल हो,’ अध्यक्ष घिसिङले अगाडि भनेका छन्, ‘त्यसैले निर्माण कार्य तत्काल सुचारू गरी प्रभावकारी ढंगले अघि बढाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’ निर्माण व्यवसायीको जायज मागलाई सम्बोधन गराउनसमेत उनले सरकारसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?