News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका र इरानबीच तनाव कम गर्न अर्को साता इस्लामावादमा वार्ता सुरु हुन सक्छ, जसले औपचारिक वार्ताको बाटो खोल्न सक्छ।
- इरानले आफ्नो परमाणु कार्यक्रम र उच्च प्रशोधित युरेनियमको विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।
- चीनको अप्रिलमा कच्चा तेल आयात २० प्रतिशतले घटेको छ, जसले होर्मुज जलसन्धिमा तनावको असर देखाउँछ।
२६ वैशाख, काठमाडौं । अमेरिका र इरानबीचको तनाव कम गर्ने विषयलाई लिएर अर्को साता पाकिस्तानको राजधानी इस्लामावादमा फेरि वार्ता सुरु हुन सक्छ।
वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार दुवै देश मध्यस्थकर्ताहरूमार्फत एउटा सम्झौताको मस्यौदामा काम गरिरहेका छन्, जसले एक महिनासम्म चल्ने औपचारिक वार्ताको बाटो खोल्न सक्छ।
रिपोर्टमा बताइएअनुसार अमेरिकाको तर्फबाट प्रस्तावित १४ बुँदे मस्यौदामा इरानको परमाणु कार्यक्रम, होर्मुज स्ट्रेटमा तनाव कम गर्ने र इरानको प्रशोधित (एनरिच्ड) युरेनियम भण्डारलाई कुनै तेस्रो देशमा पठाउने जस्ता मुद्दाहरू समावेश छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तर्फबाट छिट्टै जवाफ आउने आफूले आश गरेको बताएका छन्। उनका अनुसार, यदि वार्ता अघि बढेमा युद्धविरामलाई अझ लम्ब्याउन सकिनेछ।
अलजजिराको रिपोर्टअनुसार, इरानले आफ्नो परमाणु कार्यक्रम वा उच्च प्रशोधित युरेनियमको विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।
पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच ११ र १२ अप्रिलमा इस्लामावादमा पहिलो चरणको वार्ता भएको थियो। २१ घण्टासम्म चले पनि यो वार्ता असफल भएको थियो।
दोस्रो चरणको वार्ताका लागि इरानका विदेशमन्त्री अब्बास अराघची २४ अप्रिलमा इस्लामावाद पुगेका थिए। तर राष्ट्रपति ट्रम्पले आफ्ना दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नरको पाकिस्तान भ्रमण रद्द गरिदिएका थिए।

पुरानै अवस्थामा फर्कन चाहँदैन इरान
दोहा इन्स्टिच्युट फर ग्रयाजुएट स्टडिजका अन्तर्राष्ट्रिय राजनीतिक विज्ञ मुहन्नद सेलुमले इरान अब अमेरिकासँग पुरानै अवस्थामा मात्र फर्कन तयार नरहेको बताएका छन्। तेहरान कुनै पनि सम्झौताअघि अमेरिकाबाट केही अतिरिक्त सहुलियतहरू चाहन्छ।
अलजजिरासँगको कुराकानीमा सेलुमले अमेरिका पहिले कूटनीतिको बाटोमा रहेको, त्यसपछि युद्धतर्फ गएको र अब फेरि वार्ताको प्रयास गरिरहेको बताए।
उनले भने, ‘अमेरिका अब आफूले केही सैन्य सफलता प्राप्त गरेको र यसलाई कूटनीतिक सफलतामा बदल्न चाहेको बताइरहेको छ, तर इरानले यसको विरोध गरिरहेको छ।’
सेलुमका अनुसार, युद्धको सुरुवात अमेरिकाले गरेको भए तापनि वासिङ्टनसँग अझै पनि सैन्य शक्ति, दबाब सिर्जना गर्ने क्षमता र कूटनीति- यी तीनवटै कुराको सन्तुलन कायम छ।
उनका अनुसार, अर्कोतर्फ इरानसँग धेरै विकल्पहरू बाँकी छैनन्। यद्यपि होर्मुजमाथिको नियन्त्रण अझै पनि उसको सबैभन्दा ठूलो तागत हो।

सेलुमले भने, ‘फेब्रुअरीमा युद्ध सुरु हुनुअघिको तुलनामा इरान अब निकै कमजोर भइसकेको छ। युद्धमा बाँच्नु र युद्ध जित्नु दुवै फरक कुरा हुन्।’
उनले इरान हाल कूटनीतिक बाटो चाहिरहेको तर कुनै नयाँ फाइदाविना पुरानै अवस्थामा फर्कन तयार नभएको पनि बताए।
चीनलाई असर र भूमिका के ?
अमेरिका र इजरायलले इरानविरुद्ध गरेको युद्धको असर चीनको आर्थिक र रणनीतिक हितहरूमा पनि परेको छ। दोहा इन्स्टिच्युट फर ग्रयाजुएट स्टडिजका अन्तर्राष्ट्रिय राजनीतिका सहायक प्राध्यापक मुहन्नद सेलुमले अलजजिरासँगको कुराकानीमा चीनले युद्धमा सीधै इरानलाई सैन्य समर्थन नगरेको तर्क गरे । उनका अनुसार, यसो गर्दा यसको गम्भीर र महँगो परिणाम हुन सक्ने उनको बुझाइ छ ।
यद्यपि, उनले चीनले इरानलाई पूर्ण रूपमा एक्लै पनि छोड्न नसक्ने बताए । यदि त्यसो हुन्थ्यो भने, विश्वमा यो सन्देश जान्थ्यो कि अन्तर्राष्ट्रिय व्यवस्थामा अमेरिका मात्र प्रभावकारी शक्ति हो।
सेलुमका अनुसार, चीनले यसअघि नै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा आफ्नो भिटो अधिकारको प्रयोग गरिसकेको छ। होर्मुजको मुद्दामा इरानमाथि दबाब बनाउने प्रयास गरिएका प्रस्तावहरूका क्रममा यस्तो भएको थियो।
उनले भने, ‘हाल चीनको तर्फबाट इरानलाई सीधै सैन्य मद्दत दिइने सम्भावना देखिँदैन। तर अमेरिकी प्रतिबन्ध झेलिरहेका केही चिनियाँ कम्पनीहरूले इरानलाई प्राविधिक सहायता दिएको हुन सक्ने सम्भावना भने छ।’
पछि हट्नुपर्ने हुनसक्छ अमेरिकालाई
इरान युद्धमा अमेरिका पछि हट्नुपर्ने अवस्था आउन सक्छ। यो दाबी नीतिविज्ञ सिबिल फारेस र अर्थशास्त्री जेफ्री स्याक्सले गरेका हुन्।
उनीहरूका अनुसार अमेरिकाले यो युद्ध लामो समयसम्म जारी राख्न सक्दैन, किनभने यसबाट सिङ्गो क्षेत्रको तेल, ग्यास र समुद्री जल शुद्धीकरणलाई भारी नोक्सान पुग्न सक्छ। यसको असर विश्वभरिकै अर्थतन्त्रमा पर्न सक्छ।
रिपोर्टका अनुसार, अमेरिका र इजरायलको सुरुवाती योजना इरानको सैन्य र राजनीतिक नेतृत्व क्षमतालाई कमजोर बनाउने थियो। ठूला हवाई हमलाहरूपछि इरानी सरकार टुट्नेछ र तेहरानमा अमेरिका समर्थक सरकार बनाउन सकिनेछ भन्ने मानिएको थियो।
ट्रम्पलाई भेनेजुएलामा जस्तै स्थिति इरानमा पनि बन्नेछ भन्ने आश थियो। त्यहाँ जनवरी २०२६ मा राष्ट्रपति निकोलस मादुरोलाई हटाएपछि अमेरिकाले सहयोगी सरकार पाएको थियो।
चीनलाई तेल बेच्ने कोसिस गर्दै इरान
इरानले अमेरिकाको प्रतिबन्धका बीच चीनलाई तेल बेच्ने आफ्नो प्रयासलाई तीव्र पारिरहेको छ। तेहरानस्थित थिंक ट्याङ्क ‘डिप्लोहाउस’ का निर्देशक हमिद रजा गोलामजादेहले इरानका विदेशमन्त्री अब्बास अराघचीले धेरै देशका विदेशमन्त्रीहरूसँग कुराकानी गरेर इरानको पक्ष राखेको बताए।
रिपोर्टका अनुसार, अराघची अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावित चीन भ्रमणभन्दा एक साताअघि बेइजिङ पुगेका थिए।
गोलामजादेहका अनुसार, अराघची चीनको सहयोग चाहन्छन्। उनले अमेरिकाको तर्फबाट आयात र समुद्री मार्गहरूमा लगाइएका प्रतिबन्धहरूका बीच इरानले चीनसँग तेल बिक्रीलाई लिएर तालमेल गरिरहेको बताए।
चीनको तेल आयात २० प्रतिशतले घट्यो
इरान युद्धको असर अब चीनको ऊर्जा आपूर्तिमा पनि देखिन थालेको छ। अप्रिलमा चीनको कच्चा तेलको आयात २० प्रतिशतले घटेको छ। होर्मुज जलसन्धिमा तनाव बढेका कारण तेल ट्याङ्करहरूको आवागमन प्रभावित भएको छ।
चीनको भन्सार तथ्याङ्क (कस्टम डेटा) अनुसार अप्रिलमा देशले ३ करोड ८५ लाख मेट्रिक टन कच्चा तेल आयात गरेको छ। यो गत वर्षको तुलनामा २०% ले कम हो। यो स्तर जुलाई २०२२ पछिको सबैभन्दा कम भएको बताइएको छ। चीनले आफ्नो आवश्यकताको करिब आधा कच्चा तेल मध्यपूर्वबाट खरिद गर्दछ।

रिपोर्टका अनुसार होर्मुज जलसन्धिमा सङ्कट र समुद्री मार्गहरूमा तनाव बढेका कारण तेल र प्रशोधित उत्पादनहरू बोक्ने जहाजहरूको सङ्ख्या घटेको छ।
सिप ट्र्याकिङ कम्पनी क्ले-प्लरको तथ्याङ्कअनुसार समुद्री मार्गबाट चीनको कच्चा तेलको आयात घटेर दैनिक ८० लाख ३० हजार ब्यारेलमा झरेको छ। यो पनि जुलाई २०२२ पछिको सबैभन्दा कम स्तर हो।
अप्रिलमा चीनको प्राकृतिक ग्यास आयात पनि १३ प्रतिशतले घटेर ८४ लाख २० हजार टनमा सीमित भएको छ।
यद्यपि वर्षको पहिलो चार महिनालाई हेर्ने हो भने चीनको कुल तेल आयात अझै पनि गत वर्षको तुलनामा १.३ प्रतिशतले बढी छ। जनवरीदेखि अप्रिलको बीचमा चीनले १८ करोड ५३ लाख टन कच्चा तेल आयात गरेको छ। (एजेन्सी र अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूको सहयोगमा)
प्रतिक्रिया 4