+
+
Shares

फिनल्याण्डमा रहेकी निमीले सडकमा जब ‘माया’ पस्किइन्

यदि स्थानीय सरकारले दीर्घकालीन व्यवस्थापनको योजना ल्याउने हो भने नागरिक स्तरबाट सहयोग गर्ने हातहरू धेरै हुने उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिनल्याण्डमा रहेका निमी शेर्पाले आफ्नो जन्मदिनमा इलामका सडक कुकुरहरूलाई खाना खुवाउने प्रस्ताव गरेकी थिइन्।
  • इलाम ग्रीनका स्वयंसेवकहरूले ११२ वटा सडक कुकुरलाई खाना खुवाए र तीन कुकुरलाई निःशुल्क उपचार गराए।
  • राजेश पराजुलीले स्थानीय सरकारले सडक कुकुर व्यवस्थापनका लागि वार्षिक बजेट छुट्याउनुपर्ने माग राखेका छन्।

इलामको ओसिलो सडकमा रात कटाउने ती निर्दोष प्राणीहरूलाई थाहा थिएन, सात समुद्रपारि फिनल्याण्डमा कसैको मन उनीहरूकै लागि रोइरहेको छ । करिब ४ हजार माइलको दूरी, न बाटो एउटै, न मौसम । तर, भूगोलले छुट्याए पनि एउटा संवेदनाले इलाम र फिनल्याण्डलाई अघिल्लो साता एकै ठाउँमा जोडिदियो ।

इलामबाट सञ्चालित चर्चित फेसबुक पेज ‘इलाम ग्रीन’का सञ्चालक राजेश पराजुलीको मोबाइलमा वैशाख २१ गते साँझ एउटा विदेशी नम्बरबाट फोन आयो । फोन गर्ने व्यक्ति थिइन्– माईजोगमाई गाउँपालिका–१, नयाँबजार शंखबुङकी निमी शेर्पा, जो हाल वैदेशिक रोजगारीका क्रममा फिनल्याण्डमा छिन् ।

औपचारिक अभिवादनसँगै निमीले भावुक हुँदै भनिन्, ‘सर, इलाममा सडक कुकुरहरूको अवस्था देख्दा मनै थामिएन । आफ्नो जन्मदिनमा मान्छेलाई त सधैं खुवाइन्छ, यसपालि ती बोलि नभएका प्राणीहरूलाई सम्झौँ कि ?’

स्वयंसेवकहरु खाना प्याकिङ गर्दै ।

मानवीय सेवामा समर्पित पराजुलीका लागि यो प्रस्ताव नितान्त नौलो र मर्मस्पर्शी थियो । वृद्धश्रम, अनाथालय, बौद्धिक अपांगता केन्द्र र अस्पतालहरूमा इलाम ग्रीनमार्फत उनले सेवा गर्दै आएका थिए । तर अपहेलित ‍अवस्थामा रहेका कुकुरहरूलाई सहयोग गरी कसैले जन्मोत्सव मनाउन चाहेको यो पहिलो घटना थियो ।

निमीको इच्छालाई मूर्त रूप दिन पराजुलीले ‘इलाम ग्रीन’मार्फत स्वयंसेवकको आह्वान गरे । हेर्दाहेर्दै ७ जना तन्नेरीहरू यो अभियानमा होमिन तयार भए । दक्षिण कोरियामा हाल कार्यरत कन्यामका एक युवाले नाम सार्वजनिक नगर्ने शर्तमा स्वयंसेवकको खाजा र यातायातका लागि ६ हजार नगद नै पठाए ।

शनिबारको झिसमिसे । जब इलाम बजार बिस्तारै ब्यूँझिदै थियो, ‘इलाम ग्रीन’को स्वयंसेवक टोली मासु, भात पकाउन चियावारीको एक कुनामा व्यस्त थियो । दिन उज्यालिएपछि स्वयंसेवक टोलीले फुड डेलिभरी भ्यान भाडामा लिएर खाना बोकी सडकमा निस्कियो ।

मालापथदेखि टुँडिखेल हुँदै फूलगाँछीसम्म, तिल्केनी, जिरो किमीदेखि धोविधारा, मालपोत हुदै पिपलबोटे र चियाबारीदेखि पुगेर यो टोलीले कुकुरहरूलाई खानेकुरा दियो ।

घनघोर वर्षा भइरहँदा पनि स्वयंसेवकहरूले सक्रियतापूर्वक काम जारी राखे । ११२ वटा कुकुरलाई खाना खुवाएको अभियानका स्वयंसेवक सुरज कन्दङ्वाले जानकारी दिए । ‘धेरै ठाउँबाट मानिसहरूले फोन गरेर हाम्रो टोलमा पनि भोका कुकुर छन्, आइदिनुस् भन्दै बोलाउनुभयो’ कन्दङ्वाले भने ।

खाना मात्र होइन, ती बेसहाराको उपचारका लागि समेत स्वयंसेवकहरुले हात अघि बढाए । सडकमा घाइते र बिरामी अवस्थामा भेटिएका तीनवटा कुकुरलाई मालापथ स्थित ‘शुभलाभ भेट्स फर्मा’ले निःशुल्क उपचार गरिदियो । कसैले गाँस दिए, कसैले उपचारको कपास ।

राज्यलाई प्रश्नः एक दिनको गाँस कि दीर्घकालीन बास ?

इलाम ग्रीनका कार्यकारी निर्देशक राजेश पराजुली यो अभियानलाई एउटा सांकेतिक सुरुवात मात्र मान्छन् । ‘कुकुरलाई एक दिन खुवाएर मात्र समस्या समाधान हुँदैन’ उनी भन्छन्, ‘यो त एउटा सन्देश मात्र हो, यिनीहरूको पनि बाँच्ने अधिकार छ ।’

यदि स्थानीय सरकारले दीर्घकालीन व्यवस्थापनको योजना ल्याउने हो भने नागरिक स्तरबाट सहयोग गर्ने हातहरू धेरै हुने उनले बताए । इलामका १० वटै पालिकाले सडक कुकुर व्यवस्थापनका लागि वार्षिक बजेट छुट्याउनुपर्ने माग पराजुलीले राखे ।

यसरी कुकुरलाई खाना खुवाएर जन्मदिन मनाउने तरिकाको प्रशंसा भएको छ । सामाजिक सञ्जालमार्फत धेरैले प्रशंसा व्यक्त गरेका छन् ।

पदम लिम्बु लेखेका छन्, ‘घरको होस् या सडकको, प्राणीको बाँच्ने अधिकार बराबर छ । जन्मदिनलाई सेवामा बदल्ने तपाईँको यो कर्म नै वास्तविक शुभकर्म हो ।’

त्यस्तै, इशा क्षेत्री चापागाईँ लेख्छिन्, ‘तपाईँहरूको यो पहलले समाजमा अझै मानवता जिउँदो छ भन्ने आभास गराएको छ । यस्ता आश्रित जीवलाई माया गर्न अरूले पनि सिकुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?