News Summary
Generated by OK AI. Editorially reviewed.- मण्डला थिएटरमा मञ्चन भइरहेको \'ग्रान्ड रिहर्सल\' नाटकले जीवनमा सन्तुलन र असन्तुलनको लुप देखाउँछ।
मान्छे सधैं जीवनमा सन्तुलन मिलाउन खोजिरहेको हुन्छ, ताकि ऊ कुनैपनि उद्देश्यमा सहज तरिकाले पुग्न सकोस् । तर, परिस्थिति कहाँ त्यति सजिलो हुन्छ र !
मान्छे अनेकन् समस्यामा पर्दै जान्छ । नतिजामा मान्छे कहिल्यै सन्तुलित हुन सक्दैन । कहिले सन्तुलन हुनहुन लाग्दा केही बिग्रन्छ त कहिले सन्तुलन भइसकेपछि । तर, मान्छे हार खाँदैन । सकेसम्म समाधानका उपायहरू लगाएर फेरि सन्तुलनमा फर्कंन सक्छ ।
दु:खद् सत्य यो हो कि कुनै बिन्दुमा फेरि यही कुरा ‘लुप’मा चल्छ ।
मान्छेले भोग गर्नु पर्ने यही प्रवृत्ति मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक – ग्रान्ड रिहर्सल – मा भेटिन्छ । सन्तुलन, असन्तुलन । समास, विग्रह । यही कुराको लुप हो, यो नाटक ।
कताकता यो नाटकले रसियन चित्रकार काजिमिर मालेभिचका अमूर्त चित्रहरू पनि सम्झाउँछ । उनका चित्रहरू बढो अनौठोका हुन्थे । पातला, बाक्ला, मोटा, लामा, छोटा ज्यामितीय रेखा र वस्तुहरू अत्याधिक प्रयोग हुने उनका चित्रहरू पूर्ण लाग्दैनथे ।
आफैंमा अपूर्णता बोकेको उनका चित्रहरू हुन चाहिँ पूर्ण हुन्थे । उनका चित्रहरूले कुनै कथा, वस्तु वा वास्तविक संसारको प्रतिनिधित्व नगरे पनि ती भावनाले भरिएका हुन्थे ।

ठीक त्यसैगरी ग्रान्ड रिहर्सल पनि लामो समय पूर्ण लाग्दैन । तर, दर्शकले त्यसमा पूर्णता भेट्छन् । नाटकमा संलग्न पात्रहरू मालेभिचका चित्रका ज्यामितीय वस्तु र क्यानभासका खाली भाग नाटकको कथाझैं लाग्छ ।
यो नाटकले रंगमञ्चमा केही हदसम्म मालेभिचको सुपरम्याटिजमको काम गरेको छ । मालेभिचले चित्रबाट वस्तु, आकृति र यथार्थलाई पूर्णरूपमा हटाएर ‘ब्ल्याक स्वायर’मा पुर्याइदिएका थिए । वस्तु नभएर शुद्ध भावना महत्वपूर्ण हुने उनको जोड थियो ।

ग्रान्ड रिहर्सलले पनि परम्परागत नाटकको पूर्णता, कथा र संरचनालाई तोडिदिन्छ । रिप्रेजेन्टेसनल थिएटरलाई भत्काएर अव्यवस्था, शारीरिक हाउभाउ र ऊर्जालाई यो नाटकले सर्वोच्चता दिन्छ । जसरी मालेभिचको ‘ह्वाइट अन ह्वाइट’ चित्रले दर्शकलाई शून्यताको अनुभूति दिन्छ, त्यसैगरी यो नाटकले सबै बिग्रिँदा मात्र जीवन्तता दिएको छ ।

नाटक डिस्कन्स्ट्रक्सन हो । परम्परालाई तोड्ने, तर तोड्दै गर्दा नयाँ आनन्द निर्माण गर्ने । मालेभिचले चित्रकलालाई ‘जिरो डिग्री’मा पुर्याए जस्तै यो नाटकले थिएटरलाई ‘जिरो कन्ट्रोल’मा पुर्याएर दर्शकलाई मुक्त अनुभूति दिन्छ । अस्तित्ववाद र एब्सर्ड थिएटरको झल्को दिन्छ ।
नाटकबारे थोरै कुरा गर्दा यो बेलायती नाटक ‘द प्ले ड्याट गोज रङ’को नेपाली रूपान्तरण हो । रूपान्तरणका क्रममा ओरिजिनल नाटकको मर्म मारिएको छैन ।
अनुवाद गरेका अनुप न्यौपाने र उमेश तामाङले नेपाली संस्करणको नाटकमा स्थानीय स्वाद दिएका छन् । हेर्दा लाग्दैन– यो विदेशी नाटक हो ।
नाटकले भन्ने कथा चाहिँ ‘नाटक भित्रको नाटक’ हो । अर्थात् नाटकमा हामीले एउटा अपरिपक्क टोलीले थियएटरमा नाटक मञ्चनका लागि गरेको तयारी देख्न सक्छौं । उनीहरूले ‘बिहेको टुटुल्को’ नामक सस्पेन्स थ्रिलर नाटकको रिहर्सल गरी मञ्चन पनि गर्छन् ।
तर, मञ्चनका क्रममा जे नहुनु पर्ने त्यही हुन्छ । कलाकारले संवाद बिर्सिन्छन् । प्राविधिकहरूले गडबडी गर्छन् । मञ्चका सामानहरू भुइँमा झर्छन् । प्रप्स हराउँछ । उल्टोपाल्टो वस्तुहरू वास्तविक वस्तुका प्रप्स हुन्छन् । सेट भाँचिन्छ ।
यसरी यो नाटक अपूर्णता र गडबडीको उत्सव बन्न जान्छ । दर्शकको हाँसोको कारण बन्न जान्छ । किनकि यो नाटकभित्र नाटकको शैलीमा प्रस्तुत स्लापस्टिक कमेडी ड्रामा हो ।

यो नाटक, नाटकको नेपथ्यको कथा पनि हो । किनकि हामीले नाटक बनाउँदाको संघर्ष, जुगाड, अभाव र त्याग पनि मञ्चमा देख्न पाउँछौं । सामान्यतया: हामीले एउटा ‘पर्फेक्ट’ नाटक हेरिरहेका हुन्छौं । तर, यो नाटकले मञ्चको पर्दाले लुकाएको थिएटरको भित्री संसार पनि देखाएको छ ।
कलाकारहरूको अभिनय, टाइमिङ, संवाद, कथा भन्ने शैली, दर्शकलाई नै नाटकको हिस्सा बनाउने पाटो – यी ग्रान्ड रिहर्सलका राम्रा पक्ष हुन् ।
तर, नाटकमा लामो समयसम्म एउटै कुरा दोहोरिन्छ- ‘बिहेको टुटुल्को’ मञ्चन हुँदा मञ्च र कलाकारमा समस्या आउँछ । जुन कथानक दर्शकहरूलाई पहिल्यै थाहा भएको हो, त्यसमा नवीवनता हुँदैन । यसले भने नाटकलाई धेरै सुस्त र लामो बनाएको महसुस हुन्छ ।
यसबाहेक त जीवन र रंगमञ्च दुवैमा हामी पूर्णताको सपना देख्छौं । तर, वास्तविकता भने गडबडी, असफलता र सुधार हुन्छ । यो नाटकले भन्छ – मान्छेको प्रयास र भाग्यबीच खेल कहिल्यै सकिँदैन । त्यो अव्यवस्थालाई स्वीकार गर्दा मात्र साँचो आनन्द आउँछ । त्यही खेललाई हाँस्दै हेर्न सकियो भने जीवन हल्का बन्छ ।

तस्वीर : प्रसुन संग्रौला ।
प्रतिक्रिया 4