+
+
Shares

परिवार महत्वको सन्देश दिँदै ‘मिस्टर एन्ड मिस युनिभर्सिटी’ जोडीको पुनर्विवाह

२५ वर्षपछि पुनः सात फेरो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेरिल्यान्डमा मिस्टर एन्ड मिस युनिभर्सिटी २००१ का विकास गौतम र रिना केसीले २५ वर्षपछि वैदिक विधिअनुसार पुनर्विवाह गरेका छन्।
  • गौतम र केसीले २००१ जनवरी २८ मा न्युयोर्कमा आयोजित प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए।
  • पुनर्विवाह समारोहमा परिवार, आफन्त र नेपाली समुदायको सहभागिता रहँदा वैवाहिक प्रतिबद्धताको पुनःस्मरण गराइएको थियो।

मेरिल्यान्ड (अमेरिका) । विवाह र परिवार महत्वको सन्देश दिँदै ‘मिस्टर एन्ड मिस युनिभर्सिटी २००१’ का प्रतिस्पर्धीले २५ वर्षपछि पुनर्विवाह गरेका छन् । पच्चिसौं वैवाहिक वर्षगाँठको अवसरमा विकास गौतम र रिना केसीले पुनर्विवाह गरेका हुन् ।

त्यतिबेला प्रतियोगितामा पोखराबाट सहभागी गौतम र काभ्रेबाट सहभागी केसीले प्रेमसम्बन्धलाई विवाहको रुप दिएका थिए । मेरिल्यान्ड राज्यको ग्लेन आर्मस्थित हिन्दु बुद्ध मन्दिरमा आइतबार वैदिक विधिअनुसार उनीहरूले पुनर्विवाह गरेका हुन् ।

त्यतिबेला, २१ वर्षीय गौतम मिस्टर युनिभर्सिटी नेपाल र १८ वर्षीया केसी मिस युनिभर्सिटी नेपाल घोषित भएका थिए । उनीहरूले सन् २००१ जनवरी २८ मा न्युयोर्कको म्यानह्याटन सेन्टरमा आयोजित ‘मिस्टर एण्ड मिस युनिभर्सिटी वर्ल्ड ब्युटी पेजेन्ट’ मा नेपालको प्रतिनिधित्व गरेका थिए ।

त्यो समय नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन अमेरिका पुग्नु आफैंमा ठूलो उपलब्धिको विषय मानिन्थ्यो । वर्ल्ड कल्चर एण्ड स्पोट्र्स फेस्टिभल २००१ अन्तर्गत आयोजित उक्त कार्यक्रममा २८ देशका प्रतियोगीको सहभागिता थियो ।

उनीहरूको पुनर्विवाह समारोहमा परिवार, आफन्त, प्रशंसक र साथीभाइको सहभागिता रह्यो । आयोजकका अनुसार समारोहलाई नेपाली संस्कार, पारिवारिक मूल्य र वैवाहिक प्रतिबद्धताको पुनःस्मरणका रूपमा आयोजना गरिएको हो ।

पछिल्लो समय अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबीच वैवाहिक वर्षगाँठका अवसरमा वैदिक विधिअनुसार पुनर्विवाह गर्ने क्रम बढ्दै गएको छ । यसअघि सन् २०२४ मा फिल्म निर्देशक गोपालचन्द्र लामिछाने र गीता गिरी लामिछानेले वैवाहिक जीवनको पच्चीसौँ वर्षगाँठका अवसरमा वैदिक विधिअनुसार पुनर्विवाह गरेका थिए ।

सामाजिक विश्लेषकका अनुसार दीर्घ वैवाहिक सम्बन्धलाई सार्वजनिक रूपमा पुनःप्रतिबद्धता गर्ने यस्ता अभ्यासले परिवार, सहअस्तित्व र सामाजिक उत्तरदायित्वबारे सकारात्मक सन्देश प्रवाह गर्ने गरेका छन् ।

गौतम दम्पती मेरिल्यान्डमा नेपाली समुदायका सफल व्यवसायी तथा सामाजिक रूपमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन् र विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?