+
+
Shares

१३ विदेशी उत्पादन नेपाली बजार ल्याउने तयारी, वाणिज्य विभागको दाबी-विरोध आह्वान

यदि नेपालमै यस्ता वस्तु उत्पादन भइरहेको अवस्थामा विदेशी कम्पनीलाई सोही प्रकृतिको वस्तु बिक्रीको अनुमति नदिने सरकारको नीति छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १३ प्रकारका विदेशी उत्पादनको प्रत्यक्ष बिक्री अनुमति दिनुअघि नेपालमै उत्पादन भए नभएको १५ दिने सूचना जारी गरेको छ।
  • ब्रेनवे मल्टिट्रेड मार्केटिङ प्रालिले स्वास्थ्यबर्धक जुस र सौन्दर्य सामग्री बिक्री अनुमति मागेपछि विभागले स्वदेशी उद्योग संरक्षणका लागि प्रक्रिया सुरु गरेको हो।
  • विभागले नेपालमै समान वस्तु उत्पादन भए १५ दिनभित्र प्रमाण पेश गर्न आग्रह गरेको छ, नत्र अनुमति प्रदान गरिने छ।

२८ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न १३ प्रकारका विदेशी उत्पादन नेपाली बजारमा प्रत्यक्ष बिक्री (डाइरेक्ट सेलिङ) को अनुमति दिनुअघि ती वस्तु नेपालमै उत्पादन भए/नभएको यकिन गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

काठमाडौं महानगरपालिका–६ मा कार्यालय रहेको ‘ब्रेनवे मल्टिट्रेड मार्केटिङ प्रालि’ ले विदेशी मुलुकमा उत्पादित स्वास्थ्यबर्धक जुस र कस्मेटिक सामग्री नेपालमा बिक्री गर्न अनुमति मागेपछि विभागले स्वदेशी उद्योगको संरक्षणका लागि यो प्रक्रिया सुरु गरेको हो ।

‘वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७७’ को दफा १६ मा नेपालमा उत्पादन नहुने वस्तुका हकमा मात्र विदेशी वस्तुलाई प्रत्यक्ष बिक्रीका लागि अनुमति दिन सकिने कानुनी प्रावधान छ ।

सोही ऐनको उपदफा (५) बमोजिम विभागले ती प्रस्तावित वस्तुसँग मिल्दाजुल्दा वा समान प्रकृतिका वस्तु नेपालमा उत्पादन भइरहेका छन् कि छैनन् भनी व्यवसायी तथा सरोकारवालासँग जानकारी माग गरेको छ ।

यदि नेपालमै यस्ता वस्तु उत्पादन भइरहेको अवस्थामा विदेशी कम्पनीलाई सोही प्रकृतिको वस्तु बिक्रीको अनुमति नदिने सरकारको नीति छ ।

ब्रेनवे मल्टिट्रेड मार्केटिङले अनुमति मागेका १३ वटा वस्तुमा नोनी गोल्ड जुस, पीडेन्ट जुस, के–केयर जुस, हिमालयन बेरी जुस, डाइबो केयर जुस, वोमब्लिस जुस, थाइरोफिट जुस, आयु प्लस मल्टिबेरी जुस, ई–बुस्टर जुस र एलोभेरा जुस छन् ।

यी पेय पदार्थ (फुड सप्लिमेन्ट) का साथै कम्पनीले गोल्ड फेसियल किट, मिक्स फ्रुट्स फेसियल किट र डायमन्ड फेसियल किटजस्ता सौन्दर्य सामग्री समेत नेपाली बजार ल्याउने तयारी गरेको छ ।

विभागले जारी गरेको सूचनामा उल्लेख गरिएका वस्तुसँग मेल खाने वस्तु स्वदेशमै उत्पादन भइरहेको भए १५ दिनभित्र सप्रमाण दाबी पेस गर्न उत्पादकहरूलाई आग्रह गरिएको छ ।

ऐनको दफा १६ को उपदफा (६) को प्रक्रिया पूरा गर्न यो सूचना प्रकाशित गरिएको विभागले स्पष्ट पारेको छ ।

तोकिएको समयभित्र कुनै दाबी वा विरोध प्राप्त नभए र प्रस्तावित वस्तुहरू नेपालमा उत्पादन नहुने पुष्टि भए विभागले ती वस्तुलाई प्रत्यक्ष बिक्री प्रणाली मार्फत बजार लैजान कानुनी अनुमति प्रदान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?