+
+
Shares

पर्दाभन्दा परको अर्थतन्त्र : फिल्म फेस्टिभलमा लगानी किन अपरिहार्य ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंले सन् २०२३ नोभेम्बर १ मा युनेस्को क्रिएटिभ सिटी अफ फिल्मको मान्यता प्राप्त गरेको छ।
  • नेपालमा चलचित्र महोत्सवलाई अझै पनि 'खर्च' नभई 'लगानी'को रूपमा हेर्न आवश्यक छ।
  • चलचित्र महोत्सवले रोजगारी सिर्जना गर्ने, सांस्कृतिक आदानप्रदान गर्ने र अन्तर्राष्ट्रिय पहिचान बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

काठमाडौंमा हरेक वर्ष आयोजना हुने चलचित्र तथा वृत्तचित्रसम्बन्धी गतिविधिलाई अझै पनि हामी ‘फिल्म हेर्ने कार्यक्रम’ कै रूपमा सीमित बुझाइमा राखिरहेका छौं । तर, यथार्थ त्यसभन्दा धेरै व्यापक छ । यी कार्यक्रम सांस्कृतिक जमघट होइनन्, बरु सम्भावित उद्योगका आधारस्तम्भ हुन्, जसले अर्थतन्त्र, रोजगारी, संस्कृति र सार्वजनिक बहस सबैलाई एकैसाथ जोड्न सक्छ ।

विश्वव्यापी रूपमा चलचित्र तथा मनोरञ्जन उद्योग अहिले सबैभन्दा ठूलो र प्रभावशाली आर्थिक क्षेत्रमध्ये एक हो । यसले अर्बौं डलरको कारोबार गर्छ, लाखौं मानिसलाई रोजगारी दिन्छ, र देशको अन्तर्राष्ट्रिय छवि निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ । तर नेपालमा भने यो क्षेत्र अझै पनि प्राथमिकतामा परेको छैन । नीतिगत उदासीनता, लगानीको अभाव र दीर्घकालीन दृष्टिकोणको कमीले गर्दा हामी यस अवसरबाट टाढा छौं ।

म आफैं विगत दुई दशकभन्दा बढी समयदेखि वित्तीय क्षेत्रमा कार्यरत छु । पछिल्ला वर्षमा विभिन्न अन्तर्राष्ट्रियस्तरका चलचित्र तथा वृत्तचित्र महोत्सवसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाएँ । अहिले पनि काठमाडौंमा आधारित यस्तै एउटा महोत्सवसँग आबद्ध छु । वित्तीय दृष्टिकोण र व्यावहारिक अनुभव दुवैबाट हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ । नेपालले चलचित्र महोत्सवलाई अझै ‘खर्च’ का रूपमा हेर्छ, ‘लगानी’ का रूपमा होइन ।

मनोरञ्जनभन्दा पर : कला, संस्कृति र विचारको संगम

फिल्म कथा मात्र होइन, यो समाज, इतिहास, राजनीति, र पहिचानको अभिव्यक्ति हो । विशेषगरी वृत्तचित्रले हाम्रो समाजका जटिल प्रश्नलाई सार्वजनिक बहसमा ल्याउने काम गर्छन् । यसकारण, फिल्म फेस्टिभल मनोरञ्जन मात्र होइनन्, कला र संस्कृतिको आदानप्रदानका सशक्त मञ्च हुन् ।

जब विभिन्न देशका फिल्म नेपालमा देखाइन्छन्, हामी केवल कथा हेर्दैनौं । हामी फरक समाज, फरक अनुभव र फरक दृष्टिकोणसँग परिचित हुन्छौं । त्यस्तै, नेपाली फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा पुग्दा हाम्रो कथा, हाम्रो यथार्थ, र हाम्रो आवाज विश्वसम्म पुग्छ । यही प्रक्रिया सांस्कृतिक आदानप्रदानको आधार हो ।

काठमाडौंले सन् २०२३ नोभेम्बर १ मा ‘युनेस्को क्रिएटिभ सिटी अफ फिल्म’ को मान्यता प्राप्त गर्‍यो । यो मान्यता केवल प्रतीकात्मक उपलब्धि होइन, यसले शहरको सांस्कृतिक सम्भावना र अन्तर्राष्ट्रिय पहिचानलाई औपचारिक रूपमा स्वीकार गरेको संकेत हो । तर यस्तो मान्यताले अपेक्षा गर्ने संरचना, लगानी र दीर्घकालीन योजना भने अझै स्पष्ट रूपमा देखिन बाँकी छ ।

यस्तो अवस्थामा, महोत्सवजस्ता विद्यमान मञ्चलाई बलियो बनाउनु नै त्यो पहिचानलाई सार्थक बनाउने व्यावहारिक बाटो हुन सक्छ । यस्ता महोत्सवमा सहभागी हुन विश्वभरका फिल्मकर्मी नेपाल आउँछन् । उनीहरू यहाँको समाज, संस्कृति र भूगोलसँग जोडिन्छन् । यसले केवल सांस्कृतिक सम्बन्ध मात्र होइन, दीर्घकालीन सहकार्य र सह-निर्माणको सम्भावना पनि सिर्जना गर्छ ।

सामाजिक प्रभाव : बहस, सचेतना र संवाद

चलचित्र महोत्सवको सबैभन्दा कम मूल्यांकन गरिएको पक्ष भनेको यसको सामाजिक प्रभाव हो । एउटा राम्रो वृत्तचित्रले समाजमा लुकेका प्रश्न उजागर गर्न सक्छ, असहज विषयलाई सार्वजनिक बहसमा ल्याउन सक्छ, र दर्शकलाई सोच्न बाध्य बनाउँछ ।
तर महोत्सवको भूमिका केवल फिल्म प्रदर्शनमा सीमित हुँदैन ।

यससँगै हुने प्यानल छलफल, अन्तरक्रिया, र खुला संवादले अझ ठूलो प्रभाव पार्छन् । यी सत्रमा फिल्मकर्मी, अनुसन्धानकर्ता, नीति विज्ञ, र विभिन्न क्षेत्रका विशेषज्ञ एकै ठाउँमा बसेर समसामयिक मुद्दामा छलफल गर्छन् । मेरो अनुभवमा, यस्ता छलफलले दर्शकलाई जानकारी मात्र दिँदैनन्, उनीहरूलाई सोच बदल्न प्रेरित गर्छन् । कतिपय अवस्थामा यिनै संवाद नीति निर्माणसम्म पुग्ने बहसको आधार बन्छन् । नेपालजस्तो समाजमा, जहाँ धेरै विषय अझै पनि खुला रूपमा छलफल हुँदैनन्, यस्ता महोत्सवले सुरक्षित र बौद्धिक बहसको वातावरण सिर्जना गर्छन् ।

स्थानीयबाट विश्वसम्म : चिनिने पहिलो पाइला

नेपालका धेरै फिल्मकर्मीको यात्रा यिनै राष्ट्रिय मञ्चबाट सुरु हुन्छ । कुनै पनि सिर्जना सिधै अन्तर्राष्ट्रिय बजारमा पुग्दैन, यसले आफ्नो पहिचान निर्माण गर्न पहिलोपटक आफ्नै समाजसँग संवाद गर्नुपर्छ । यस्ता महोत्सवले नयाँ प्रतिभालाई दर्शकसँग जोड्छन्, प्रतिक्रिया दिन्छन्, र नेटवर्क निर्माणको अवसर दिन्छन् । यही प्रक्रियाले उनीहरूलाई अझ परिष्कृत बनाउँछ र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ । हामीसँग यस्ता धेरै उदाहरणहरू छन्, जहाँ स्थानीय मञ्चबाट सुरु भएका फिल्मकर्मीपछि अन्तर्राष्ट्रिय रूपमा चिनिएका छन् । त्यसैले महोत्सवलाई केवल प्रदर्शन स्थल होइन, प्रतिभा विकास गर्ने संस्थागत प्लेटफर्मका रूपमा बुझ्न आवश्यक छ ।

रोजगारी : तुरुन्त र दीर्घकालीन लाभ

नेपालको अर्थतन्त्रको एउटा प्रमुख चुनौती भनेको रोजगारी हो । विशेषगरी युवाका लागि अवसर सीमित छन् । यस्तो अवस्थामा चलचित्र महोत्सवले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्न सक्छन् । एउटा महोत्सव सञ्चालन गर्नकै लागि कार्यक्रम व्यवस्थापन, प्राविधिक सेवा, सञ्चार, डिजाइन, अनुवाद, आतिथ्य, यातायात जस्ता क्षेत्र सक्रिय हुन्छन् । यी अवसर अस्थायी मात्र नभई दीर्घकालीन करियरको प्रवेशद्वार पनि हुन् ।

धेरै युवाले यस्ता महोत्सवमार्फत पहिलोपटक उद्योगसँग जोडिने अवसर पाउँछन् । उनीहरूले सिक्ने सीप, समन्वय, व्यवस्थापन, प्राविधिक दक्षता भविष्यका लागि महत्वपूर्ण पूँजी बन्छ ।

फिल्म इकोसिस्टम : किन आवश्यक छ ?

नेपालको फिल्म उद्योग किन पछाडि परेको छ भन्ने प्रश्नको उत्तर खोज्दा एउटै निष्कर्ष आउँछ- हामीसँग पूर्ण इकोसिस्टम छैन । इकोसिस्टम भन्नाले केवल फिल्म निर्माण होइन, त्यसलाई सम्भव बनाउने सम्पूर्ण संरचना हो । दक्ष जनशक्ति, प्राविधिक पूर्वाधार, लगानीकर्ता, वितरण प्रणाली, र अन्तर्राष्ट्रिय पहुँच। महोत्सवले यी सबै तत्वलाई जोड्ने पुलको काम गर्छन् । यहाँ स्थानीय र अन्तर्राष्ट्रिय स्तरबीच संवाद हुन्छ । नयाँ प्रविधि, नयाँ सोच, र नयाँ बजारसँग परिचय हुन्छ ।

वित्तीय पृष्ठभूमिबाट हेर्दा, कुनै पनि क्षेत्रमा लगानी गर्नु भनेको दीर्घकालीन प्रतिफलको सम्भावना हो । चलचित्र महोत्सवमा गरिएको लगानी पनि त्यस्तै हो । यसले प्रत्यक्ष आम्दानी मात्र होइन, अप्रत्यक्ष आर्थिक गतिविधि पनि बढाउँछ । होटल, रेस्टुरेन्ट, यातायात क्षेत्रमा खर्च वृद्धि हुनेदेखि स्थानीय सेवा क्षेत्रको सक्रियता, अन्तर्राष्ट्रिय आगन्तुकको आगमन, साना व्यवसायको अवसर विस्तारमा भूमिका खेल्छ । यसलाई ‘मल्टिप्लायर इफेक्ट’ भनिन्छ । एउटा क्षेत्रमा गरिएको लगानीले अन्य धेरै क्षेत्रमा आर्थिक गतिविधि सिर्जना गर्छ ।

उद्यमशीलता र क्रिएटिभ अर्थतन्त्र

चलचित्र निर्माण आफैंमा एउटा उद्यम हो । एउटा विचारलाई उत्पादनमा रूपान्तरण गर्ने प्रक्रिया हो, जसमा जोखिम, लगानी, र बजार सबै जोडिएका हुन्छन्। नेपालमा उद्यमशीलताको चर्चा बढ्दै गएको छ, तर क्रिएटिभ उद्योग अझै पनि प्राथमिकतामा परेको छैन । महोत्सवले यस क्षेत्रमा नयाँ सोच र ऊर्जा ल्याउन सक्छन् । यहाँ देखाइएका फिल्मले मात्र होइन, तिनको निर्माण प्रक्रियाले पनि नयाँ पुस्तालाई प्रेरित गर्छ ।

नेपाललाई विश्वले पर्यटनको देशका रूपमा चिन्छ । तर फिल्म र महोत्सवलाई पर्यटनसँग जोड्ने रणनीति अझै पर्याप्त विकसित भएको छैन । अन्तर्राष्ट्रिय पाहुनाहरू यस्ता कार्यक्रममा सहभागी हुन नेपाल आउँदा, उनीहरूले केवल कार्यक्रम मात्र होइन, देशको अनुभव लिएर फर्कन्छन्। उनीहरू आफ्नो अनुभवमार्फत नेपाललाई विश्वभर चिनाउँछन् । यसरी हेर्दा, चलचित्र महोत्सव सांस्कृतिक कूटनीतिको पनि प्रभावकारी माध्यम हुन् ।

किन पछि पर्‍यौं ?

यसको मुख्य कारण नीतिगत प्राथमिकताको अभाव हो । फिल्मलाई अझै पनि ‘मनोरञ्जन’ को रूपमा मात्र हेर्ने प्रवृत्ति छ । त्यसैले यस क्षेत्रमा लगानी न्यून छ, संरचना कमजोर छ, र दीर्घकालीन योजना अभावमा छ । धेरैजसो महोत्सव सीमित स्रोतमा सञ्चालन भइरहेका छन् । उत्साह र प्रतिबद्धताले मात्र उद्योग निर्माण हुँदैन । त्यसका लागि संस्थागत समर्थन र दीर्घकालीन लगानी आवश्यक हुन्छ । नेपालले अब चलचित्र तथा वृत्तचित्र महोत्सवलाई नयाँ दृष्टिकोणबाट हेर्न आवश्यक छ । यसका लागि स्पष्ट सांस्कृतिक तथा आर्थिक नीति चाहिन्छ, निजी क्षेत्रको सक्रिय सहभागिता, शैक्षिक संस्थासँग सहकार्य, अन्तर्राष्ट्रिय साझेदारी र को-प्रोडक्सन प्लेटफर्म विकासजस्ता कदमहरूले मात्र यो क्षेत्रलाई दीर्घकालीन रूपमा टिकाउ बनाउन सक्छन् ।

चलचित्र महोत्सवलाई अब मनोरञ्जनको सीमित दायराबाट बाहिर निकाल्नुपर्छ । यी कार्यक्रम आर्थिक, सामाजिक, र सांस्कृतिक रूपान्तरणका माध्यम हुन् । मेरो वित्तीय अनुभव र महोत्सवमा काम गर्ने व्यावहारिक अनुभवले एउटा स्पष्ट सन्देश दिन्छ । यदि सही नीति, लगानी, र दृष्टिकोण भयो भने, नेपालमा फिल्म उद्योगले रोजगारी सिर्जना गर्न, अर्थतन्त्र बलियो बनाउन, र अन्तर्राष्ट्रिय स्तरमा पहिचान निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

प्रश्न अब के हो भने, हामी यो सम्भावनालाई समयमै चिन्न सक्छौं कि फेरि एकपटक गुमाउनेछौं ?

लेखक रति शर्मा २० वर्षभन्दा बढी समयदेखि वित्तीय क्षेत्रमा कार्यरत छन् । साथै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र तथा वृत्तचित्र महोत्सवसँग आबद्ध भई काम गरेको अनुभव र हाल किम्फ फिल्म फेस्टिभलसँग आबद्ध छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?