+
+
Shares

गगन र विश्वलाई अब धेरै दिन पर्खन सक्दैनौं : बिमलेन्द्र निधि

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले १५औँ महाधिवेशनको तयारीमा जुटेको र साझा एकताका लागि दुई पक्षको संयुक्त कार्यसमितिलाई जोड दिनुपर्ने बताए।
  • उनले विशेष महाधिवेशनमा ५५/५६ प्रतिशत प्रतिनिधि सहभागी नभएको र ४६ प्रतिशत प्रतिनिधि बाहिर रहेको दाबी गरे।
  • निधिले पार्टी सदस्यता नवीकरण भइसकेकाले पुन: नवीकरण आवश्यक नरहेको तर सबैलाई सहभागी हुन आग्रह गरे।

२९ वैशाख, जनकपुरधाम । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले आफूहरू १५औँ महाधिवेशनको तयारीमा जुटिसकेको बताएका छन् ।

जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले विशेष महाधिवेशनलाई आफूहरूले नमान्ने स्पष्ट पार्दै अब साझा एकताका लागि १४औँ महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर कार्यसमितिलाई संयुक्त गर्नुपर्ने बताए ।

संयुक्त कार्यसमितिको आयोजनामा १५औँ महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित आवश्यक निर्णयहरू गर्नुपर्ने उनको भनाइ थियो ।

उनले पार्टी कार्यालयका लागि छुट्टै भवनको खोजी भइरहेको जानकारी पनि दिए । विशेष महाधिवेशनमा देशभरका प्रतिनिधिमध्ये ५५/५६ प्रतिशत सहभागी नभएको दाबी गर्दै निधिले ४६ प्रतिशत महाधिवेशन प्रतिनिधि बाहिर रहेको बताए ।

‘उनीहरूकै भनाइअनुसार ४६ प्रतिशत महाधिवेशन प्रतिनिधि बाहिर छन् । उनीहरूलाई समेट्न अहिलेसम्म कुनै प्रयास भएको छैन । पूर्णबहादुर खड्का र शेखर कोइरालासँग गगन थापा र विश्वप्रकाश शर्माको शिष्टाचार भेट मात्र भएको हो । उहाँहरूले प्रस्ताव लिएर आउँछौँ भन्नुभएको छ, तर अहिलेसम्म आउनुभएको छैन । हामी अब धेरै दिन पर्खिन सक्दैनौं,’ उनले भने ।

निधिले यसअघि नै पार्टी सदस्यता नवीकरण भइसकेकाले पुन: नवीकरण आवश्यक नरहेको बताए । ‘हामीले १५औँ अधिवेशनका लागि नवीकरणको कार्यतालिका तथा त्यसको व्यवस्थापनको जिम्मा महामन्त्रीको हैसियतले गगन थापाजीलाई दिएका थियौँ । उहाँ व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्थ्यो,’ उनले भने, ‘एउटै १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यहरूको नवीकरण भइसकेकाले त्यसलाई दोहोर्‍याएर गर्नुपर्ने कुनै आवश्यकता छैन ।’

यद्यपि उनले सदस्यता नवीकरण प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरे । साथै निजी स्वार्थका आधारमा सदस्यता नवीकरण भइरहेको आरोप पनि लगाए ।

पूर्व उपसभापति समेत रहेका निधिले अहिले सातै प्रदेशमा पार्टीका नेतासँग छलफल तथा भेटघाट सुरु गरिएको जानकारी दिए ।

मधेश प्रदेशमा आनन्द ढुंगाना लाई जिम्मेवारी दिइएको बताउँदै उनले आज कोशी प्रदेश र भोलि बागमती प्रदेशमा भेला भइरहेको तथा अन्य प्रदेशमा पनि सरसल्लाह र भेटघाट गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?