News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई विधि र विधान मिच्न नपाइने चेतावनी दिनुभयो।
- सिंहले पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको आरोप लगाउनुभयो।
- उनले लोकतन्त्र स्थापना र जनताको अधिकारमा पार्टी र अग्रज नेताहरूको भूमिका नभुल्न नेता थापालाई आग्रह गर्नुभयो।
३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी गरेका छन् ।
बागमती प्रदेशस्तरीय विशेष भेलालाई बुधबार सम्बोधन गर्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् ।
नेता सिंहले पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको आरोप पनि लगाए ।
उनले मुलुकमा लोकतन्त्र स्थापना र जनताको अधिकार स्थापना गर्न पार्टी र अग्रज नेताहरूले खेलेको भूमिका नभुल्न समेत नेता थापालाई आग्रह गरे ।
उनले पार्टीको विधि र विधानमा भएको व्यवस्था मिचेर पार्टीलाई कमजोर बनाउने कार्य टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिए ।
उनले भने, ‘हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । यो पार्टीमा कुन मुद्दालाई प्राथमिकतामा राख्ने र कुन मुद्दा नराख्ने भन्ने विषयमा समेत डिबेट हुन्छ । तर यहाँ त कस्तो भइरहेको छ भनेदेखि कसैलाई नेतृत्व लिनका लागि हतार भयो भन्दैमा यस्तो हुँदैन ।’
उनले अगाडि भने, ‘अहिले पार्टीभित्र जुन प्रकारको विधि र प्रक्रिया अपनाउनुपर्ने हो, कांग्रेसको विधानअनुसार, नियमअनुसार गर्नुपर्नेमा त्यसको विधि मिचेर पार्टीलाई कमजोर बनाउने कार्य हामीले टुलुटुलु हेरेर बस्नुपर्ने ? अदालतले गर्यो होला, निर्वाचन आयोगले गर्यो होला । तर पार्टी र पार्टीमार्फत मुलुकको हितका लागि पार्टीका अग्रज नेताहरूले गरेको योगदानलाई उपेक्षा गर्न मिल्दैन ।’
प्रतिक्रिया 4