News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य बैंकहरूले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.०५९५ प्रतिशत बिन्दुले घटाएका छन्।
- जेठमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ४.३४३ प्रतिशत रहेको छ जुन चैत महिनाको उपभोक्ता मुद्रास्फितिभन्दा कम हो।
- एनएमबी बैंकले पाँच वर्ष वा सोभन्दा माथिको अवधिको व्यक्तिगत मुद्दती निक्षेपका लागि ४.८० प्रतिशत ब्याजदर तोकेको छ जुन सबैभन्दा उच्च हो।
३१ वैशाख, काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर अत्याधिक घटिसकेको छ ।
बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् । बिहीबार जेठ महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् ।
वैशाखको तुलनामा जेठमा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन् । अधिकांशले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको हो ।
वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा वैशाखको तुलनामा जेठमा ०.०५९५ प्रतिशत बिन्दुले झरेको छ । वैशाखमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.४०२५ प्रतिशत रहेकोमा जेठमा ४.३४३ प्रतिशतमा झरेको छ । मुद्दती निक्षेपको औसत ब्याजदर चैतको मूल्यवृद्धिभन्दा पनि कम हो ।
अधिकांश बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर ४ देखि साढे ४ प्रतिशतसम्म छ । अधिकांशको ब्याजदर चैत महिनाको उपभोक्ता मुद्रास्फितिभन्दा कम हो । नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा उपभोक्ता मुद्रास्फिति दर ४.४७ प्रतिशत रहेको छ । मुद्दतीको अधिकतम ब्याजदर नै मुद्रास्फितिभन्दा तल झरेपछि वित्तीय क्षेत्रमा त्यसले प्रश्नचिन्ह खडा गरेको छ ।
वैशाखको तुलनामा जेठमा ब्याजदर घटाएका ७ बैंकमा सिटिजन्स, हिमालयन, कुमारी, नेपाल, एनआईसी एसिया, एनएमबी र स्ट्यान्डर्ड चार्टर्ड छन् । त्यस्तै स्थिर राखेकामा कृषि विकास, एभरेस्ट, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, एसबीआई, प्राइम कमर्सियल, प्रभु, राष्ट्रिय वाणिज्य, सानिमा र सिद्धार्थ छन् ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर स्वतः घट्छ ।
व्यक्तिगत मुद्दतीमा अब कुनै पनि बैंकले ४.८ प्रतिशतभन्दा माथि ब्याज दिने छैनन् । जेठमा अधिकतम ब्याजदर दिनेमा एनएमबीले ४.८० प्रतिशत तोकेको छ । सो ब्याजदर पनि ५ वर्ष वा सोभन्दा माथिको अवधिको व्यक्तिगत मुद्दती निक्षेपका लागि मात्रै दिने जनाएको छ ।
छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर पनि लामो अवधिको हो ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि बोन्ड, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ ।
व्यक्तिगत मुद्दतीमा वैशाख र जेठको अधिकतम ब्याजदर
| बैंक | वैशाखको ब्याजदर % | जेठको ब्याजदर % |
| कृषि विकास | ४.१५ | ४.१५ |
| सिटिजन्स | ४.१५ | ४.१० |
| एभरेस्ट | ४.०५ | ४.०५ |
| ग्लोबल आईएमई | ४.५० | ४.५० |
| हिमालयन | ४.५० | ४.२५ |
| इन्भेस्टमेन्ट मेगा | ४.५० | ४.५० |
| कुमारी | ४.०५ | ३.९६ |
| लक्ष्मी सनराइज | ४.५० | ४.५० |
| माछापुच्छ्रे | ४.५० | ४.५० |
| नबिल | ४.५५ | ४.५५ |
| नेपाल | ४.५० | ४.२५ |
| नेपाल एसबीआई | ४.२५ | ४.२५ |
| एनआईसी एसिया | ४.७५ | ४.५० |
| एनएमबी | ५.०० | ४.८० |
| प्राइम कमर्सियल | ४.१५ | ४.१५ |
| प्रभु | ४.५५ | ४.५५ |
| राष्ट्रिय वाणिज्य | ४.७५ | ४.७५ |
| सानिमा | ४.५० | ४.५० |
| सिद्धार्थ | ४.०५ | ४.०५ |
| स्ट्यान्डर्ड चार्टर्ड | ४.१० | ४.०० |
प्रतिक्रिया 4