+
+
Shares

ईभीमा बीवाईडीको गेम चेन्जर ‘फ्ल्यास चार्जिङ’, ९ मिनेटमा फुल चार्ज   

ईभी चार्जिङका लागि घण्टौं कुर्नुपर्ने झन्झटलाई बीवाईडीले ९ मिनेटमा नै फुल चार्ज हुने प्रविधि विकास गरेको हो ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ वैशाख ३१ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ कम्पनी बीवाईडीले ९ मिनेट २६ सेकेन्डमा १० देखि ९७ प्रतिशत चार्ज हुने 'सुपर ई–प्ल्याटफर्म' प्रविधि सार्वजनिक गरेको छ।
  • यो प्रविधिले माइनस ३० डिग्री सेल्सियस तापक्रममा समेत ९ मिनेटमै चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।
  • बीवाईडीले चीनभरि ४ हजारभन्दा बढी मेगावाट फ्ल्यास चार्जिङ स्टेसन निर्माण गर्ने योजना अघि सारेको छ।

३१ वैशाख, सेन्जेन (चीन) । चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनी ‘बिल्ड योर ड्रिम्स’ (बीवाईडी) ले ईभी चार्जिङ प्रविधिमा छलाङ मारेको छ ।

ईभी चार्जिङ प्रविधिमा बीवाईडीले ‘सुपर ई–प्ल्याटफर्म’ सार्वजनिक गर्दै चार्जिङ प्रविधिमा छलाङ मारेको हो । ईभी चार्जिङका लागि घण्टौं कुर्नुपर्ने झन्झटलाई बीवाईडीले ९ मिनेटमा नै फुल चार्ज हुने प्रविधि विकास गरेको हो ।

बीवाईडीले सार्वजनिक गरेको ‘फ्ल्यास चार्जिङ’ प्रविधिले अन्तर्राष्ट्रिय अटोमोबाइल बजारमा तरंग ल्याएको छ । ९ मिनेट २६ सेकेन्डमा १० देखि ९७ प्रतिशत चार्ज हुने प्रविधि विकास गरेको हो ।

सुपर ई–प्ल्याटफर्ममा आधारित नयाँ पुस्ताका गाडीलाई १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न केवल ५ मिनेट लाग्ने कम्पनीले जनाएको छ । त्यसका साथै १० देखि ९७ प्रतिशत चार्ज भने केवल ९ मिनेट २६ सेकेन्डमा पूरा हुने गरेको छ ।

चीनको सेन्जेनस्थित बीवाईडी मुख्यालयमा आयोजित नेपालबाट गएका सञ्चारकर्मीसँग कुरा गर्दै कम्पनीका एसिया प्यासिफिक महाप्रबन्धक लिउ जुएलियाङले फ्ल्यास चार्जिङले ढिलो चार्ज हुने समस्या हटाउने प्रयास गरेको बताए । ईभी उद्योगमा देखिएको ब्याट्री चार्जको ठूलो समस्या फ्ल्यास चार्जिङले हटाएको उनको भनाइ छ ।

अहिले ईभी प्रयोगकर्ताले लामो दुरी यात्रा गर्दा चार्जिङ स्टेसन खोज्नुपर्ने, चार्ज गर्न कुर्नुपर्ने जस्ता समस्या भोग्दै आएका छन् । तर, बीवाईडीले उक्त समस्यालाई आधुनिक प्रविधि प्रयोग गर्दै समाधान गरेको जुएलियाङको भनाइ छ ।

उक्त समयमा नै गाडीमा करिब ४ सयदेखि ५ सय किलोमिटर चल्न सक्ने ऊर्जा थपिने कम्पनीको दाबी छ ।

छोटो समयमा चार्ज गर्न सक्ने प्रविधि विकास हुनुका पछाडि उच्चस्तरीय ब्याट्री विज्ञान, ताप व्यवस्थापन र पावर इलेक्ट्रोनिक्सको संयोजन रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो प्ल्याटफर्मले १ मेगावाट सम्मको चार्जिङ क्षमता प्रदान गर्छ, जुन हालसम्म उत्पादनमा रहेका ईभीका लागि विश्वकै तीव्र चार्जिङ प्रणालीमध्ये एक हो । यसले प्रतिसेकेन्ड करिब २ किलोमिटर बराबरको दुरी थप्न सक्ने दाबी गरिएको छ ।

ईभी चार्जिङलाई पेट्रोल भर्ने गतिसँग बराबरीमा पुर्‍याउने लक्ष्य कम्पनीले राखेको छ । नयाँ सुपर ई–प्ल्याटफर्ममा १ हजार भोल्ट उच्च–भोल्टेज आर्किटेक्चर, १ हजार एम्पियरसम्मको करेन्ट बहन गर्ने फ्ल्यास चार्जिङ ब्याट्री, ३० हजार आरपीएम क्षमताको मोटर तथा १ हजार ५ सय भोल्टसम्म सहन सक्ने सिलिकन कार्बाइड पावर चिप समावेश गरिएको छ ।

प्रविधिको प्रभावकारी उपयोगका लागि बीवाईडीले चीनभरि ४ हजारभन्दा बढी मेगावाट फ्ल्यास चार्जिङ स्टेसन निर्माण गर्ने योजना अघि सारेको छ । कम्पनीका अनुसार यी चार्जरको अधिकतम आउटपुट १ हजार ३ सय ६० किलोवाटसम्म पुग्ने छ ।

ईभी उद्योगमा चार्जिङ समय प्रमुख चुनौतीका रूपमा रहँदै आएको अवस्थामा बीवाईडीले यो प्रविधिलाई ईभी बजारमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरेको छ । यदि व्यापक कार्यान्वयन हुन सके ईभी प्रयोगलाई तीव्र रूपमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा कम्पनीको छ ।

बीवाईडीले माइनस ३० डिग्री तापक्रममा पनि ९ मिनेटमै चार्ज गर्न सकिने प्रविधि विकास गरेको हो । तापक्रम घटेपछि ब्याट्रीको क्षमता र चार्जिङ गति दुवै कम हुने समस्यालाई अन्त्य गर्दै बीवाईडीले त्यसमा समेत नयाँ छलाङ मारेको छ ।

कम्पनीका अनुसार माइनस ३० डिग्री सेल्सियस तापक्रममा समेत गाडीलाई १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न ९ मिनेट मात्रै लाग्छ । बीवाईडीले विकास गरेको यस प्रविधिले अत्यधिक चिसोमा समेत सोही गतिमा चार्ज गर्न सकिने जनाएको छ ।

जसले गर्दा अत्यधिक चिसो मौसम हुने देशका लागि प्रभावकारी हुने जुएलियाङले बताए ।

केवल प्रविधि सार्वजनिक गरेर मात्रै बजार जित्न नसकिने उपप्रमुख सिएलिए बताउँछन् । यसलाई कम्पनीले राम्रोसँग बुझिरहेको र त्यसको विस्तारका लागि लागिपरेको उनको भनाइ छ । यस्तो उच्च क्षमताको चार्जिङ प्रणाली चलाउन ठूलो पूर्वाधार चाहिन्छ ।

हाल यो प्रविधि बीवाईडीका ‘सुपर ई–प्ल्याटफर्म’ मा आधारित प्रिमियम मोडेलमा सीमित छ । यसमा ‘हान एल’ सेडान र ‘टाङ एल’ एसयूभी समावेश छन् । चीनमा यी मोडेलको प्रि–सेल्स सन् २०२५ देखि सुरु भएको थियो ।

यो प्रविधि नेपालमा कहिले आउँछ भन्ने प्रश्नमा महाप्रबन्धक जुएलियाङले नेपालमा पनि यो प्रविधि चाँडै पुग्ने बताए । उनका अनुसार चीनमा पूर्वाधार विस्तारसँगै दक्षिण एसियाली बजारमा समेत फ्ल्यास चार्जिङ विस्तार गर्ने योजना छ ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?