News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'रोल नं १' को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ जसले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वको संक्षिप्त झलक दिएको छ।
- ट्रेलरले छोराको रुचि र परिवारको चाहनाबीचको द्वन्द्व र बालमनोविज्ञानलाई प्रस्तुत गरेको छ र रुचिअनुसार शिक्षा हासिल गर्नुपर्ने सन्देश दिएको छ।
- फिल्म जेठ १५ गतेबाट प्रदर्शनमा आउनेछ र यसमा मुकुन भुसाल, सशांक मैनाली, रेणु योगी लगायतका कलाकारको मुख्य भूमिका छ।
काठमाडौं । फिल्म ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त झलक दिएको छ ।
ट्रेलरमा छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहनालाई केन्द्रीय विषय बनाइएको छ । तर, छोराको रुचि भने पढाइभन्दा अन्यत्र रहेको देखाइएको छ ।
परिवारको चाहना पूरा गर्न छोराले प्रयास गरे पनि रुचि नहुँदा असफल हुने अवस्थामार्फत ट्रेलरले बालमनोविज्ञानलाई प्रस्तुत गरेको छ । रुचिअनुसार शिक्षा हासिल गर्नुपर्छ भन्ने सन्देश पनि ट्रेलरमा देख्न सकिन्छ ।
गरिब भएकै कारण विद्यार्थी छात्रवृत्तिबाट वञ्चित हुने अवस्था र पहिलो हुनेलाई मात्रै सम्मान गर्ने कथित सामाजिक प्रवृत्तिमाथि पनि व्यंग्य गरिएको छ ।
घोकन्ते शिक्षाले समाजमा पारेको प्रभाव र त्यसकै पछि लाग्ने अभिभावकका कारण बालबालिकाको मनोविज्ञानमा पर्ने असरलाई बाबु-छोराको सम्बन्धमार्फत मिहिन ढंगले प्रस्तुत गरिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारलाई देख्न सकिन्छ ।
निर्माणपक्षका अनुसार फिल्मले विद्यार्थीको मनोविज्ञानको कथा भन्छ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक असर र त्यसले समग्र जीवनमा पार्ने प्रभावलाई फिल्ममा उठाइएको बताइएको छ ।
जोन योञ्जन निर्देशित फिल्ममा मुकुन भुसाल, सशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य भूमिका छ । बालकलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्ममा छत्रमाया गिरी र रमेश चौलागाईं सह-निर्माताका रूपमा छन् । ‘रोल नं १’को कथा तथा पटकथा महेश दवाडीले लेखेका हुन् । विनोद पौडेलको निर्माण रहेको यो फिल्म जेठ १५ गतेदेखि प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया 4