+
+
Shares

वीरगञ्ज भन्सारबाट १० महिना एक खर्ब ९९ अर्ब राजश्व संकलन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड राजश्व संकलन गरेको छ।
  • भन्सार विभागले कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा ८९ दशमलव ३५ प्रतिशत मात्र संकलन भएको छ।
  • कार्यालयले चालु आवको साउनदेखि वैशाखसम्म मासिक रूपमा १७ अर्बदेखि २२ अर्बसम्म राजश्व संकलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले बताए।

२ जेठ, वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड राजश्व संकलन गरेको छ ।

भन्सार विभागले यस अवधिमा कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व संकलन गरिएको हो ।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको बताए । उनका अनुसार यहाँ राजस्वको मुख्य स्रोतका रूपमा पेट्रोलियम पदार्थको आयात, सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात रहेका छन् ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । चालु आवको दुई महिना अझै बाँकी रहेकाले थप राजश्व संकलन हुने कार्यालयको अपेक्षा छ ।

कार्यालयले चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व संकलन गरेको थियो ।

यसैगरी, पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रु १९ अर्ब ३४ करोड र चैतमा रु २२ अर्ब ८२ करोड राजश्व संकलन गरेको छ । यस्तै, वैशाखमा रु २१ अर्ब ७४ करोड राजश्व संकलन गरिएको सूचना अधिकारी विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?