+
+
Shares

हप्तामा दुई दिन बिदाले विद्यार्थी चिन्तित

‘शिक्षकलाई त फाइदा नै होला, धेरै दिन बिदा बस्न पाइएला । हामीले त पढ्नु र सिक्नुपर्ने बेला हो । अहिले पढ्न नपाए कहिले पढ्ने ?’

रामहरि ओझा रामहरि ओझा
२०८३ जेठ २ गते १९:४१

२ जेठ, डोटी । बझाङको थलारा गाउँपालिका–१ का विवेक निरौला स्थानीय लक्ष्मीपुर माध्यमिक विद्यालय, मोतिपुरमा कक्षा ९ मा पढ्छन् । उनी अचेल आफ्नो पढाइप्रति चिन्तित् देखिन्छन् । सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेपछि उनी चिन्ता व्यक्त गर्छन् ।

‘सरकारको यो निर्णय राम्रो लागेन । उसै नि हामीकहाँ बिदा भइरहन्छ, त्यसले कोर्ष कहिल्यै सकिन्न,’ निरौला भन्छन्, ‘अब हप्तामा दुई दिन बिदा दिने भनेपछि त यसवर्ष झन् के होला र ?’

उनले प्रधानमन्त्री बालेन शाह राम्रो मान्छे भन्ने सुनेका छन् । तर, अहिले उनै बालेनले गरेको दुई दिन विद्यालय बन्द गर्ने निर्णय उनलाई निको लागेको छैन ।

अछामको साँफेबगर नगरपालिका–१० मा रहेको बेतालमाण्डौ माध्यमिक विद्यालयको कक्षा ८ की छात्रा कृतिका भट्ट आइतबार विद्यालय बन्द हुन लागेकाले बेखुस सुनिन्छिन् । ‘हाम्रो त पढाइ डिस्टर्ब हुने भयो । सरले पूरै पाठ्यक्रम पढाउन सकिन्न भन्नुभएको छ । अब घरमै आफै पढ्नुपर्ने त होला,’ उनले भनिन् ।

उनका अनुसार शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप हुन्छ । पठनपाठन हुँदैन । ‘त्यसैले अब हप्तामा ४ दिन मात्रै पढाइ हुनेभयो,’ उनले सुनाइन् ।

डोटीको पद्म पब्लिक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा दिया कटुवाल आइतबार बिदा हुँदा नकारात्मक असर परेको बताउँछिन् । ‘धेरै बिदा हुँदा कम पठनपाठन हुन्छ । घरमा पनि कम पढिन्छ । कक्षा नै अनियमित भएपछि लापरवाह भइँदो रहेछ,’ उनले भनिन्, ‘बिदाको दिन घरको काम पनि गर्नुपर्ने भएकाले पढ्ने काम त्यसै कम हुन्छ । कम सिकाइ कम हुने डर छ ।’

केही विद्यार्थीलाई घरमा बस्दा धेरै समय मोबाइल, टेलिभिजन वा खेलकुदमा बित्ने भएकाले अध्ययनमा ध्यान कम जाने चिन्ता पनि छ ।

‘परीक्षा नजिकिँदा पाठ दोहोर्‍याउन र तयारी गर्न समस्या हुन सक्छ’, कञ्चनपुरको कृष्णपुर नगरपािलका–४ को समैजी माध्यमिक विद्यालयका १० कक्षाका विद्यार्थी प्रल्हाद राजी भन्छन्, ‘कि त सोही अनुसारको पाठ्यपुस्तक हुनुपर्‍यो, होईन् भने त कोर्ष पूरा हुँदैन ।’

यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी गर्नुपर्ने भएकाले आफ्नो पढाइ बिग्रिनेमा उनी चिन्तित छन् ।

चुरे गाउँपालिका–६ कैलालीको भगवती माध्यमिक विद्यालयकी छात्रा  प्रतिक्षा अर्खाली मगर हप्तामा दुई दिन बिदा दिँदा सबैभन्दा बढी नोक्सानी विद्यार्थीले नै उठाउनुपर्ने बताउँछिन् । ‘शिक्षकलाई त फाइदा नै होला । धेरै दिन बिदा बस्न पाइएला । हामीले त पढ्नु र सिक्नुपर्ने बेला हो । अहिले पढ्न नपाए कहिले पढ्ने ?,’ उनले चिन्ता व्यक्त गर्दै भनिन्, ‘सरकारले यो काम ठीक गरेन ।’

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?