+
+
Shares

अमेरिकाको कोलोराडोमा सांस्कृतिक कार्यक्रमसहित नेपाल डे परेड

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको कोलोराडोको बोल्डर सहरमा २३औँ नेपाल डे परेड २०२६ भव्यताका साथ सम्पन्न भएको छ।
  • नेपाल डे परेडमा नेवार, राई, लिम्बु, मगर, गुरुङ र शेर्पा समुदायले मौलिक बाजा र सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
  • बोल्डर सहरका मेयर आरोन ब्रकेटले काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध रहेको र सांस्कृतिक सम्बन्ध बलियो बनाइराख्नुपर्ने बताए।

३ जेठ, कोलोराडो । नेवार, राई, लिम्बु, मगर, गुरुङ र शेर्पा समुदाय आफ्नो पहिरनसहित परेडमा सहभागीहरू । आफ्नो जातीय र सांस्कृतिक पहिचानसहितका मौलिक बाजा बजाउँदै सांस्कृतिक नृत्यहरूले सडकको माहोल तात्दै गरेको दृश्य ।

यो दृश्य नेपालको नभएर अमेरिकाको कोलोराडोको हो । प्रसंग हो- नेपाल डे परेडको । अमेरिकाको कोलोराडोमा २३औँ संस्करणको नेपाल डे परेड २०२६ यसैगरी भव्यताका साथ सकिएको छ ।

नेपालीभाषी समुदायको भाषा, संस्कृति र भेषभूषाको अमेरिकामा संरक्षण तथा पहिचान गराई नेपाल चिनाउने उद्देश्यले नेपाल डे परेडको सबैभन्दा पहिले कोलोराडोको बोल्डर सहरमा सन् २००४ मा सुरु भएको थियो ।

सोही वर्षदेखि कोलोराडोको बोल्डर सहरमा आयोजना हुँदै आएको नेपाल डे परेडको २३औँ संस्करण शनिबार आयोजना गरिएको हो ।

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएमएफएन) को मुख्य आयोजनामा भएको नेपाल डे परेडमा सहभागीहरूले नेपाल र अमेरिकाको झन्डा फहराउँदै नेपाली पोसाकसहित विभिन्न जातजातिका भेषभूषामा मौलिक नेपाली बाजा बजाएर बोल्डर सहर परिक्रमा गरेका संस्थाका युवा संयोजक तथा कार्यक्रम सञ्चालक विष्णु विवेकले जानकारी दिएका छन् ।

एनआरएनए अमेरिका र हेल्पिङ ह्यान्ड्स हेल्थ एन्ड एजुकेसन संस्थाले सहयोग गरेको कार्यक्रममा बोल्डर सहरका मेयर आरोन ब्रकेट, संस्थापक नारायण श्रेष्ठ, आरएमएफएनकी अध्यक्ष आकृति राई, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्मा, कोलोराडोमा रहेका नेपालीभाषी समुदायका सदस्यहरू, नेपाली घर लगायत विभिन्न सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।

यस वर्षको नेपाल डे परेड कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका बोल्डर सहरका मेयर ब्रकेटले काठमाडौँ महानगर र बोल्डर सहरबीच भगिनी सम्बन्ध कायम रहेको भन्दै नेपाल–अमेरिका सम्बन्धमा दुई सहरको भौगोलिक, प्राकृतिक र सांस्कृतिक सम्बन्ध विशेष रहेको बताए ।

सुरुदेखि अहिलेसम्म आफूले हरेक वर्ष नेपाल डे परेड कार्यक्रम नजिकबाट नियालेको तथा सहभागी भएको भन्दै उनले आगामी वर्षमा पनि यसलाई निरन्तरता दिन र दुई देशबीचको आपसी सांस्कृतिक सम्बन्ध बलियो बनाइराख्नुपर्नेमा जोड दिए । उनले हालै मात्र काठमाडौँ उपत्यकाको भ्रमण गरेको स्मरण गर्दै बोल्डर सहरमा धेरै नेपालीहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको पनि बताए ।

यस्तै, नेपाल डे परेडका संस्थापक तथा विशेष अतिथि नारायण श्रेष्ठले सन् २००४ देखि सुरु गरेको नेपाल डे परेडलाई यस वर्ष पनि निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । यस वर्ष पनि नेपाली पोसाक, नेपालको झन्डा र नेपालका विभिन्न जातजातिको भेषभूषामा नेपाली मौलिक बाजा बजाउँदै बोल्डर सहर परिक्रमा गर्दा अमेरिकामा नेपाल चिनाउन पाउँदा हर्षित भएको टिप्पणी गरे ।

‘नेपालीहरूले नेपालको झन्डासहित बोल्डर सहर परिक्रमा गर्दा मानिसहरूले मोबाइलमा फोटो-भिडियो खिचेर राख्नु गर्वको क्षण हो,’ भन्दै यसलाई आगामी वर्ष पनि निरन्तरता दिनुपर्ने उनले बताए ।

‘हामीले नेपाली झन्डा फहराउँदै नेपाली पोसाकमा, अझ विभिन्न जातजातिले नेपाली मौलिक भेषभूषा लगाएर बाजा बजाउँदै सहर परिक्रमा गर्दा बोल्डरका स्थानीय तथा पर्यटकले मोबाइलमा नेपाल डे परेडको फोटो-भिडियो खिचिरहेका थिए,’ उनले भने, ‘यो हाम्रा लागि सबैभन्दा गर्वको क्षण हो । यो एक दिन भए पनि हामीले २३ वर्षदेखि अमेरिकामा नेपाल चिनाइरहेका छौँ ।’

अहिले अमेरिकाका न्युयोर्क, क्यालिफोर्नियासँगै युरोप, एसिया र अस्ट्रेलियामा पनि नेपाल डे परेडमार्फत नेपाल चिनाइरहेको श्रेष्ठले बताए ।

यस्तै, कार्यक्रममा आयोजक आरएमएफएनकी अध्यक्ष आकृति राईले वर्षौँदेखि अमेरिकामा नेपाल चिनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिन सफल भएकोमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

पछिल्लो समय अमेरिकाका अन्य सहर, युरोपका विभिन्न देश तथा अस्ट्रेलियाका विभिन्न सहरमा पनि नेपाल डे परेड फेस्टिभलहरू हुँदै आएका छन् ।

-नातिबाबु भट्टबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?