फोन वा कम्प्युटरमा केही काम गर्दा स्मार्टफोनको टचक्रिन वा कम्प्युटर किबोर्ड छुनुपर्ने आवश्यकता निकट भविष्यमै हट्ने देखिएको छ।
मेटाले आफ्नो एआई स्मार्ट चस्माका लागि यस्तो नयाँ फिचर सार्वजनिक गरेको छ । जसको मद्दतबाट प्रयोगकर्ताले हावामा औंला चलाएकै भरमा टाइप गर्न सक्नेछन् । यसका लागि कम्पनीले विशेष खालको न्युरल रिस्टब्यान्ड प्रविधि विकास गरेको छ । जसले हातको सानो गतिविधिलाई समेत बुझ्न सक्छ ।
यो प्रविधिले मेटाको एआई स्मार्ट चस्मा रेबन मेटा स्मार्ट ग्लासेससँग काम गर्नेछ। प्रयोगकर्ताले डिस्प्ले, किबोर्ड वा भ्वाइस कमान्ड बिना नै सन्देश पठाउन सक्नेछन्। अनि यो फिचरले ह्वाट्सएप लगायतका विभिन्न मेसेजिङ एपहरूलाई सपोर्ट गर्नेछ।
कम्पनीका अनुसार नाडीमा बाँध्ने उक्त ब्यान्डले हातका नसाबाट निस्कने विद्युतीय संकेतहरू पढ्छ र त्यसकै आधारमा कमान्ड बुझ्ने काम गर्छ। अर्थात् प्रयोगकर्ताले केवल औंलाको हल्का चालबाट टेक्स्ट लेख्न वा एपहरू नियन्त्रण गर्न सक्नेछन्।
मेटाले करिब छ महिनाअघि उक्त स्मार्ट ग्लास सार्वजनिक गरेको थियो र अहिले यसमा एआई आधारित सञ्चार फिचरलाई झनै उन्नत बनाउने काम भइरहेको छ।
नयाँ अपडेटमा सबैभन्दा महत्वपूर्ण फिचर न्युरल ह्यान्डराइटिङ रहेको छ। यसको मद्दतले स्मार्टफोनलाई खल्तीबाट ननिकालेर टाइप गर्न सकिनेछ । यसका लागि कुनै पनि फिजिकल वा डिजिटल किबोर्ड प्रयोग गर्नुपर्ने छैन।
मेटा रेबन डिस्प्ले लगाएको व्यक्तिले हावामै औंला चलाएर टाइप गर्न सक्नेछन् । प्रयोगकर्ताले कुनै कापीमा अक्षर लेखेजस्तै गरी हावामा औंला घुमाउनुपर्नेछ । उदाहरणका लागि, अंग्रेजीको एम लेख्नका लागि हावामै एम को आकार बनाउँदै औंला चलाउनुपर्नेछ ।
यद्यपि यसका लागि मेटाको रेबसन स्मार्ट चश्मासँगै प्रयोगकर्ताले न्युरल रिस्टब्यान्ड पनि लगाउनुपर्ने हुन्छ । यो ब्यान्डले मानिसको हातको जेस्चरलाई ट्रयाक गर्छ, बुझ्छ र त्यसलाई कमान्डमा रूपान्तरण गर्न सक्छ ।
यो फिचरले ह्वाट्सएप, मेसेन्जर, इन्स्टाग्राम तथा एन्ड्रोइड र आईओएसका अन्य मेसेजिङ एपहरूलाई पनि सपोर्ट गर्नेछ ।
प्रतिक्रिया 4