+
+
Shares

प्रधानमन्त्रीले संसद्को अवहेलना गरे : प्रदीप पौडैल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले जानेर बुझेर नै संसद्‌को अवहेलना गरेको आरोप लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले जानाजानी संसदको अवहेलना गरेको आरोप लगाएका छन्।
  • पौडेलले वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थामाथि खतरा उत्पन्न गरिरहेको उल्लेख गरे।
  • उनले संवैधानिक परिषद्को संरचनामा गरिएको परिवर्तनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीमा सबैथोक हुने सोच हाबी भएको बताए।

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले जानेर बुझेर नै संसद्‌को अवहेलना गरेको आरोप लगाएका छन् ।

प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली कमजोरी वा अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी गरेका हुन् ।

उनले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थामाथि नै खतरा उत्पन्न गरिरहेको बताए ।

ठूलो जनसमर्थनका साथ गठन भएको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्नु चिन्ताजनक भएको उनको भनाइ छ ।

महामन्त्री पौडेलले सरकार अत्यधिक रूपमा केन्द्रिकृत हुँदै गएको आरोप पनि लगाए । उनका अनुसार राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण तथा विशेष अनुसन्धान जस्ता संवेदनशील निकायहरूलाई प्रधानमन्त्री केन्द्रित बनाइएको छ । यसले शक्तिको सन्तुलन बिगार्ने खतरा बढाएको उनको भनाइ छ ।

त्यस्तै, उनले संवैधानिक परिषद्को संरचनामा गरिएको परिवर्तनप्रति पनि आपत्ति जनाए । ६ सदस्यीय परिषद्मा ३ जनाले बहुमत पुर्‍याउने व्यवस्था बनाइनु विश्वमै दुर्लभ अभ्यास भएको उनको दाबी छ । ‘प्रधानमन्त्रीमा ‘म नै सबैथोक हुँ’ भन्ने सोच हाबी हुँदै गएको छ,’ उनले भने, ‘यस्तो प्रवृत्तिले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने खतरा हुन्छ ।’

उनले सरकारलाई समयमै सीमाभित्र राख्न नसके लोकतान्त्रिक प्रणाली नै संकटमा पर्न सक्ने चेतावनी दिए। राज्यको चरित्र लोकतान्त्रिक नभए नागरिकले दुःख पाउने र विधिको शासन कमजोर हुने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?