News Summary
Generated by OK AI. Editorially reviewed.- अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले मानव पूर्खाहरूको सीधा उभिएर हिँड्न थाल्नु र मस्तिष्कको आकारले दायाँहाते हुनुको मुख्य कारण भएको पत्ता लगाएका छन्।
- ४१ प्रजातिका २ हजार २५ वटा बाँदरहरूको तथ्याङ्क विश्लेषण गरी हातको प्राथमिकता निर्धारण गर्ने कारकहरू परीक्षण गरिएको थियो।
- डाक्टर थोमस ए. पुस्चेलले भने, "मानिसलाई अन्य जीवभन्दा फरक बनाउने विशेषताहरू सँगै हातको प्राथमिकता पनि जोडिएको छ"।
४ जेठ, काठमाडौं । मानव उद्विकासको इतिहासमा वैज्ञानिकहरूलाई लामो समयदेखि अल्झाउँदै आएको एउटा ठूलो रहस्यको समाधान पत्ता लागेको छ।
संसारका विभिन्न संस्कृति र भूगोलका करिब ९० प्रतिशत मानिसहरू किन दायाँहाते मात्र हुन्छन् र अन्य कुनै पनि प्रजातिका बाँदर वा वनमानिसमा यस्तो चरम असमानता किन पाइँदैन भन्ने रहस्यको कडी वैज्ञानिकहरूले फेला पारेका हुन्।
‘युनिभर्सिटी अफ अक्सफोर्ड’ का अनुसन्धानकर्ताहरूको नयाँ अध्ययनअनुसार मानव पूर्खाहरू दुई खुट्टाले सिधा उभिएर हिँड्न थाल्नु र मानव मस्तिष्कको आकारमा भएको तीव्र विकास नै मानिसहरू अत्यधिक दायाँहाते हुनुको मुख्य कडी हो।
‘प्लोस बायोलोजी’ जर्नलमा प्रकाशित यस प्रतिवेदनका लागि अक्सफोर्ड विश्वविद्यालयका डा. थोमस ए. पुस्चेल र रेचल एम. हुरविट्स तथा रिडिङ विश्वविद्यालयका प्राध्यापक क्रिस भेन्डिट्टी सम्मिलित टोलीले ४१ फरक–फरक प्रजातिका २ हजार २५ वटा बाँदरहरूको तथ्याङ्क विश्लेषण गरेका थिए।
वैज्ञानिकहरूले हातको प्राथमिकता निर्धारण गर्ने सम्भावित कारकहरू जस्तै– औजारको प्रयोग, खानपान, बासस्थान, सामाजिक संरचना, मस्तिष्कको आकार र हिँडडुलको ढाँचालाई एउटै गणितीय मोडेलमा राखेर परीक्षण गरेका थिए।
सुरुमा अन्य जीवहरूको तुलनामा मानिस मात्रै एक्लो अपवादका रूपमा अचम्मको दायाँहाते देखियो। तर, जब अनुसन्धानकर्ताहरूले आफ्नो मोडेलमा मस्तिष्कको आकार र दुई खुट्टाले हिँड्ने क्षमताको सूचक (हात र खुट्टाको लम्बाइको अनुपात) लाई समावेश गरे, तब मानिस कुनै अनौठो अपवाद नभएर प्राकृतिक उद्विकासकै एउटा हिस्सा भएको प्रमाणित भयो।
अर्थात्, सीधा उभिएर हिँड्ने बानी र ठूलो मस्तिष्कको समिश्रणले नै मानिसमा दायाँ हातको प्रयोग गर्ने प्रवृत्तिलाई तीव्र रूपमा बढाएको पाइयो।
यस अध्ययनले लोप भइसकेका मानव पूर्खाहरूमा हातको प्राथमिकता कस्तो थियो होला भनी अनुमान समेत गरेको छ। जसअनुसार ‘आर्डिपिथेकस’ र ‘अस्ट्रालोपिथेकस’ जस्ता प्रारम्भिक मानव पूर्खाहरूमा आजका आधुनिक वनमानिस जस्तै दायाँ हातप्रति सामान्य झुकाव मात्र थियो।
तर, जब ‘होमो’ वंशको उदय भयो, तब यो प्रवृत्ति बलियो बन्दै गयो। ‘होमो एर्गास्टर’, ‘होमो इरेक्टस’ र ‘निएन्डरथल’ प्रजातिहरूमा दायाँ हातको प्राथमिकता क्रमिक रूपमा बढ्दै गएर अन्ततः आधुनिक मानवमा यो चरम अवस्थामा पुगेको देखिन्छ।
यस उद्विकासको कडीमा एउटा रोचक अपवाद पनि फेला परेको छ। इन्डोनेसियामा पाइएको र सानो कदका कारण ‘हबिट’ उपनाम दिइएको ‘होमो फ्लोरेसिन्सिस’ प्रजातिमा दायाँ हातको यस्तो कडा वर्चस्व थिएन। वैज्ञानिकहरूका अनुसार यो प्रजातिको मस्तिष्क तुलनात्मक रूपमा सानो थियो र उनीहरू सीधा हिँड्नुका साथै रुख चढ्ने शारीरिक बनावटमै सीमित भएकाले उनीहरूमा दायाँहाते प्रवृत्ति बलियो हुन पाएन।
वैज्ञानिकहरूका अनुसार यो प्रक्रिया दुई चरणमा पूरा भएको हो। पहिलो चरणमा सीधा उभिएर हिँड्न थालेपछि मानिसका हातहरू हिँड्ने कामबाट मुक्त भए, जसले गर्दा हातलाई अन्य विशेष र फरक–फरक काममा प्रयोग गर्ने चुनौती र आवश्यकता थपियो। दोस्रो चरणमा जब मानव मस्तिष्क ठूलो र अझ जटिल बन्दै गयो, तब दायाँ हातको प्राथमिकता झनै बलियो र व्यापक बनेर गयो।
मुख्य अनुसन्धानकर्ता डा. थोमस ए. पुस्चेलका अनुसार मानव इतिहासमै पहिलो पटक दायाँहाते हुनुका प्रमुख परिकल्पनाहरूलाई एउटै खाकामा राखेर परीक्षण गरिएको हो। यस खोजले मानिसलाई अन्य जीवभन्दा फरक बनाउने मुख्य विशेषताहरू (सीधा हिँड्नु र ठूलो दिमाग हुनु) सँगै हाम्रो हातको प्राथमिकता पनि जोडिएको देखाएको छ।
यद्यपि, उद्विकासको यो लामो दौडमा ‘बायाँहाते’ हुनुको अस्तित्व किन र कसरी जोगिइरह्यो र मानव संस्कृतिले यसलाई कसरी प्रभाव पार्यो भन्नेबारे भविष्यमा थप अनुसन्धान आवश्यक रहेको वैज्ञानिकहरूले बताएका छन्।
प्रतिक्रिया 4