+
+
Shares

प्रधानमन्त्री बालेनको पोस्टपछि डीडीसीबारे चासो बढ्यो, के–के छ उत्पादन ?

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ जेठ ४ गते २०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो फेसबुक पेजमा डीडीसीको चीज खाइरहेको फोटो पोस्ट गरेपछि त्यो सामाजिक सञ्जालमा व्यापक चर्चा भयो।
  • डीडीसीले दूध, दही, घिउ, चीज, पनिरलगायत विभिन्न दूधजन्य उत्पादन बजारमा ल्याउने गरेको छ र हजारौं किसानबाट दूध संकलन गर्छ।
  • डीडीसीका उत्पादनहरू गुणस्तर नियन्त्रण, सरकारी मापदण्ड पालना र पारदर्शिताका कारण उपभोक्ताले विश्वास गर्ने गरेका छन्।

यतिबेला शहरमा केको चर्चा छ ? पक्कै पनि चीजको । त्यसो त नेपाली खान्कीमा चीज खासै प्रयोग हुँदैन । प्रयोग नभएर के भो त ? उत्पादन हाम्रै घर आँगनमा हुन्छ ।

त्यही चीजले यसपाली व्यापक चर्चा पायो, सोसल मिडियामा । यसको सूत्रधार हुन्, प्रधानमन्त्री बालेन्द्र शाह । उनले आफ्नो फेसबुक पेजमा चीज खाइरहेको फोटो पोस्ट गरे । त्यो चीज डीडीसीको थियो ।

लगत्तै सो फोटो भाइरल भयो । मान्छेहरूले सामाजिक सञ्जालमै रमाइलो गरे, ‘खै कतिबेला बालेनले चीजको फोटो राखेछन्, उठेर खोज्न जाँदा बजारमा सकिसकेको रहेछ ।’

सम्भवत देशको कार्यकारी प्रमुखले कुनै ब्रान्ड एम्बासडरको शैलीमा आफ्नो उत्पादनको विज्ञापन गरेको यो पहिलो अवसर होला।

उनको विज्ञापनपछि मान्छेहरू डीडीसीको उत्पादनमा चासो देखाउन थाले । सरकारी स्वमित्वको यस संस्थानबाट दूधजन्य परिकार उत्पादन हुँदै आएका छन् । बिहान–बिहान तपाईं हाम्रो घरमा पुग्ने दूध त छँदैछ ।

हाल डीडीसीले दूध, दही, घिउ, चीज, पनिरलगायत विभिन्न दूग्धजन्य उत्पादन बजारमा ल्याइरहेको छ । डीडीसीले हजारौं दुग्ध किसानबाट दूध संकलन गर्छ र त्यसबाट दूधजन्य उत्पादन बनाएर बजारमा ल्याउने गर्छ ।

डिडिसीका अन्य उत्पादनहरू

४ प्रकारका दूध

–निलो प्याकेट

–हरियो प्याकेट

–पहेंलो ‘काउ मिल्क’

डबल टोन– टी मिल्क (१.५ प्रशित फ्याट भएको)

अन्य डेरी उत्पादनहरू
–चीज

–पनिर

–बटर

–दही

–लस्सी

–मोही

–आइसक्रिम

–केसर मिल्क आदि

प्रोसेस्ड मिल्क नै डीडीसीको सबैभन्दा ठूलो मार्केट सेयर भएको उत्पादन हो । अन्य उत्पादनहरू पनि बिक्री हुन्छन् तर दूधको मात्रा सबैभन्दा ठूलो छ ।

कति विश्वासिलो ?

डीडीसीका उत्पादनहरूलाई उपभोक्ताले आज पनि विश्वास गर्ने मुख्य कारण यसको गुणस्तर नियन्त्रण प्रणाली, सरकारी मापदण्डको पालना र उत्पादन प्रक्रियामा अपनाइने पारदर्शिता भएको संस्थानका बजार विभाग प्रमुख सञ्जिव झा बताउँछन् ।

उनी भन्छन् ‘डीडीसी नेपाल सरकार अन्तर्गत सञ्चालन हुने संस्था भएकाले यसले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेका खाद्य स्वच्छता निर्देशिका र ‘फुड ल’लाई कडाइका साथ पालना गर्दै उत्पादन गर्छ ।’

किसानबाट संकलन गरिएको दूधलाई सुरुमा चिस्यान केन्द्रमै परीक्षण गरिन्छ । फ्याट र एसएनएफको मात्रा मापदण्डअनुसार नभए दूध स्वीकार गरिँदैन ।

त्यसपछि फ्याक्ट्रीमा पुनः परीक्षण हुन्छ र अन्तिम उत्पादन तयार भएपछि पनि ल्याब परीक्षण गरिन्छ । डीडीसीको आफ्नै केन्द्रीय प्रयोगशाला रहेकाले बजारमा पुगेका उत्पादन समेत नमुना संकलन गरेर नियमित परीक्षण गर्ने व्यवस्था रहेको झाले बताए ।

यदि कतै गुणस्तरमा समस्या देखिए कडा कारबाहीदेखि कानुनी प्रक्रिया सम्मको व्यवस्था भएकाले उत्पादनमा कुनै प्रकारको मिलावट वा सम्झौताको सम्भावना नरहने झाको दाबी छ ।

डीडीसीले बजारमा पठाउने दूध पनि एउटै प्रकारको नभई उपभोक्ताको आवश्यकता अनुसार चार प्रकारमा उपलब्ध गराउँदै आएको छ । निलो, हरियो, पहेंलो (काउ मिल्क) र डबल टोन अर्थात् ‘टी मिल्क’ गरी फरक फ्याट प्रतिशत भएका दूध बजारमा पठाइन्छन् ।

काठमाडौँ उपत्यकामा मात्र दैनिक ६५ हजारदेखि ७० हजार लिटरसम्म दूध वितरण हुने गरेको छ, जुन निजी क्षेत्रको तुलनामा निकै ठूलो परिमाण हो । बिहान केही समयपछि नै डीडीसीको दूध बजारमा ‘सोल्ड आउट’ हुनु उपभोक्ताको भरोसाको संकेत मानिन्छ ।

डीडीसीको अर्को विशेषता भनेको ‘नो रिटर्न पोलिसी’ भएको झा बताउँछन् । ‘बजारमा पठाइसकेपछि बिक्री नभएको दूध वा अन्य उत्पादन फिर्ता लिएर पुनः बजारमा पठाइँदैन । यसले उपभोक्तासम्म पुग्ने उत्पादन ताजा र सुरक्षित रहोस् भन्ने सुनिश्चित गर्ने संस्थाको प्रयास देखाउँछ । यद्यपि यस नीतिका कारण व्यापारीहरूले अतिरिक्त स्टक राख्न जोखिम मान्ने र निजी क्षेत्रजस्तो लचिलो व्यापारिक अभ्यास गर्न नसकिने अवस्था पनि रहेको छ।’

त्यस्तै खुला तथा अनौपचारिक डेरी बजारसँग प्रतिस्पर्धा गर्दा कर, भ्याट र बिलिङका कारण मूल्यमा फरक पर्न जाने भएकाले औपचारिक संस्थाको रूपमा डीडीसी केही चुनौतीमा पर्ने गरेको झाले बताए ।

दूध तथा डेरी उत्पादनको गुणस्तर कायम राख्न ‘कोल्ड चेन’ अर्थात् निश्चित तापक्रममा भण्डारण अत्यन्त आवश्यक हुने हुन्छ । दूधलाई चार डिग्री सेल्सियस तापक्रममा राखे ७२ घण्टासम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ ।

गुणस्तर नियन्त्रण, सरकारी निगरानी र लामो समयदेखिको उपभोक्ता विश्वासका कारण डीडीसी आज पनि नेपाली डेरी बजारको महत्वपूर्ण र भरोसायोग्य ब्रान्डका रूपमा स्थापित देखिन्छ । बालेन शाहको पोस्टपछि त्यो चर्चा फेरि एकपटक सतहमा आएको छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?