News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद क्रान्तिशिखा धितालले गुणस्तरीय शिक्षा, सीप, सिर्जनशीलता र वास्तविक सिकाइलाई केन्द्रमा राख्ने साहस गर्न सरकारलाई सुझाएकी छिन्।
- धितालले विद्यार्थीलाई सक्षम बनाउन नियमहरू बनाउने तर थिच्नका लागि नियम लागू नहुने धारणा राखिन्।
- उनले त्रिविमा ८० प्रतिशत भौतिक उपस्थितिको नियमले मात्र ज्ञान मापन गर्न नसकिने र सोच आधुनिक हुनुपर्ने बताएकी छिन्।
४ जेठ, काठमाडौं । रास्वपा सचेतक क्रान्तिशिखा धितालले गुणस्तरीय शिक्षा, सीप, सिर्जनशीलता र वास्तविक सिकाइलाई केन्द्रमा राख्ने साहस गर्न सरकारलाई सुझाएकी छिन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले विद्यार्थीहरूलाई सक्षम बनाउनका लागि नियमहरू बनाउनुपर्ने धारणा राख्दै थिच्नका लागि नियम लागू हुन नहुने बताइन् ।
‘नियमहरू विद्यार्थीलाई सक्षम बनाउनका लागि हुनुपर्छ, थिच्नका लागि होइन,’ सचेतक धितालको भनाइ छ ।
त्रिविमा प्रत्येक सेमेस्टरमा ८० प्रतिशत भौतिक उपस्थिति हुने नियमको उद्देश्य राम्रो भएको भए पनि त्यसले मात्रै ज्ञान मापन गर्न सकिन्छ ? भन्ने उनको प्रश्न थियो ।
‘त्रिभुवन विश्वविद्यालयमा प्रत्येक सेमेस्टरमा ८० प्रतिशत भौतिक उपस्थितिको नियमको उद्देश्य राम्रो थियो नियमितता र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु । तर सोचौ त भौतिक उपस्थितिको प्रतिशतले मात्रै ज्ञान मापन गर्न सकिन्छ ?,’ सचेतक धितालले प्रश्न गरिन् ।
विश्व खुला ज्ञानको युगमा प्रवेश गरिसकेको बताउँदै उनले अझै पनि हामी विद्यार्थीको भौतिक उपस्थिति नै गन्ने मानसिकतामा अल्झिरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।
‘यदि विद्यार्थी कक्षामा बसेर पनि सिकिरहेको छैन भने शत प्रतिशत उपस्थिति पनि निरर्थक हुन्छ,’ उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय अभ्यास स्मरण गराउँदै उनले विकल्प र प्रविधिमा पहुँचको विषयमा पनि ध्यान दिन आग्रह गरिन् । ‘विकल्प पनि छ, प्रविधिमा पहुँच पनि छ। केवल नियम नक्कल गरेर शिक्षा आधुनिक हुँदैन, सोच आधुनिक हुनुपर्छ,’ उनले भनेकी छिन् ।
उनले सरकारसँग थप आग्रह गरेकी छिन्, ‘म सरकार र विश्वविद्यालय प्रशासनलाई आग्रह गर्न चाहन्छु उपस्थितिको कठोर गणनाभन्दा माथि उठेर, गुणस्तरीय शिक्षा, सीप, सिर्जनशीलता र वास्तविक सिकाइलाई केन्द्रमा राख्ने साहस गरियोस् ।’
प्रतिक्रिया 4