+
+
Shares

उपासना अभिनित ‘जलाकी’ छायांकन टुंगियो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १३:३९
'जलाकी' को एक दृश्यमा सोनम तोप्देन र उपासनासिंह ठकुरी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अशोक थापामगर निर्देशित फिल्म 'जलाकी'को ३९ दिनमा छायांकन सकिएको छ र पोस्ट-प्रोडक्सन कार्य पूरा भइसकेको छ।
  • फिल्म 'जलाकी'को शीर्ष भूमिकामा उपासनासिंह ठकुरी छन् र यो उनको निर्देशक मगरसँग दोस्रो सहकार्य हो।
  • 'जलाकी'ले मगर र गुरुङ समुदायको संस्कृतिलाई झल्काउने छ र रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखरामा छायांकन गरिएको छ।

काठमाडौं । अशोक थापामगर निर्देशित फिल्म ‘जलाकी’को छायांकन सकिएको छ । शनिबार पोखरा अन्तर्राष्ट्रिय संग्रहालयमा अन्तिम दिनका दृश्य खिच्दै ३९ दिनमा छायांकन सकिएको हो ।

त्यहाँ गीत खिचिएको थियो । पोस्ट-प्रोडक्सन कार्य सकिएको निर्देशक मगरले जनाए । चाँडै प्रदर्शन मिति घोषणा गरिने जनाइएको छ । यसको शीर्ष भूमिकामा उपासनासिंह ठकुरीले अभिनय गरेकी छन् ।

‘खुस्मा’पछि निर्देशक मगरसँग उनको यो दोस्रो सहकार्य हो । अघिल्लो फिल्मबाट उनले उत्कृष्ट अभिनेत्री विधामा राष्ट्रिय चलचित्र पुरस्कार जितेकी थिइन् । ‘जलाकी’लाई लिएर उपासना खुसी छिन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन, लुनिभा तुलाधर, संगीता थापा, भावना मगर, राज काउचाको पनि अभिनय छ ।

विशेष भूमिकामा विजय लामा छन् । बालकलाकारमा मुन्जन थापा मगर, नुलुम्मा वान्तवा राई, रिन्ची धनहा मगर छन् । यसबाट मिस सिक्किमको उपाधि जितेकी साहारा हाङमा लिम्बुले डेब्यू गरेकी छन् ।

‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ । कसैको सम्झना र मायाको प्रतिकको रुपमा जलाकी बनाउने गरिन्छ । सोही कथामा निर्माण भएको यो फिल्मको छायांकन पहिलो, दोस्रो र तेस्रो गर्दै तीन चरणमा गरिएको हो ।

रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भूभागमा छायांकन गरिएको फिल्मले मगर र गुरुङ समुदायको संस्कृतिलाई झल्काउने छ । निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?