News Summary
Generated by OK AI. Editorially reviewed.- आज जेठ ७ गते बुवा गोपाल योञ्जनको २९औं पुण्यतिथि हो र उहाँको सांगीतिक योगदानलाई स्मरण गर्दै परिवारले उचित सम्मान र संरक्षणको आवश्यकता औंल्याएको छ।
- गोपाल योञ्जनका गीतहरूमा आधारित एआई निर्मित भिडियोहरूले सिर्जनाकर्तालाई उचित श्रेय नदिई विवाद उत्पन्न गरेको र परिवारले यसप्रति सचेत रहन आग्रह गरेको छ।
- गोपाल योञ्जन फाउण्डेशनले २०२५ मा नेपाल, भारत र यु.एस.ए. मा १६ वटा कार्यक्रम गरी उहाँको जीवन र सांगीतिक योगदान उजागर गरेको छ।
आज जेठ ७ गते, बुवा गोपाल योञ्जनको २९औं पुण्यतिथि। उहाँले नेपाली संगीतको स्वरूप, मौलिकता र भविष्य निर्माणमा पुर्याउनुभएको अमूल्य योगदानलाई स्मरण गर्न र नेपाली संगीतलाई माया गर्ने सम्पूर्णलाई केही स्मरण गराउन; केवल नेपाली संगीतको प्राणप्रतिष्ठा मात्र नगरी, ‘गोपाल सङ्गीत’ ले हाम्रो समाज, चेतना र अस्तित्वमा पारेको गहिरो प्रभावबारे केही पोख्न अनि गोपाल योञ्जनको विरासतप्रति वर्तमान पुस्ताका सम्बन्धित सबैलाई आत्मचिन्तन र भावी पुस्तालाई दिशानिर्देश गर्ने अभिभारा रहेको बारे झकझकाउन मनलाग्यो। अनि उहाँलाई साँच्चै कदर गर्ने हो भने अहिलेको परिवेशमा केही अनुशासन र संवेदनशीलताका साथ अघि बढ्नुपर्ने आवश्यकतालाई औंल्याउन उचित लाग्यो।
हालै, बुवाद्वारा लिखित, संगीत तथा स्वरबद्ध नेपाल र नेपालीत्वप्रति समर्पित गीत– ‘बनेको छ पहराले यो छाती मेरो’ को नेपालका वर्तमान प्रधानमन्त्री बालेन शाहले गाइरहेको एआईको प्रयोगद्वारा निर्मित भर्सन धेरैले शेयर गरिरहेको नोटिस गरें! मलाई यो गीत साथीहरूले मेसेन्जर मार्फत पठाएका पनि छन्। कतिले यस गीतका सर्जकलाई २१ तोपको सलामी भन्दै पुन: शेयर गरिरहेका रहेछन्। तर, ती शेयर गरिरहेका र रमाइरहेका मध्ये कतिलाई यस गीतका सर्जकबारे थाहा होला– अथवा जान्ने चाह होला, थाहा पाउन मनलाग्यो।
सरसर्ती हेर्दा सो गीतको कमेन्ट बक्समा धेरैजसो कमेन्ट प्रधानमन्त्रीकै वाहवाहीमा केन्द्रित रहेको पाएँ। कतिले चाहिं सो एआई भिडियोका निर्माणकर्तालाई धन्यवाद दिइरहेको पाएँ। थोरैले मात्र गीतका सर्जकका बारे बयान गरेको पाएँ।
बुवाका अन्य लोकप्रिय गीतहरू पनि यस प्रकारका एआई–निर्मित भिडियोहरूको प्रहारबाट अछुतो रहेका छैनन्। भर्खरै मात्र बुवाले मेरी आमाका लागि लेखी, संगीतबद्ध गर्नुभएको गीत, ‘यति चोखो, यति मीठो दिउँला तिमीलाई माया’ का अनगिन्ती एआई–निर्मित भिडियोहरू हामीले युट्युबबाट स्ट्राइक–डाउन गर्नुपरेको थियो। यस गीतका गीतकार तथा संगीतकार नै भिडियो निर्माताहरू आफैं भएको दाबी गर्नेहरूको पनि कमी थिएन।
यस्ता उट्पट्याङ सामग्रीहरूको पछाडि हामी परिवार मात्र निरन्तर ‘मोरल पुलिस’ बनेर लागिरहनु पनि व्यावहारिक रूपमा सम्भव छैन। दुःखद पक्ष के छ भने, यस्ता एआई भिडियो निर्माताहरू निःसन्देह केही हदसम्म शिक्षित र प्रविधिमा दक्ष होलान्, तर सामान्य सुझबुझ, नैतिक चेतना र आधारभूत शिष्टताको क्षेत्रमा भने कमजोर देखिन्छन्। स्रष्टालाई उचित श्रेय र सम्मान दिने तथा आवश्यक प्रक्रिया पूरा गर्ने पक्षलाई बेवास्ता गर्ने प्रवृत्ति त छँदैछ, त्यसभन्दा पनि गम्भीर कुरा उनीहरूमा मौलिक सिर्जनालाई बुझ्ने चाह र संवेदनशीलताको अभाव पाउँछु। अनि, यस बेपरवाह मनोवृत्तिले समग्र नेपाली संगीत जगतमा कस्तो प्रभाव पारिरहेको छ र एक चेतनशील समाजका रूपमा हामी कहाँनेर चुकिरहेका छौं भनी सोच्न म बाध्य हुन्छु।
कोही स्रष्टाको सिर्जनालाई उचित प्रक्रिया पूरा गरी, उपयुक्त तरिकाले, उचित कारणका लागि प्रस्तुत गर्नमा केही आपत्ति हुँदैन। हरेक पुस्तालाई आफ्नै स्वाद र शैली अनुसार सांगीतिक प्रयोग गर्ने स्वतन्त्रता पक्कै हुन्छ, तर त्यसको अर्थ स्रष्टाको कृतिलाई नै तोडमोड गरी प्रस्तुत गर्ने अधिकार कसैलाई पनि हुँदैन। यसो गर्दा हाम्रो सांगीतिक सम्पदा र इतिहासप्रति नै अन्याय हुन जान्छ।
कुनै स्रष्टाको गरिमामय सिर्जनासँग खेलबाड गर्नुअघि, कन्टेन्ट क्रिएटरहरूले सम्बन्धित स्रष्टाका बारेमा गहिरो अध्ययन र अनुसन्धान गर्न आवश्यक हुन्छ भनी आग्रह गर्न चाहन्छु। सबैको तर्फबाट म बोल्न नसके तापनि गोपाल योञ्जनकी छोरी र एक आधिकारिक सरोकारवाला व्यक्तिको हैसियतले केही कुरा स्पष्ट राख्न चाहन्छु, ‘गोपाल संगीत’का विविध आयामलाई बुझ्ने प्रयास गरौं।
हुनतः हाम्रो देश र समाजले आफ्नो कला, संगीत र साहित्यमा बौद्धिक, पूर्वाधारगत र आर्थिक लगानी नगरेका कारण यस प्रकारको स्थिति आइपरेको छ भन्दा अत्युक्ति नहोला। कला, साहित्य र संगीतका लागि समर्पित विभिन्न संघ–संस्थाबाट पनि दीर्घकालीन र दिगो रणनीति आजसम्म पनि निर्माण भएको छ जस्तो लाग्दैन। संगीत शिक्षणको सन्दर्भमा, चाहे काठमाडौं युनिभर्सिटी होस् वा ललितकला क्याम्पस जहाँ संगीतको विशेष अध्ययन गराइन्छ, त्यहाँ नेपाली संगीतको प्रणालीबद्ध विकासक्रम र स्रष्टाहरूको योगदानबारे न पर्याप्त अध्ययन भएको देखिन्छ, न व्यवस्थित अनुसन्धान नै।
स्कूल तथा कलेजका पाठ्यक्रमहरूमा पनि साँघुरो दृष्टिकोण र सोचका आधारमा चयन गरिएका कथा, कविता र गीतहरू मात्र समावेश गरिएको अवस्था पाइन्छ। आशा गरौं, वर्तमान सरकारले विभिन्न क्षेत्रका कमी–कमजोरीहरूलाई सुधार गर्ने प्रयास गरिरहेको वेगमा यो क्षेत्र पनि समेटिनेछ। विशेषतः राष्ट्रप्रमुख स्वयं संगीतसँग नजिक रहेको व्यक्तित्व भएकाले यसतर्फ गम्भीर ध्यानाकर्षित हुनुपर्ने हो! यसैगरी, सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले अब उप्रान्त केवल औपचारिकता वा राजनीतिमा मात्र सीमित नरही नेपाली गीत–संगीतको वास्तविक उन्नतिमा ध्यान पुर्याउनेछ भन्ने आशा गरौं।
निजी क्षेत्रद्वारा आयोजित विभिन्न रियालिटी शोहरूमा पनि बुवाका केही सीमित गीतहरू मात्र दोहोरिने गरेको पाइन्छ। उहाँको संगीतको भण्डारलाई व्यवस्थित रूपमा अन्वेषण गर्ने वा विस्तृत रूपमा प्रस्तुत गर्ने कुनै संरचित प्रयास भएको देखिंदैन। ध्यान धेरैजसो तडकभडक र दृश्यात्मक आकर्षणमै केन्द्रित भएको अनुभूति हुन्छ, जबकि यस्ता कार्यक्रमहरूको मेरुदण्ड नै नेपाली गीत–संगीत भएकाले प्रत्येक एपिसोडले यसको सही डिजिटल दस्तावेजीकरण गर्दै जानु अत्यन्त आवश्यक छ।
हाम्रो चाहना गोपाल योञ्जनका सिर्जनाहरूको सही सम्बर्धन, व्यवस्थापन र प्रसारण होस् भन्ने हो। यसका लागि नि:सन्देह कुशल, समर्पित र निष्ठावान प्रतिभाहरू आवश्यक पर्छन्। बुवाकै सिद्धान्त अनुसार हामी दक्ष नव–प्रतिभा तथा ओझेलमा परेका कलाकारहरूसँग सहकार्य गर्नुलाई आफ्नो दायित्व र धर्म ठान्छौं।
सही अर्थमा कलाकारको परिभाषा सुहाउँदो संगीत साधकहरूको खोजीमा हामी निरन्तर छौं। यस प्रक्रियामा धेरै कुशल, दक्ष र व्यावसायिक कलाकार तथा नव–प्रतिभाहरू हाम्रो यात्रामा जोडिंदै आएका छन्। त्यस्तै, कोही निर्धारित मापदण्डसम्म पुग्न सक्दैनन् वा आफ्नो प्रतिबद्धता पूरा गर्न असमर्थ हुन्छन्।
आजको परिवेशमा हामीले अपेक्षा गरेका सबै गुण एकैठाउँमा भेटिनु सहज छैन भन्ने यथार्थप्रति हामी पूर्ण रूपमा सचेत छौं। तथापि, गोपाल योञ्जनको सांगीतिक योगदानको उचित सम्मान र संरक्षण सुनिश्चित गर्न यी न्यूनतम र अनिवार्य शर्तहरू हुन् भन्ने हाम्रो स्पष्ट धारणा छ।
संगीतका सबै आयाममा आफ्नो अविस्मरणीय छाप छोड्न सफल, बहुआयामिक प्रतिभा, गीतकार, संगीतकार, गायक, वाद्यवादक, संगीत संयोजक तथा प्राध्यापक गोपाल योञ्जनको जीवन र सांगीतिक योगदानलाई वर्तमान पुस्तासामु उजागर गर्ने उद्देश्यका साथ हामीले उहाँको निधनपश्चात् विभिन्न कार्यक्रम गर्दै आइरहेका छौं। यस कार्यमा विशेषतः मेरी आमाको निरन्तर जोड गोपाल योञ्जनको जीवन र सांगीतिक योगदानको सही र समग्र दस्तावेजीकरण हुनुपर्छ भन्नेमा केन्द्रित रहँदै आएको छ।
वास्तवमा, राज्य वा जिम्मेवारी वहन गर्ने कुनै औपचारिक निकायको पर्याप्त उपस्थिति नभएको अवस्थामा, हामी परिवार स्वयंले उहाँको योगदानलाई अभिलेखीकरण गर्ने अभिभारा पनि बोक्दै आएका छौं। यस क्रममा विभिन्न नाम कहलिएका प्रकाशकहरूबाट “हामी गोस्ट राइटरको व्यवस्था गरिदिन्छौं, तपाईंहरूले केवल उहाँका कथा सुनाइदिनुस्” भन्ने प्रस्ताव पनि नआएको होइन।
तर यस्तो एकपक्षीय दृष्टिकोणले गोपाल योञ्जनको विशाल कार्य–क्षेत्रलाई न्याय गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेर हामीले त्यस प्रकारका प्रस्तावहरू अस्वीकार गर्न बाध्य बन्यौं। र फलस्वरूप धेरै वर्ष लगाएर अनुसन्धान गरी पुस्तक प्रकाशन पनि गर्यौं। यस्ता एकपक्षीय दृष्टिले तयार गरिएका केही पूर्वाग्रही प्रकाशनहरू बजारमा उपलब्ध नभएका पनि होइनन्।
मेरो प्रश्न यस्ता प्रयासहरू गर्नेहरूप्रति एउटै छ, जुन मैले पहिले पनि उठाइसकेकी छु– तपाईंहरूको उद्देश्य नेपाली गीत–संगीतको इतिहासलाई बाँड्नु हो कि भाँड्नु हो? यस्तो अवस्थामा हामी केवल पाठक, श्रोता र दर्शक वर्गको विवेकमाथि भरोसा राख्न बाध्य छौं।
आज बुवाको २९औँ पुण्यतिथिको अवसरमा, नेपाली डायस्पोरामा हाम्रा केही अनुभवहरू पनि साझा गर्न मन लाग्यो। गोपाल योञ्जनको योगदानबारे वर्तमान पुस्तालाई पुन: बुझाउने हाम्रो निरन्तर प्रयासका साथ, अंग्रेजी वर्ष २०२५ मा हामीले (गोपाल योञ्जन फाउण्डेशन, नेपाल र गोपालय, यु.एस.ए.) नेपालदेखि भारतहुँदै यु.एस.ए.सम्म– उनका जीवन र सांगीतिक योगदानबारे प्रकाशित नेपाली तथा अंग्रेजी पुस्तकहरूको लोकार्पण, पुस्तक चर्चा तथा सांगीतिक प्रस्तुति गरी जम्मा १६ वटा कार्यक्रम प्रस्तुत गरेका थियौं। यस सांगीतिक पुस्तक यात्राको तयारीको क्रममा यु.एस.ए.का केही अनुभवी र सिपालुमा मानिएका इभेन्ट अर्गनाइजर हरूले सल्लाह दिएका थिए, “दर्शकले जस्तोसुकै कार्यक्रमबाट पनि भरपूर ‘इन्टरटेन्मेन्ट’ खोज्छन्। कलाकारसँग सँगै उफ्रिन, गाउन र नाच्न पाएमा मात्रै कार्यक्रम सफल भएको मानिन्छ।
टिकट दर केही भी.आई.पी. बाहेक सकेसम्म सस्तो हुनुपर्छ, ३०/४० डलर टिकट राखे भने त डिनर एन्ड ड्रिंक्स नराखी हुन्न– नत्र दर्शक आउँदैन। टिकट बेच्नुपर्ने हो भने यु.एस.का हरेक स्टेटमा खुलेका संघ–संस्थाका टाउकेहरूलाई पत्र, फोन र विशेष निम्तो नदिई सुखै हुन्न। त्यसमा पनि धेरैजसो कार्यक्रममा आसन ग्रहण गराएर खादा–माला नलगाई हुन्न, अनि माइक थमाएर दुई–चार शब्द बोल्न नदिए कार्यक्रमको औपचारिकता पूरा भएको मानिंदैन!”
यु.एस.ए.मा तीन पटक कार्यक्रम प्रस्तुत गरिसकेका एक प्रतिष्ठित गायकका अनुसार, “कार्यक्रम कुन समूह, पार्टी, जाति वा प्रान्तले आयोजना गरेको हो, र कलाकार स्वयं कुन पृष्ठभूमिबाट आएको हो भन्ने आधारमा कार्यक्रमलाई सफल वा असफल ठहर गर्ने प्रवृत्ति दिनानुदिन बढ्दै गएको छ।” उनी थप भन्छन्, “नेपाली दर्शक स्वयं विभाजित छन्। दोहोरी मन पराउनेहरू प्रायः दोहोरी बाहेक अन्य विधा सुन्न र बुझ्न इच्छुक हुँदैनन्। भारतीय दर्शकको उदाहरण लिनुपर्दा, जुनसुकै प्रान्त वा विधाका कलाकार भए पनि दर्शक एकजुट भएर कार्यक्रम हेर्न जान्छन् र कार्यक्रमको प्रकृति अनुसार शिष्टता अपनाउँछन्।” यो सत्य मैले आफैंले पनि प्रत्यक्ष रूपमा देखेकी छु।
यस मान्यताप्राप्त पृष्ठभूमिको आधारमा हामी समुद्रको धार विपरीत पौडी खेल्न उत्रिएका झैं थियौं। धेरैले सुझाव दिएका थिए, गोपाल योञ्जनका गीतहरू सुन्न ४०–५० वर्ष उमेर नाघेका दर्शकलाई मात्र लक्षित गर्नुपर्छ। तर हाम्रो लक्ष्य भने नयाँ दृष्टिकोणले गीत सुन्न र बुझ्ने चाहना भएका नयाँ पुस्तालाई पनि समेट्नु थियो। थप हाम्रो कार्यक्रमका लागि केही स्पष्ट शर्तहरू तय गरेका थियौं– उचित कार्यक्रम स्थल बाहेक अन्य कुनै स्थानमा प्रस्तुति नगर्ने, कसैको रेस्टुरेन्ट/बार वा घर/बेसमेन्टमा हुने ‘प्राइभेट इभेन्ट’हरूमा सहभागी नहुने, र कार्यक्रम अवधिभर पानी बाहेक कुनै प्रकारको खाना वा पेय पदार्थ सेवन गर्न नपाइने। हाम्रो विश्वास र उद्देश्य कतै ‘टू आइडियलिस्टिक’ त भएन भन्ने प्रश्न पनि मनमा नउठेको होइन। के साँच्चै दर्शकले सबै सांगीतिक कार्यक्रमहरूबाट एउटै प्रकारको अनुभूति मात्र खोजिरहेका छन् त? नेपाली गीतको मौलिक स्वाद, आत्मा, पहिचान र यसको गौरवमय इतिहास बुझेर सोही प्रकारका गीतहरू सुन्न चाहने श्रोता तथा दर्शक साँच्चै छैनन् त?
तर, स्थानीय साझेदारहरूसँग सहकार्य गर्दै जाँदा हामी गोपाल योञ्जनको संगीतलाई बुझ्ने र श्रद्धा गर्ने व्यक्तिहरूसँग क्रमशः परिचित हुँदै र जोडिंदै गयौं। माघ २०८१ (१५ फेब्रुअरी, २०२५) मा काठमाडौंबाट शुरु भएको हाम्रो दश महिनाको, तीन देशमा फैलिएको यात्रा, कात्तिक २०८२ (१ नोभेम्बर, २०२५) मा अमेरिकाको सान फ्रान्सिस्कोमा सम्पन्न अन्तिम कार्यक्रममा दर्शकबाट प्राप्त ‘स्ट्यान्डिङ ओभेसन’ सँगै अन्ततः अर्थपूर्ण र सार्थक बनेको अनुभूति भयो।
कार्यक्रमको केन्द्रमा मेरी आमा, रिन्छेन योञ्जन रहनुभयो, जसले पुस्तकको पृष्ठभूमि, विविध गीतहरू तथा आफूले नजिकबाट चिनेका गोपाल योञ्जनका अनुभवहरू साझा गर्दै दर्शकसँग आत्मीय सम्बन्ध स्थापना गर्नुभयो। अझ विशेष कुरा, हामीले अपेक्षा गरे झैं, दर्शकमध्ये धेरैजना नयाँ पुस्ताका, विशेषतः ३० र ४० वर्षमुनिका थिए, जसले यो यात्रालाई अझ अर्थपूर्ण बनायो।
हुनतः विदेशमा नेपाली कलाकार तथा व्याण्डहरूले कार्यक्रम प्रस्तुत गर्ने ट्रेन्ड चलेको पनि केही वर्ष नै भइसक्यो। यु.एस.ए., अष्ट्रेलिया, यु.के. लगायत विभिन्न गन्तव्यमा विभिन्न कलाकारहरूको कार्यक्रम लगभग हप्तैपिच्छे ठूला हलहरूदेखि, रेस्टुरेन्ट र ब्यांक्वेट हलमा आयोजना भइरहन्छन्।
व्यापक प्रचार–प्रसारका साथ आयोजना गरिएका कार्यक्रमहरूमा नयाँ नयाँ भाइरल युवा कलाकारदेखि स्थापित तथा प्रतिष्ठित कलाकार र ब्यान्डहरूले हजारौं दर्शक जुटाउन सफल भएका उदाहरण पनि छन्, जुन नि:सन्देह सराहनीय पक्ष हो। तर प्रश्न यहाँ उपस्थितिको संख्यामा होइन, त्यसको अर्थ र प्रभावमा उठ्छ। यस्ता अनेकन् कार्यक्रमले नेपाली संगीतलाई सिर्जनशीलता, विषयवस्तु र मौलिकताका आधारमा अन्तर्राष्ट्रिय मञ्चमा विश्वस्तरका संगीतकर्मीहरूसँग काँधमा काँध मिलाएर उभिन सक्ने बनाउने दिशामा कति योगदान पुर्याएका छन् ? सोचनीय छ। यो प्रश्न केवल आलोचनाका लागि होइन, आत्ममूल्याङ्कनका लागि आवश्यक छ।
म बुझ्छु, यस प्रकारका कार्यक्रमहरू आयोजना गर्न ठूलै आँट र लगानी आवश्यक हुन्छ। पछिल्लो एक वर्षको अवधिमा यु.एस.ए. मा बाहिरबाट नेपाली कलाकारहरू ल्याएर कार्यक्रम गर्ने क्रम केही घटेको देखिन्छ। यसमा वर्तमान परिस्थितिजन्य केही कारणहरू पनि छन्। तर यस विषयमा धेरै आयोजकको गुनासो के पनि सुनिन्छ भने– आउन नपाइन्जेल, यु.एस.मा खुट्टा टेक्न पाए पुग्छ भन्ने कतिपय कलाकारहरूलाई सम्पूर्ण खर्च व्यहोरी ल्याइसकेपछि उनीहरूको व्यवहार र नियतमा परिवर्तन आउँछ। अवश्य पनि यो सबै कलाकारमा लागू हुँदैन। तर तीतो यथार्थ यही छ कि, थोरै कलाकारहरूले मात्र आफ्नो व्यावसायिक मर्यादामा अडिग रही आफ्नो कलाकार धर्म निर्वाह गरेका पाइन्छन्। कहींकतै आयोजक तथा कार्यक्रमका दौरान भेट भएकाहरूलाई कलाकारबाट निजी शपिङ गराउन महँगा ठाउँमा लैजान बाध्य पार्ने जस्ता आरोपहरू समेत लाग्ने गरेका छन्।
अर्कोतर्फ, केही आयोजकहरूमाथि पनि कलाकारको नाममा अतिरिक्त रकम असुल्ने उद्देश्यले तोकिएको स्थानभन्दा बाहिर, आयोजकका नजिकका साथीभाइका बैठक कोठा वा बेसमेन्टमा समेत, ‘प्राइभेट इभेन्ट’ आयोजना गराउने गरेको आरोप लाग्ने गरेको छ। यस्ता ‘प्राइभेट इभेन्ट’मा कलाकारहरू कहिले करकापले, कहिले स्वेच्छाले सहभागी हुने गरेको सुनिन्छ।
स्वेच्छाले होस् वा करकापले, गीत–संगीतको मूल मर्मबाट विमुख भई केवल मनोरञ्जनको पात्र बनेर, मदिरामा धुत दर्शकको मन बहलाउन फरमाइस अनुसार नेपालीदेखि हिन्दी गीतहरू घण्टौंसम्म प्रस्तुत गर्नु कलाकारको गरिमा र कलाको मर्यादा विपरीत हुन जान्छ। विशेषतः ‘प्रतिष्ठित’ र ‘राष्ट्रिय स्तरका’ कलाकारको पहिचान बोकेकाहरूले पैसाको अगाडि आफ्नो शिर झुकाउनु सम्पूर्ण संगीत क्षेत्रकै गरिमालाई कमजोर पार्नु हो भन्ने मलाई लाग्छ। उनीहरूको काँधमा त झन् संगीतको स्तर उकास्ने, यसको गरिमा जोगाउने र नेपाली संगीत क्षेत्रलाई सही दिशामा मार्गदर्शन गर्ने अझ ठूलो जिम्मेवारी हुन्छ। यही कारणले गर्दा आज यस्ता कलाकारहरूमाथि, विशेषतः यु.एस.ए.जस्ता ठाउँहरूमा, “डलर टिप्न आएका” भन्ने आरोप लागिरहेको देख्दा अत्यन्त दुःख लाग्छ।
पुनः हाम्रो सांगीतिक पुस्तक यात्राको प्रसङ्गमा फर्कौं। ‘गोपाल योञ्जन सांगीतिक पुस्तक यात्रा २०२५’ को तयारी हामीले सन् २०२२ देखि नै शुरू गरेका थियौं। सर्वप्रथमतः पुस्तक प्रकाशनसँग सम्बन्धित कार्यहरू नै प्रशस्तै थिए जसका बारे अर्को छुट्टै लेख लेख्नुपर्ने हुन्छ। पूर्वतयारीको प्रक्रिया पनि जटिलै थियो र यसका लागि नेपाली संगीतसँग सम्बन्धित व्यक्ति तथा निकायहरूको सहयोग आवश्यक थियो। विशेषगरी पी.थ्री. भिसा (यु.एस.ए. मा बाहिरका कलाकारलाई आएर कार्यक्रम गर्न स्वीकृति दिने भिसा) का लागि गोपाल योञ्जनको नेपाली गीत संगीतमा स्थान प्रमाणित गर्दै कार्यक्रमका लागि प्रस्तावित कलाकारहरूको छनोटलाई स्पष्ट पार्नुपर्ने थियो। अनि यस प्रयासको औचित्यलाई गीत–संगीतसँग आबद्ध संघसंस्थाहरूले समर्थन पत्र लेखिदिनुपर्ने थियो।
यस प्रक्रियाका लागि सबैभन्दा उपयुक्त थिए– संस्कृति मन्त्रालय, रेडियो नेपाल, नेपाल टेलिभिजन र नृत्य, नाट्य तथा संगीत प्रतिष्ठान। रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट गोपाल योञ्जनका गीतहरू कतिपटक गुञ्जिए त्यसको कुनै लेखाजोखा छैन। तर प्रस्तावित भ्रमणका विषयमा एक पाना पत्र लेख्नबाट भने यी संस्थाहरू पन्छिए। रेडियो र टी.भी.ले, “हामी भर्खर एक संयुक्त संस्था बन्ने प्रक्रियामा छौं” भन्दै, एकअर्कालाई औंल्याइरहे भने, देशको कला संस्कृति सम्हालेका प्रतिष्ठानका प्रतिष्ठितबाटै पत्र दिन अस्वीकृत भयो। यसबाट म यो निष्कर्षमा पुग्न बाध्य भएकी छु कि नेपाली गीत संगीतको उत्थान गर्ने जिम्मेवारी बोकी पद ओगटेर बसेकाहरूमा यस क्षेत्रप्रति आवश्यक ज्ञान र चेतनाको अभाव मात्र होइन, यसका लागि केही गर्ने उत्साह समेत देखिंदैन। न त उनीहरू आफूले गर्नुपर्ने काम अरूले गरिदिंदा कृतज्ञ नै देखिन्छन्।!
यस प्रकारको गैरजिम्मेवार र दरिद्र मानसिकताले नेपाली गीत–संगीत क्षेत्रलाई के–कति नोक्सान पुगेको छ– सोचनीय छ। तर, यस प्रक्रियामा हामीलाई साथ दिनेहरूको पनि कमी थिएन। विशेषगरी यस काममा समर्थन जनाउँदै गीतकार तथा संगीतकार संघ, प्रस्तोता समाज तथा चलचित्र बोर्डले दिल खोलेर समर्थन पत्र लेखिदिए। यसैगरी यु.एस.ए. मा पनि विभिन्न संवेदनशील व्यक्ति तथा संस्थाहरूको अमूल्य साथ हामीले पायौं।
यस प्रसङ्गलाई यहाँ जोड्नुको मुख्य कारण वर्तमान नेपाली गीत–संगीतको नाडी छाम्ने प्रयास पनि हो। बुवाको कामलाई अगाडि लैजाने क्रममा हजारौं चुनौती खडा हुने गर्छन्। अझै पनि पूर्ण रूपमा, सम्बन्धित व्यक्तिहरू ईर्ष्या, संकुचित सोच र अस्वस्थ प्रतिस्पर्धाभन्दा माथि उठ्न सकेका छैनन्। “भाइरल” हुने मोह बढ्दो छ। नि:सन्देह, आज धेरै राम्रा र उत्कृष्ट कलाकारहरू मैदानमा सक्रिय छन्, र उनका प्रस्तुति साँच्चै नै हृदयस्पर्शी पनि। तर, कतै न कतै संगीतको गहनता, वजन र यस क्षेत्रमा संलग्न व्यक्तिहरूको समर्पण तथा इमानदारीमा कमी हुँदै गएको भान हुन्छ। यस रनभुल्ललाई हेरेर लाग्छ, बुवाले शायद आयुले पनि जितेको भए नेपाली गीत संगीत आज कस्तो हुनेथियो होला? अनि फेरि आफैंलाई सम्झाउँछु– उहाँले जति सिर्जना गर्नुभएको छ, त्यति त नेपाली संगीत जगतले सम्हाल्न, बुझ्न र बुझाउन सकेको छैन भने अरू त कसरी थेग्न सक्थ्यो होला ?
यही सन्दर्भमा, “नेपाली गीत–संगीतको सुनौलो युगका महारथी”, “शिखर पुरुष”, “संगीतको विश्वविद्यालय”, “संगीतको त्रिवेणी” जस्ता सम्मानजनक उपनामले सुशोभित गोपाल योञ्जनका समग्र सांगीतिक योगदानलाई अझ व्यवस्थित, गहिरो र न्यायोचित रूपमा, नेपाली संगीतको ग्रन्थमा अभिलेखीकरण गर्दै, उहाँको योग्य स्थान दिलाउने कार्य अझै सुसम्पन्न हुन बाँकी रहेको कुरा स्मरण गराउन चाहन्छु।
(योञ्जन सिर्जनात्मक सल्लाहकार, लेखक, मोडरेटर र कार्यक्रम निर्देशक हुन्।)
प्रतिक्रिया 4