News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल २०२६ को ‘टप मोडल’ प्रतिस्पर्धाका लागि भियतनामको चर्चित फेसन स्टुडियो न्हामोटले विशेष डिजाइन तयार गर्ने भएको छ ।
- यस विधाको विजेताले सिधै सेमिफाइनलमा प्रवेश पाउने आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ ।
- अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त न्हामोटले तयार गर्ने आकर्षक डिजाइन मिस नेपालको टप मोडल राउन्डमा प्रस्तुत गरिनेछ ।
काठमाडौं । मिस नेपाल २०२६ को ‘टप मोडल’ प्रतिस्पर्धा यसपटक अझ भव्य र अन्तर्राष्ट्रिय आकर्षणसहित हुने भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले भियतनामको चर्चित फेसन स्टुडियो न्हामोटले यस वर्षको टप मोडल राउन्डका लागि विशेष डिजाइन प्रस्तुत गर्ने घोषणा गरेको छ ।
आयोजकले यसैसाता आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । पेजेन्ट फेसन डिजाइनका लागि विश्वप्रसिद्ध उक्त स्टुडियोको सहभागिताले यसपटकको र्याम्प अझ ग्ल्यामरस र आकर्षक बन्ने जनाएको छ । उक्त डिजाइन टप मोडल राउन्डमा प्रस्तुत गरिनेछ, जुन प्रतियोगिताको सबैभन्दा प्रतिस्पर्धात्मक चरणमध्ये एक मानिन्छ ।
विशेष कुरा के भने, ‘टप मोडल’ विधाको विजेताले सिधै सेमिफाइनलमा प्रवेश गर्ने अवसर प्राप्त गर्नेछिन् । यसलाई ‘फास्ट ट्रयाक’ प्रतिस्पर्धाको रूपमा हेरिएको छ ।
न्हामोट भियतनामको चर्चित फेसन तथा पेजेन्ट डिजाइन स्टुडियो हो, जसले पछिल्ला केही वर्षमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको क्षेत्रमा विशेष पहिचान बनाएको छ । विशेषगरी मिस युनिभर्स, मिस ग्रान्ड इन्टरनेसनल, मिस कस्मो, मिस अर्थजस्ता विश्वस्तरीय प्रतियोगिताका प्रतियोगीका लागि आकर्षक गाउन, राष्ट्रिय पोशाक र र्याम्प डिजाइन तयार पार्छ ।
न्हामोटले तयार गर्ने डिजाइनमा आधुनिक उच्च फेसन र भियतनामी सांस्कृतिक सौन्दर्यको संयोजन देखिन्छ । भियतनामका धेरै चर्चित सौन्दर्य प्रतियोगी तथा विजेताले न्हामोटका डिजाइन प्रयोग गरिसकेका छन् ।
अन्तर्राष्ट्रिय पेजेन्टमा सहभागी हुने प्रतियोगीका लागि ‘स्टेटमेन्ट गाउन’ तयार गर्ने स्टुडियोको क्षमता निकै प्रशंसित मानिन्छ । विशेषगरी फाइनल राउन्ड, इभिनिङ गाउन प्रस्तुति र टप मोडल सेग्मेन्टका लागि यसको डिजाइनलाई उच्चस्तरीय मानिन्छ ।
यसवर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वल्र्ड ५ सेप्टेम्बरमा भियतनाममा आयोजना हुँदैछ ।
प्रतिक्रिया 4