+
+
Shares

‘महाभारत’ मञ्चन १४ जेठबाट, रिहर्सलमा देखिए मनोज गजुरेलसहितका कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते २०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्तिपुर थिएटरमा आगामी १४ जेठदेखि नवीन भट्टको निर्देशनमा तयार भएको नाटक ‘महाभारत’ मञ्चन हुने भएको छ ।
  • यस नाटकमा चर्चित हास्यकलाकार मनोज गजुरेलसहित अभिनेता रमेश बुढाथोकी र सुवर्ण थापाले अभिनय गर्दैछन् ।
  • भारतीय लेखक कुलदीप कुणालको नाटकलाई नेपाली रूपान्तरण गरिएको यस प्रस्तुतिको अनलाइन टिकट बुकिङ सोमबारदेखि खुला भएको छ ।

काठमाडौं । ‘सेतो धरती’ को मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले अब अर्को नाटक ‘महाभारत’ को मञ्चन सुरु गर्ने भएको छ ।

अहिले अन्तिम चरणको रिहर्सल भइरहेको यसबाट हास्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले पहिलो पटक नाटकमा अभिनय गर्दैछन् । पाका अभिनेता रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले यो नाटक अपेक्षित बन्ने देखिएको छ ।

सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मा लगायत अन्य २० जना कलाकार यो नाटकका लागि कान्तिपुर थिएटरको मञ्चमा उत्रँदैछन् ।

भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन र निर्देशन गर्दैछन् । नाटकमा सेट डिजाइनर तुफान थापा, लाइट डिजाइनमा दीपेश गजुरेल, सङ्गीत संयोजन र गायनमा अनुप तिमिल्सिना, कोरियोग्राफरमा अनिष क्षेत्री र निर्मातामा रमेश पुरी छन् ।

१४ जेठ बिहीबारदेखि हरेक दिन बुधबार बाहेक साँझ ५ः१५ बजे र बिदाको दिन तथा अन्य दिन अतिरिक्त शो दिउँसो १ः१५ बजे कान्तिपुर थिएटर, गैह्रीधारामा मञ्चन हुने नाटकको सोमबारबाट अनलाइन टिकट बुकिङ खुलिसकेको छ ।

५०० र १००० टिकट दर तोकिएको नाटक विद्यार्थीले भने सीमित कोटामा ३०० मा हेर्न पाउनेछन् । कान्तिपुर थिएटरको वेबसाइट र सोसल साइटमा दिइएको लिंकमा गएर दर्शकले सजिलै अनलाइन टिकट बुक गर्न सक्नेछन् ।

यसअघि मीरा, शिरीषको फूल, महारानीको जात्रा र सेतो धरतीको मञ्चन गरेर कान्तिपुर थिएटरले आफ्नो छुट्टै दर्शक बनाइसकेको छ । महाभारतमा पनि दर्शकको उल्लेखनीय उपस्थिति हुने थिएटरले विश्वास लिएको छ ।

यसपछि कान्तिपुर थिएटरले सुविन भट्टराईको उपन्यास ‘समर लभ’ मा आधारित नाटक पनि यसअघि नै घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?