News Summary
Generated by OK AI. Editorially reviewed.- 'डन ३' फिल्मबाट अचानक बाहिरिएपछि भारतीय चलचित्रकर्मीको संस्था एफडब्लुआइसले अभिनेता रणवीर सिंहविरुद्ध असहयोगको निर्देशन जारी गरेको छ ।
- छायांकन शुरू हुन तीन साता बाँकी रहँदा रणवीरले फिल्म छाडेपछि निर्माता पक्षले ४५ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेको छ ।
- एफडब्लुआइसले रणवीर व्यक्तिगत रूपमा उपस्थित नभएसम्म असहयोग जारी रहने बताएको छ भने उनका प्रवक्ताले अभिनेता आगामी काममा केन्द्रित रहेको उल्लेख गरेका छन् ।
मुम्बई । बलिउड अभिनेता रणवीर सिंह र निर्देशक फरहान अख्तर बीच ‘डन ३’ फिल्मलाई लिएर विवाद चुलिएको छ । फिल्मबाट अचानक बाहिरिएपछि भारतीय चलचित्रकर्मीको संस्था ‘फेडरेसन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइज’ (एफडब्लुआइस) ले सिंहविरुद्ध ‘नन-कोअपरेशन’ अर्थात् असहयोगको निर्देशन जारी गरेको छ ।
संस्थाले पटक-पटक छलफलका लागि बोलाउँदा पनि रणवीरले उपस्थित नभएको आरोप लगाएको छ । एफडब्लुआइसका प्रमुख सल्लाहकार अशोक पण्डितका अनुसार अख्तरले अप्रिल ११ मा संस्थामा उजुरी दिएका थिए ।
छायांकन सुरु हुन तीन सातामात्र बाँकी रहँदा रणवीरले फिल्म छाडेको उनको भनाइ छ । त्यसपछि फरहान र निर्माता रितेश सिधवानीको कम्पनी एक्सेल इन्टरटेनमेन्टलाई बोलाएर घटनाबारे जानकारी लिइएको थियो । रितेश स्वयं उपस्थित भएका थिए भने फरहान लन्डनबाट जुममार्फत जोडिएका थिए ।
संस्थाका अनुसार फिल्मको प्रि-प्रडक्सनमा होटल बुकिङ, लोकेसन, विदेश भ्रमणसहित दुई सयभन्दा बढी कामदारका व्यवस्थापनमा ठूलो रकम खर्च भइसकेको थियो । ती सबै खर्च कागजी प्रमाणसहित देखाइएको एफडब्लुआइसले जनाएको छ । निर्माण पक्षले करिब ४५ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेको बताइएको छ ।
पण्डितका अनुसार रणवीरले एक्सेल इन्टरटेन्मेन्टसँग तीन फिल्मको सम्झौता गरेका थिए । फिल्मको लोकेसन अवलोकनदेखि स्क्रिप्ट छलफल र प्रचार भिडियोसम्म उनी संलग्न थिए । तर, पछि अचानक फिल्मबाट बाहिरिएपछि निर्माण टिमलाई ठूलो आर्थिक क्षति पुगेको दाबी गरिएको छ ।
एफडब्लुआइसले रणवीरलाई आफ्नो पक्ष राख्न तीनपटक पत्र पठाएको थियो । तर उनले कुनै प्रतिक्रिया नदिएको र अन्तिममा उनका प्रतिनिधिमार्फत ‘यो विषय एफडब्लुआइसको क्षेत्राधिकारभित्र पर्दैन’ भन्ने जवाफ आएको जनाइएको छ ।
एफडब्लुआइस अध्यक्ष बीएन तिवारीले ‘सुपरस्टार कानुनभन्दा माथि हुन सक्दैन’ भन्दै रणवीर व्यक्तिगत रूपमा उपस्थित नभएसम्म असहयोग जारी रहने बताएका छन् । संस्थाका महासचिव अशोक दुबेले भारतभरका प्राविधिक, स्पटब्वाय र अन्य कामदारले रणवीरसँग काम नगर्ने बताएका छन् ।
संस्थाले कुनै पनि कलाकारले ‘कथा मन परेन’ भन्दै अन्तिम समयमा फिल्म छाडे हजारौं कामदारको रोजगारी प्रभावित हुने तर्क गरेको छ । भविष्यमा निर्माता वा कलाकार कसैले पनि यस्ता निर्णय गर्दा उद्योग र कामदार दुवैलाई असर पर्ने भन्दै एफडब्लुआइसले यसलाई गम्भीर रूपमा लिएको जनाएको छ ।
रणवीरका प्रवक्ताले भने अभिनेताले फिल्म उद्योग र ‘डन’ फ्रेन्चाइजप्रति सम्मान भाव व्यक्त गरेको बताएका छन् । उनीहरूले सार्वजनिक प्रतिक्रिया दिनुभन्दा व्यावसायिक सम्बन्धलाई सम्मानपूर्वक सम्हाल्नु उपयुक्त ठानेको उल्लेख गरेका छन् । रणवीरले अहिले पनि सबैप्रति सद्भाव राख्दै आफ्नो आगामी काममा केन्द्रित रहेको प्रवक्ताको भनाइ छ ।
सन् २०२५ डिसेम्बरमा रणवीरले ‘डन ३’ छाडेका थिए । उनले स्क्रिप्टमा भएका परिवर्तनलाई फिल्म छाड्नुको कारण बनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यसअघि उनको फिल्म ‘धुरन्धर’ ठूलो व्यवसायिकरुपमा सफल भएको थियो ।
एफडब्लुआइस भारतीय फिल्म उद्योगसँग सम्बन्धित कामदार र प्राविधिकको ठूलो संगठन हो । यो ३२ वटा विभिन्न क्राफ्ट तथा पेशागत संघको मातृसंस्था पनि हो । संस्थाले आफ्ना सदस्यको आर्थिक, पेशागत र सांस्कृतिक हितको संरक्षण तथा प्रवद्र्धन गर्ने काम गर्छ ।
एफडब्लुआइसले फिल्म उद्योगभित्र हुने पेशागत विवाद, सम्झौता सम्बन्धी समस्या र पारिश्रमिक नपाएको जस्ता विषयमा हस्तक्षेप गर्ने अधिकार राख्छ । उद्योगका नियम उल्लंघन गरेको आरोप लागेमा कलाकार, निर्देशक, निर्माता वा निर्माण कम्पनीविरुद्ध ‘नन–कोअपरेशन’ अर्थात् असहयोगको निर्देशन समेत जारी गर्न सक्छ । यस्तो अवस्थामा संस्थाले आफ्ना सदस्यलाई सम्बन्धित व्यक्ति वा ब्यानरसँग काम नगर्न आग्रह गर्न सक्छ ।
यसका साथै एफडब्लुआइसले दैनिक ज्यालादारी कामदार, प्राविधिक र कलाकारका लागि काम गर्ने समय, न्यूनतम पारिश्रमिक र सुरक्षासम्बन्धी मापदण्ड पनि तय गर्छ । कार्यस्थलमा हुने दुव्र्यवहार वा अनुशासनहीनतासम्बन्धी घटनामा समेत संस्थाले छानबिन गरी आवश्यक कारबाही गर्न सक्ने व्यवस्था छ ।
प्रतिक्रिया 4