+
+
Shares

चोरविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा : चढ्छन् १ करोडको गाडी, साढे ३ तले पक्की घर

चोरीको कसुरमा समातिएका एक व्यक्तिको सम्पत्ति देखेर प्रहरी अधिकारीहरू नै चकित परेका छन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ जेठ १२ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चोरीको रकमबाट अकुत सम्पत्ति कमाएको अभियोगमा प्रेम थारुविरुद्ध ६ करोड २२ लाख १६ हजार रुपैयाँ बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ ।
  • प्रहरीले चलाएको गोली लागि पक्राउ परेका थारुको साथबाट ६५ तोला सुन र घरबाट १६ देशका मुद्रासहित टोयटा हाइलक्स गाडी बरामद भएको छ ।
  • विगत ७/८ वर्षदेखि चोरीलाई पेसा बनाएका पटके अभियुक्त थारु असल चालचलनको सुविधामा पेरोलमा छुटेर पुनः चोरी धन्दामा सक्रिय भएका थिए ।

१२ जेठ, काठमाडौं । चोरीलाई नै पेसा बनाएका व्यक्तिहरूले पटकपटक चोर्ने, चोरेरै जीविका चलाउने र चोरीको पैसा मोजमस्तीमा उडाउने गरेको देखिन्छ । तर प्रहरीले गोली हानेर समाएका एक चोरको कथा भने फरक छ ।

ती चोर जीविका चलाउन चोरी गर्दैनन् । चोरीको पैसा मोजमस्तीमा पनि उडाउँदैनन् । उनले चोरेरै पक्की घर ठड्याएका छन् । एक करोड मूल्यको टोयटा हाइलक्स गाडी चढ्छन् । बिलासी जीवन बिताउँछन् । खातामा टन्नै रकम छ । गरगहना प्रशस्त छ । दर्जन बढी देशका मुद्रा घरमा सजाएका छन् ।

यसरी चोरेरै सम्पन्न हुने व्यक्ति हुन् प्रेम थारु । पुलिसले गोली हानेर समात्दा उनीबाट ६५ तोला त सुन नै बरामद भएको थियो । कालो वर्ण र ख्याउटे शरीर भएका थारु चोरीमा खप्पिस छन् । उनले टार्गेट बनाएपछि फरकै नखाने जानकार प्रहरी अधिकारीहरू बताउँछन् । उनको सम्पत्ति देखेर प्रहरी अधिकारीहरू नै चकित परेका छन् ।

विभिन्न उपनामले चिनिने थारु चोरीका उस्ताद हुन् । दिउँसो रेकी गर्ने, मान्छेको लवाइ–खवाइबाटै सम्पत्तिको आकलन गर्ने अनि मौका मिल्नासाथ सामान गायब पार्ने उनको शैली देखिन्छ । कतिसम्म भने, लुगा सुकाउन छतमा गएको मौकामै उनले ६५ तोला सुन गायब बनाएका थिए ।

चोरीमा समातिएका उनै थारुविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ । चोरी कसुरमा समातिएपछि अनुसन्धान गर्दा अकुत सम्पत्ति देखिएपछि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरेर मुद्दा चलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा थारुविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । चोरीबाटै थारुले ६ करोड २२ लाख १६ हजार २१६ रूपैयाँ बराबरको सम्पत्ति आर्जन गरकोे भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।

अनुसन्धानका क्रममा थारुले चोरी गरेको पैसाले ९८ लाखमा टोयटाको हाइलक्स गाडी किनेर चढेको पाइएको एसएसपी थापा बताउँछन् । प्रदेश ०३–०२३ च ४२२८ नम्बरको गाडी उनको रहेको भेटिएको छ । यद्यपि, थारुले उक्त गाडी ५५ लाखमा १८ पुस २०८२ मा बुटवल बस्ने देवीलाल वलीलाई बेचेको दाबी गरेका थिए । अनुसन्धानका क्रममा उक्त गाडी थारुकै नाममा भेटिएको छ ।

यो गाडी चोरी गरेकै पैसाले किनेको उनले स्वीकार गरेका छन् । ‘सुनचाँदीका गरगहना बिक्री गरी प्राप्त रकममध्ये ९८ लाखमा गाडी खरिद गरेको हुँ । उक्त गाडी बेचेकाले अहिले देखाउन सक्दिनँ,’ बयानमा थारुले भनेका छन् ।

चोरीलाई नै पेसा बनाएका थारुले अहिलेसम्म कति स्थानमा चोरी गरें भन्ने आफूलाई यकिन नभएको बताएका छन् । चोरी गरेका सामानहरू प्राय: भारतीय बजारमा लगेर बेच्ने गरेको उनको भनाइ छ ।

चोरी गरेकै रकमबाट आफूले जग्गाजमिन र घर जोडेको स्वीकार गरेका छन् । ‘चोरी गरेको सुनचाँदीका गरगहना बिक्री गरी करिब ५/७ वर्ष पहिले कोहलपुरमा ४० लाखमा २ कट्ठा जग्गा किनें । र, साढे तीन तले पक्की घर बनाएको छु,’ थारुले बयानमा भनेका छन् ।

उनको नाममा बाँकेको बैजापुर–५ क कित्ता नम्बर ६८८ मा १० कट्ठा जग्गा छ । उक्त जग्गा भने आफ्नो पुर्खौली रहेको थारुले बताएका छन् ।

बाँकेकै बैजापुर ५ क धनहर खेत कित्ता नम्बर १२९७ को १ कट्ठा १७ धुर, सोही ठाउँमा ५कट्टा १२ धुर जग्गाको स्रोत उनले देखाउन सकेका छैनन् । उक्त जग्गाको स्रोत पनि चोरीकै रहेको बताइएको छ ।

घरमा १६ देशका मुद्रा

काठमाडौंमा समातिएपछि प्रहरीले बाँकेको सोनारी गाउँपालिका–३ बेलासपुरस्थित उनको घरमा पनि खानतलासी गरेको थियो । चोरी गरेका सामानहरू लुकाएको हुन सक्ने आशंकामा बाँके प्रहरीले खानतलासी गर्दा विभिन्न १६ देशका मुद्राहरू भेटिएको एसएसपी थापा बताउँछन् ।

उनको घरबाट अमेरिकी डलर, कतारी रियाल, कोरियन वन, इकारी दिनार, साउदी रियाल, चिनियाँ युआन, अस्ट्रेलियन डलर, सिंगापुर डलर, बंगलादेशी टाँका, श्रीलंकन, बहराइन, भुटानी, अर्जेन्टिना, टर्की, भारतीय र नेपाली मुद्रा भेटिएको प्रहरीले बताएको छ ।

त्यस्तै, नेपाल आँखा अस्पताल लेखेको सिक्का, विश्व हिन्दु महासंघको सिक्का, इन्टरनेसनल इयर १९९९ लेखेको सिक्का, विभिन्न १६ थान पत्थरहरू, हात्तीको पुच्छरको रौं १२ पिस, मोती जस्तो देखिने धातु, नेपाल चलचित्र संघको आईडी कार्ड, युनाइटेड फ्रान्स बैंकको एटीएम, नेपाली विभिन्न बैंकका एटीएम, चेकलगायत बरामद भएको छ ।

बाह्य देशका मुद्रादेखि फ्रान्सको एटीमएसमेत बरामद भएकाले उनले विदेशी पर्यटकलाई पनि लुटपाट गरेको हुन सक्ने आशंका प्रहरीको छ ।

बैंकमा १८ लाख

चोरीबाटै करोडका गाडीदेखि घरजग्गा जोडेका थारुको बैंक खातामा करिब १८ लाख बढी नगद पनि भेटिएको छ । उनको एभरेस्ट बैंकको खातामा १६ लाख २४ हजार १९६ रुपैयाँ, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खातामा १२ हजार ७१३ रूपैयाँ र नबिल बैंकमा २ लाख ३४ हजार ६१ रुपैयाँ भेटिएको छ ।

यो सबै रकम जफत हुनुपर्ने मागदाबी गरिएको छ । त्यस्तै, उनको हाइलक्स गाडी, बाँकेको चटारको जग्गा, बैजापुरका २ ठाउँका जग्गा पनि जफतका लागि मागदाबी गरिएको छ ।

नाम परिवर्तन गर्दै चोरी

बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बेलासपुर ठेगाना भएका थारु चोरीको दुनियाँमा विभिन्न उपनामले चिनिन्छन् । सुप्रिम, विकास, सौरभ नामबाट उनी चोरी क्षेत्रमा प्रख्यात छन् ।

भेष बदल्दै चोरी गर्ने उनै थारुलाई काठमाडौं प्रहरीले नागार्जुन नगरपालिका–६ पुरीगाउँ क्षेत्रमा २१ माघ २०८२ मा गोली हानेर समातेको थियो ।

कतिसम्म भने, चोरी गर्दा फेला परेका नागरिकतामा समेत उनले फोटो उप्काएर आफ्नो फोटो टाँस्ने गरेको भेटिएको छ । यसको उद्देश्य आफ्नो वास्तविक परिचय नखुलोस् भन्ने रहेको उनले बताएका छन् ।

काठमाडौंमा कोठा भाडामा बस्दा उनले पर्साबाट जारी भएको दीपक श्रेष्ठ नामको सक्कली नागरिकता र भोजपुरबाट जारी भएको निर्मल प्रधानको नागरिकता देखाउने गरेकोसमेत पाइएको छ ।

एकै पटक ६५ तोला सुन चोरी

थारुले बौद्धको एक घरबाट एकै पटकमा ६५ तोला सुन चोरी गरेका थिए । यो घटना गत माघको हो । गोली हानेर समात्दा प्रहरीले उनीबाट ७६४.३५ ग्राम सुन तथा १ किलो १५२ ग्राम चाँदी बरामद गरेको थियो ।

यस्तै, नगद १ लाख ६३ हजार ६५५, हिरा १५.५५ ग्राम, अमेरिकन डलर १ हजार १०४, भारु ५ हजार ५००, चिनियाँ युआन ८२, श्रीलंकन २०, मेलेसियन रिंगेट ३ लगायत अन्य मुलुकका मुद्रा पनि बरामद गरिएको थियो ।

बौद्धको चोरीमा पीडित महिलाले ३ करोड ६ लाख १४ हजार २०० रुपैयाँ बराबरको गरगहना, नगद चोरी भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहना चोरी भएको थियो ।

दिउँसो कपडा धोएर छतमा सुकाउन गएको मौकामा ती गरगहना चोरी भएका थिए ।

पटके अभियुक्त, असल चालचलन भन्दै पेरोलमा छुटेका

चोरीमा समातिएर सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा चलाइएका थारु पटके अभियुक्त हुन् । यसअघि प्रहरी वृत्त बौद्धबाट मात्रै उनीविरुद्ध २ पटक मुद्दा चलेको थियो ।

प्रहरीका अनुसार २९ मंंसिर २०७९ मा मुद्दा चली ३ वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् उनी । उनलाई ६० हजार जरिबाना पनि तोकिएको थियो ।

उनीविरुद्ध अहिले पनि परिसर ललितपुर, वृत्त सातदोबाटो, मकवानपुरमा जाहेरी परेको छ । काठमाडौं प्रहरीको काम सकिएपछि पठाइदिन भन्दै यी कार्यालयले पत्राचारसमेत गरेका छन् ।

७/८ वर्ष पहिलादेखि नै चोरीलाई पेसा बनाएका पटके अभियुक्त थारु असल चालचलन भन्दै ‘पेरोल’मा छुटेको खुलेको छ । पेरोल भन्नाले ‘राम्रो चालचलन’ भएको भन्दै कारागार बाहिरै बसेर कैद भुक्तान गर्न मिल्ने सुविधासहित सरकारले दिएको छुट हो ।

यही सुविधाअनुसार उनी २५ जेठ २०८२ मा कारागारबाट छुटेका थिए । नत्र उनी २०८२ मंसिरसम्म कारागारमा बस्नुपर्ने हुन्थ्यो । पेरोलमा छुटेका उनै थारुले अपराधको शृंखला नै चलाए ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?