+
+
Shares

पर्यटन र अतिथि सत्कार : गर्नैपर्ने १० काम

ठूला शहरी होटल ब्राण्डहरूले कम्तीमा एक ग्रामीण अतिथि सत्कार केन्द्र सञ्चालन गर्नुपर्छ । सरकारले यसमा सहजीकरण गर्नुपर्छ ।

कृष्ण प्रसाद न्यौपाने कृष्ण प्रसाद न्यौपाने
२०८३ जेठ १४ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको पर्यटनलाई सामान्य भ्रमणबाट अनुभवमा आधारित, उच्च मूल्य र दिगो मोडेलतर्फ लैजान आवश्यक देखिएको छ।

नेपालमा पर्यटनको अथाह सम्भावना रहेको कुरा नयाँ होइन । यो विषय लामो समयदेखि उठ्दै आएको छ । तर यसको पूर्णसदुपयोग भने हुन सकेको छैन । पर्यटनबाट समृद्धि सम्भव छ भन्नेमा सबै सहमत छन् । यो नारा बारम्बार दोहोरिन्छ । तर व्यवहारमा कार्यान्वयन कमजोर देखिन्छ।

नीति र कार्ययोजनाहरू सोही अनुसार बन्न सकेका छैनन् । परिणामतः ठूलो सम्भावना उपयोग हुन सकेको छैन । अब ढिला गर्ने अवस्था छैन । नेपालको पर्यटनलाई ‘सामान्य भ्रमण’बाट ‘अनुभवमा आधारित, उच्च मूल्य र दिगो’ मोडेलतर्फ लैजान आवश्यक छ । यसका लागि प्राथमिकताका साथ काम गर्नुपर्छ ।

१) रिब्रान्डिङ र रिपोजिसनिङ

हिमालय र पर्वतारोहणबाट बाहिर निस्केर सांस्कृतिक सम्पदा, आरोग्य, साहसिक गतिविधि र आध्यत्मिक पर्यटनमा ध्यान केन्द्रित गर्दै अघि बढ्न जरुरी छ । लुम्बिनीलाई विश्वस्तरको आध्यत्मिक ध्यान केन्द्र बनाउने र नेपाल भ्रमणवर्ष जस्ता अभियानहरूलाई निरन्तरता दिई व्यावसायिक प्रतिष्ठानहरू र बजारीकरणसँग जोड्ने अभ्यासलाई समन्वय गराइनुपर्छ ।

२) गुणस्तरीय पूर्वाधार

पर्यटनका लागि नभई नहुने पूर्वाधारहरू सुरक्षित तथा नियमित सञ्चालनमा रहनुपर्दछ । काठमाडौँ, पोखरा र लुम्बिनीमा भएका अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र व्यवस्थापनमा सुधार गरी हवाई सञ्जाललाई सहज बनाउनुपर्छ । यसलाई व्यवस्थित गराउनुका साथै सडक सञ्जाल, डिजिटल कनेक्टिभिटीमा सुधार आवश्यक छ । पर्यटक बस, ट्रेकिङ रुटलगायतमा पनि ठूलो सुधार जरुरी छ ।

३) सेवा गुणस्तर र मानव स्रोत विकास

आतिथ्य सत्कार सेवाप्रदायक होटल, रेस्टुरेन्ट, पथप्रदर्शक सबैलाई नियमित तालिम तथा क्षमता सुधारमा ध्यान दिन आवश्यक छ । त्यसो हुन सकेमा आतिथ्यलाई सम्मानित करिअरको रुपमा स्थापित गर्न सकिन्छ । स्थानीय स्तरमै सीप विकास केन्द्र स्थापना गरी विभिन्न प्राविधिक क्षमता–दक्षता प्रदान गर्न सकिन्छ ।

४) नयाँ गन्तव्य र प्रडक्ट विकास

नेपालका केही पर्यटकीय गन्तव्यमा धेरै भीडभाड भई सेवास्तर र आकर्षण कायम नरहने जोखिम बढेको छ । यस्तो अवस्थामा नयाँ गन्तव्यको खोजी र विकासका लागि तत्काल कदम चालिनुपर्छ । रारा ताल क्षेत्रलाई उच्च मूल्यको पर्यापर्यटन केन्द्र बनाउने, उपल्लो मुस्ताङलाई सांस्कृतिक र साहसिक पर्यटन क्षेत्र बनाउने, चिया–कफी आदिसँग जोडी कृषि पर्यटन लगायतका सम्भाव्यताहरू तत्काल खोज्न सकिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जको भीडलाई विस्तारै कोशीटप्पु र बर्दियामा आकर्षित गर्नुपर्छ । ढोरपाटनको शिकार पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्ने, रारा–खप्तड–रामारोशन जस्ता स्थानहरूमा आरोग्य, निरोग (वेलनेस) पर्यटनलाई प्रवर्द्धन गर्न सकिन्छ ।

५) डिजिटल मार्केटिङ र प्रविधि प्रयोग

गुगल, ट्रिपएड्भाइजर, बुकिङ डटकम आदि प्लेटफर्ममा आक्रामक उपस्थिति, ओटिए र अनलाइन बुकिङ सुविधासँगको सहकार्य (इन्टिग्रेसन), भर्चुअल टूर, कृत्रिम बुद्धिमत्ताको उपयोग, डिजिटल मिडियामार्फत प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्दछ । अन्तर्राष्ट्रिय मेलामा एउटा स्टल राखेर बस्दा न पर्यटन प्रवर्द्धन हुनसक्छ न त नेपालजस्तो देशको सही प्रतिनिधित्व नै हुनसक्छ ।

६) नीतिगत सुधार र सहजता

पर्यटकलाई प्रवेशाज्ञा वितरणमा एकद्वार नीति अनाउन सकिन्छ । भिसा नीति सहज र सरलता बनाउनुपर्छ । कर छुटलगायतका प्रोत्साहन कायम भए निजी क्षेत्रले यस क्षेत्रमा थप हातेमालो गर्न सक्छ । निजी–सरकारी सहभागिताबाट पूर्वाधार विकास तथा सञ्चालन, मानवस्रोत विकास, दिगो पर्यटनसम्बन्धी गतिविधिहरूले तत्काल गति लिनसक्ने देखिन्छ ।

७) सुरक्षा, सरसफाइ र विश्वासको वातावरण

पर्यटक प्रहरीलाई थप मजबुत बनाई पर्यटन प्रवर्द्धनलक्षित सरसफाई अभियान, प्रवर्द्धनात्मक वन, हिमाल तथा नदी संरक्षण आयोजनाहरू सञ्चालन गरी यसलाई अझ मर्यादित बनाउन सकिन्छ । वस्तु तथा सेवाहरूमा पारदर्शी मूल्य कायम गरी पर्यटकमाथि ठगी र शोषण हुन नदिने विश्वास राज्यस्तरबाट र स्थानीय स्तरबाट दिइनुपर्छ ।

८) पर्यटनको दिगोपनाका लागि प्राथमिकता

ट्रेकिङ रुटहरूमा प्लाष्टिक निषेधित गरी स्थानीय सामग्रीहरूको उपभोग बढाउने, फोहरमैला नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने, प्रांगारिक कृषि र स्थानीय कृषि उपजहरूको खपत बढाउने, एक गाउँ–एक उत्पादनजस्ता परियोजनाहरू नियमित गर्ने, स्थानीय रूपमा प्रशोधनस्थल, भण्डारणस्थल र वितरणस्थल बनाई सहज विक्रीवितरण गर्ने जस्ता कार्यहरूले स्थानीय समुदायले प्रत्यक्ष आय एवम् रोजगारी प्राप्त गर्दछन् । यसबाट पर्यटनको दिगो विकास सम्भव हुनेछ ।

९) उच्च मूल्यको पर्यटनका रणनीतिहरूको अनुसरण

अबको प्रयत्न धेरै पर्यटकमात्रै नभई पर्याप्त खर्च गर्ने पर्यटक ल्याउनेमा हुनुपर्छ । उच्च मूल्यका पर्यटन सेवाअन्तर्गत लक्जरी रिसोर्ट, आरोग्य रिट्रिट, योग तथा प्राकृतिक चिकित्साप्रदायक सेवाहरू, ध्यानकेन्द्रलगायतका आध्यात्मिक प्याकेजहरू प्रवर्द्धन गर्नुपर्नेमा सो पर्याप्त नभएको अवस्था छ । लामो अवधिको पर्यटकका लागि डिजिटल नोम्याड भिसा जारी गर्ने, मेडिकल र एस्थेटिक टुरिजमलाई जोडेर लैजानेजस्ता कार्यहरूले नेपालको पर्यटकीय छविलाई अझ मजबुत बनाउँछन् ।

१०) सार्वजनिक निजी साझेदारी

अबको अवस्थामा राज्यले सबै व्यवसायको सञ्चालन गर्न सम्भव पनि हुँदैन र गर्दैन पनि । राज्यले उचित वातावरण दिई लगानीको सुरक्षण, आयआर्जनका विकल्पहरूको सिर्जना र विभिन्न सहुलियतहरू प्रदान गरी निजी क्षेत्रलाई यसतर्फ आकर्षित गर्नुपर्दछ । स्वदेशी श्रम, स्वदेशी पुँजी र स्वदेशी ज्ञानको सदुपयोगले स्थानीय अर्थतन्त्र स्वतः समृद्ध हुनजान्छ ।

यसर्थ, ठूला राष्ट्रिय पूर्वाधार, कानुनी वातावरण, पूँजीगत उपलब्धता एवम् राष्ट्रिय प्राथमिकता प्रदान गरी सार्वजनिक निजी साझेदारीमा जोड दिन सकिन्छ । सरकारले निजी क्षेत्र र स्थानीय समुदायलाई एकै प्लेटफर्ममा ल्याई व्यवसायका सम्भावनाहरूमा सहकार्य गर्न प्रेरित गर्नसक्छ ।

यसका लागि सरकारले तत्काल नीतिगत र कानुनी व्यवस्था गर्नुपर्छ । संरक्षित क्षेत्रभित्रका केही स्थानलाई व्यावसायिक क्षेत्र घोषणा गर्नुपर्छ । निजी क्षेत्रलाई त्यहाँ लगानीका लागि आह्वान गर्न सकिन्छ । पूर्वाधार निर्माणका लागि स्पष्ट मापदण्ड आवश्यक छ । वातावरणीय प्रभाव मूल्यांकनजस्ता प्रक्रिया सरल बनाउनुपर्छ ।

सरकारी जग्गा लामो समयको लिजमा दिन सकिन्छ । ठूला शहरी होटल ब्राण्डहरूले कम्तीमा एक ग्रामीण अतिथि सत्कार केन्द्र सञ्चालन गर्नुपर्छ । सरकारले यसमा सहजीकरण गर्नुपर्छ । तत्कालका लागि सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्छ । विद्युतजस्ता खर्चमा छुट दिनुपर्छ ।

अन्त्यमा, नेपालसँग प्रकृति, संस्कृति र अध्यात्मको ठूलो सम्भावना छ । यसलाई जोड्नुपर्छ । संख्यात्मक पर्यटनलाई गुणात्मक बनाउनु आवश्यक छ । यसका लागि सिद्धार्थ हस्पिटालिटी यस्तो सहकार्यका लागि प्रतिबद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?