+
+
Shares

गुल्मीमा हावाहुरीबाट ८२ बढी भौतिक संरचनामा क्षति, ५ विद्यालय प्रभावित

गुल्मीमा पानी सहित आएको तीव्र हावाहुरीका कारण घर, गोठ, विद्यालय तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा सोमबार राति आएको तीव्र हावाहुरीका कारण ८२ भन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ ।
  • हावाहुरीबाट सबैभन्दा बढी मालिका गाउँपालिकामा ६६ वटा संरचना र ५ वटा विद्यालयमा क्षति पुगेको छ ।
  • हावाहुरीका कारण मानवीय तथा पशुचौपायामा क्षति नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

१३ जेठ, गुल्मी । गुल्मीमा पानी सहित आएको तीव्र हावाहुरीका कारण घर, गोठ, विद्यालय तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हालसम्म प्राप्त विवरणअनुसार जिल्लाभरि ८२ भन्दा बढी संरचनामा क्षति पुगेको छ भने ५ वटा विद्यालय तथा शैक्षिक संस्थामा समेत असर परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीले बताए ।

सोमबार राति आएको पानी सहितको हावाहुरीले मानवीय तथा पशुचौपायामा भने क्षति नभएको प्रहरीले जनाएको छ । सबैभन्दा बढी क्षति मालिका गाउँपालिकामा भएको छ ।

मालिका गाउँपालिकामा गरी ६६ वटा घर, गोठ, शौचालय, सहकारी भवन, मन्दिर तथा विद्यालयमा क्षति पुगेको छ । वडा नम्बर–७ स्थित देविस्थान माध्यमिक विद्यालय र भैरव काली बोर्डिङ स्कुलको टिनको छानोमा क्षति पुगेको बोगटीले बताए ।

वडा वडानम्बर–५ स्थित सूर्योदय आधारभूत विद्यालयको शौचालयको छानो उडाएको प्रहरीले जनाएको छ । मदाने गाउँपालिकामा ९ वटा घर तथा गोठमा क्षति पुगेको छ ।

मुसिकोट नगरपालिकामा ३ वटा घरको टिनको छानो पूर्ण रूपमा क्षति भएको छ । वडा नम्बर– २ र ३ भेडी क्षेत्रमा पुगेको हो ।

छत्रकोट गाउँपालिका–४ स्थित श्री श्रृङ्गा जनता माविको विज्ञान प्रयोगशाला भवनको टिनको छानो हावाहुरीले पल्टाएको प्रहरीले जनाएको छ । यस पालिकामा १ वटा शैक्षिक संस्थामा क्षति पुगेको छ ।

यसैगरी इस्मा गाउँपालिका वडा नम्बर–४ स्थित सूर्योदय आधारभूत विद्यालयको टिनको छानो पूर्ण रूपमा उडाएको छ । केही घरहरूमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्राप्त विवरण अनुसार इस्मा गाउँपालिकामा कम्तीमा ३ वटा संरचनामा क्षति पुगेको छ ।

क्षतिग्रस्त स्थानहरूमा सम्बन्धित प्रहरी चौकी तथा अस्थायी प्रहरी पोष्टबाट प्रहरीको टोलीले विवरण संकलन गर्ने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीले विवरण संकलन गरिरहेकाले प्रभावित घर संख्या बढ्न सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?