+
+
Shares
बजेट-०८३/०८४ :

अन्त:शुल्कमा व्यापक परिवर्तन तयारी

नकारात्मक सूचीका वस्तुमा मात्रै अन्त:शुल्क लगाउने स्थापित मान्यता विपरीत खाद्यान्न, माछामासु, मसला, निर्माण सामग्री, इलेक्ट्रोनिक्स लगायत धेरै वस्तुमा अन्त:शुल्क लाग्ने गरेको छ ।

जनार्दन बराल जनार्दन बराल
२०८३ जेठ १४ गते २०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले अन्त:शुल्क लाग्ने वस्तुहरूको विद्यमान सूचीमा व्यापक कटौती गर्दै नीतिगत परिवर्तनको तयारी गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दैनिक उपभोग्य वस्तु र स्थानीय उत्पादनमा लगाइएको अन्त:शुल्क हटाउन गृहकार्य थालेका छन् ।
  • विश्व व्यापार सङ्गठनको नियम विपरीत करिब १ हजार २ सय वस्तुमा लगाइएको अन्त:शुल्कलाई भन्सार महसुलमा समायोजन गरिने भएको छ ।

१४ जेठ, काठमाडौं । सरकारले अन्त:शुल्क सम्बन्धी नीति तथा लाग्ने वस्तुमा व्यापक परिवर्तनको तयारी गरेको छ ।

सिद्धान्तत: मानव स्वास्थ्यलाई हानि गर्ने तथा राज्यले उपभोग निरुत्साहन गर्ने वस्तुमा अन्त:शुल्क लगाउने प्रचलन संसारभरि छ । खासगरी सुर्ती तथा मदिराजन्य वस्तुमा मात्रै अन्त:शुल्क लगाउने चलन छ ।

नेपालमा लामो समयदेखि अन्त:शुल्क लगाइने गरेको छ । पछिल्लो समय २०५८ को अन्त:शुल्क ऐनले मुख्यतया स्वास्थ्यमा हानि गर्ने मदिरा, सुर्ती, वातावरण बिगार्ने (प्लास्टिक, पेट्रोलियम) र विलासिता (गाडी, सफ्ट ड्रिंक्स) वस्तुहरूमा मात्र अन्त:शुल्क लाग्ने व्यवस्था गरेको थियो ।

तर, त्यसपछिका करिब अढाइ दशकमा अन्त:शुल्क लाग्ने वस्तुको सूची बढाएर करिब १ हजार २ सय वस्तुमा यो कर लगाइने गरेको छ । नकारात्मक सूचीका वस्तुमा मात्रै अन्त:शुल्क लगाउने स्थापित मान्यता विपरीत खाद्यान्न, माछामासु, मसला, निर्माण सामग्री, इलेक्ट्रोनिक्स लगायत धेरै वस्तुमा अन्त:शुल्क लाग्ने गरेको छ ।

विदेशबाट आयात हुने वस्तु निरुत्साहित गर्ने हो भने एन्टिडम्पिङ वा काउन्टरभेलिङ ड्युटी लगाउनुपर्नेमा अन्त:शुल्क लगाउने अभ्यास पनि नेपालले गर्ने गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसरी जथाभावी अन्त:शुल्क लगाइएका वस्तुको सूचीमा व्यापक कटौती गर्न लागेको अर्थ मन्त्रालय स्रोतले बतायो ।

‘दैनिक उपभोग्य वस्तुहरू, आयातित तरकारी तथा फलफूल तथा स्थानीय उद्योगले उत्पादन गर्ने सामानसम्म अन्त:शुल्क लगाइयो, यो अन्त:शुल्कको मान्यता विपरीतका काम थियो,’ अर्थ मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो ।

यस पटक यसरी विभिन्न चरणमा अन्त:शुल्क लाग्ने सूचीमा थपिएका वस्तुलाई व्यापक कटौती गर्ने तयारी छ । त्यस्तै आयात र स्थानीय उत्पादनलाई अन्त:शुल्कमा फरक व्यवहार गर्ने गरेकोमा त्यो विभेद हटाउनेबारे पनि छलफल भएको स्रोतको भनाइ छ ।

विगतमा अन्त:शुल्कलाई समेत भन्सार दरबन्दी जस्तो व्यवहार गरिएकोमा त्यसलाई यस पटक सच्याउने स्रोतले बताए ।

‘हामी विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य भएकाले ४० प्रतिशतभन्दा बढी भन्सार लगाउन पाइँदैन । त्यसो हँुँदा भन्सार त्यसमुनि नै राख्ने र त्यसबाहेक लगाउन खोजेको करमा अन्त:शुल्क लगाउने गरियो,’ स्रोतले भन्यो, ‘अब अन्त:शुल्क हटाएर ४० प्रतिशतभन्दा कम भन्सार भएकोमा बरु दरबन्दी नै बढाउने तयारी छ ।’

हाल अन्त:शुल्क लागेका प्रमुख वस्तु :

१. खाद्य तथा कृषिजन्य वस्तु

मासुजन्य वस्तु : घरपालुवा चराहरूको ताजा वा वहमीकृत (फ्रोजन) मासु ।

दुग्ध पदार्थ : गाढा पारिएको वा चिनी हालिएको दूध र तर ।

फलफूल र बदाम : केरा, खजुर, छोकडा, भुइँकटहर, आँप, सुन्तलाको रस, बदाम, काजु र पिस्ता ।

मसला र दलहन : मरिच, बेसार, केशर र दलहनका पिठो ।

चिनी र मिठाइ : सख्खर, खुँदो, चुइँगम, चकलेट र कोकोयुक्त मिठाइ ।

प्रशोधित खाद्य वस्तु: पास्ता, नुडल्स, कर्नफ्लेक्स, बिस्कुट, कुरमुरे, लेज, चीजबल र दालमोठ ।

२. पेय पदार्थ

अल्कोहल रहित पेय : बोतलको पानी, इनर्जी ड्रिंक्स र हल्का पेय पदार्थ  ।

मदिराजन्य पदार्थ : बियर, वाइन, छ्याङ, साइडर, ब्रान्डी, ह्विस्की, रम, जिन, भोड्का र मदिरा मिश्रित तयारी पेय पदार्थ ।

३. सुर्तीजन्य वस्तु

अपरिमार्जित सुर्ती, सिगार, चुरोट (फिल्टर भएको र नभएको), बिँडी, जर्दा, खैनी, गुट्खा, हुक्का फ्लेभर र विद्युतीय चुरोट (भेप) ।

४. निर्माण सामग्री र धातुका वस्तु

ढुङ्गा र सिमेन्ट : सङ्गमर्मर (मार्बल), ग्रेनाइट र विभिन्न प्रकारका सिमेन्ट ।

फलाम र स्टिल : फलामका इनगट, रड, पाता, डन्डी, एंगल, च्यानल, काँडेतार र जस्तापाता ।

अन्य धातु : आल्मुनियमका पाता र संरचना ।

५. रासायनिक, सौन्दर्य र सरसफाइका सामान

पेन्ट र रङ : इनामेल र विभिन्न प्रकारका रङ ।

सौन्दर्य प्रसाधन : अत्तर (पर्फ्युम), ओठ र आँखा सजाउने सामग्री, क्रिम, लोसन र पाउडर ।

कपाल र दाँतको हेरचाह : स्याम्पु, हेयर आयल, हेयर कलर, टुथपेस्ट र डेन्टल फ्लस ।

साबुन र डिटर्जेन्ट : नुहाउने र लुगा धुने साबुन, डिटर्जेन्ट पाउडर र सेम्पिङ क्रिम ।

६. प्लास्टिक, रबर र काठका वस्तुहरू

प्लास्टिक: प्लास्टिकका पाइप, पाता, बोतल, जार, र घरायसी प्लास्टिकका सामानहरू ।

काठ: दाउरा, काठको गोल, प्लाईउड, ढोका, झ्यालका फ्रेमहरू र फर्निचर  ।

७. मेसिनरी, इलेक्ट्रोनिक्स र सञ्चार उपकरण

मेसिनरी : इन्जिनका पार्टपुर्जा, पम्प, एयर कन्डिसनरका भाग ।

इलेक्ट्रोनिक्स : ब्याट्री, पावर बैंक, भ्याकुम क्लिनर र स्पार्क प्लग ।

सञ्चार र प्रविधि : स्मार्टफोन, राउटर, स्मार्ट घडी, कम्प्युटर, ल्यापटप, सफ्टवेयर र टेलिभिजन ।

८. सवारीसाधन

बस, मिनिबस, माइक्रोबस, जिप, कार, भ्यान, सामान ओसार्ने ट्रक, टिपर, डम्पर र मोटरसाइकल (विद्युतीय र इन्धनबाट चल्ने दुवै)  ।

९. अन्य विविध वस्तु

जुत्ता–चप्पल, छाता, कृत्रिम फूल, काँचका सामान, नक्कली गहना, ताल्चा, फर्निचर, ओछ्यानका सामान, खेलौना र भ्याकुम फ्लास्क ।

लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?