News Summary
Generated by OK AI. Editorially reviewed.- उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई सबल बनाउन संविधानप्रदत्त अधिकार र कर्तव्य पालना गर्नुपर्ने बताए ।
- उनले जनअपेक्षाअनुरूप संवेदनशील शासन प्रणाली निर्माणका लागि गणतन्त्र दिवस आत्ममूल्याङ्कनको अवसर भएको उल्लेख गरे ।
- नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको लामो सङ्घर्ष, जनआन्दोलन र शहीदहरूको बलिदानबाट स्थापना भएको उनले स्मरण गरे ।
१५ जेठ, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने बताएका छन् । उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ ।
गणतन्त्र दिवस, २०८३ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले भनेका छन्, ‘संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात् गर्दै अघि बढ्न सकेमात्र हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ र जीवन्त रहन सक्छ ।’
उनले अगाडि भनेका छन्, ‘गणतन्त्र जनताको शासन प्रणाली हो, जहाँ सम्पूर्ण शक्ति जनतामा निहित हुन्छ, जनताद्वारा निर्वाचित जनप्रतिनिधिले जनताप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म हो ।’
‘गणतन्त्र दिवस’ हाम्रा लागि उत्सवमात्र नभई आत्ममूल्याङ्कनको अवसर पनि भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले जनअपेक्षाअनुरूप संवेदनशील शासन प्रणाली निर्माण गर्न सक्यौँ वा सकेनौँ भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताएका छन् ।
वञ्चित, उत्पीडित, उपेक्षित समुदायको सक्रिय सहभागिताबिना कुनै पनि गणतन्त्र बलियो र स्थायी हुन सक्दैन भन्ने गहिरो सत्यलाई सदैव सम्मान गर्न सक्नुपर्ने उनको भनाइ छ ।
उपराष्ट्रपति यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना नेपाली जनताको दीर्घ सङ्घर्ष, ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, मधेश जनविद्रोह तथा असंख्य शहीदहरूको बलिदानको परिणामबाट भएको पनि उल्लेख गरेका छन् ।
उनले दिवसका अवसरमा महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अङ्गभङ्ग भएका तथा बेपत्ता पारिएका वीरहरूलाई उच्च सम्मान पनि व्यक्त गरेका छन् ।
देशको वर्तमान व्यवस्थाले वंशपरम्परागत शासनलाई अन्त्य गर्दै सत्ता र शक्तिको दुरुपयोगलाई निषेध गरेको बताउँदै उनले त्यसलाई पुन: कमजोर पार्ने प्रयास लोकतन्त्र, संघीयता र गणतन्त्रका मूल्यहरूलाई क्षति पुर्याउने कार्य हुने उल्लेख गरेका छन् ।
उपराष्ट्रपति यादवले भनेका छन्, ‘नेपालको गौरवशाली परम्परा, सांस्कृतिक विविधता, राष्ट्रिय उपलब्धि र प्रगतिलाई उजागर गर्ने अवसरका रूपमा गणतन्त्र दिवसलाई मनाउन सकियोस् । लोकतन्त्र, सङ्घीयता, समावेशिता र संविधानका महान् उपलब्धिहरूको रक्षा गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सबल बनाउन यो दिवसले हामी सबैलाई प्रेरणा प्रदान गरोस्, गणतन्त्र दिवसका अवसरमा पुन: हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछु ।’
प्रतिक्रिया 4