+
+
Shares

बौद्ध विश्वविद्यालय, चिकेनरोस्ट र हाम्रो सोच

‘बौद्ध विश्वविद्यालयले विद्यार्थीलाई चिकेनरोस्ट पकाउन लगायो’ भन्ने सांसदको व्यङ्ग्यले यतिबेला शिक्षा क्षेत्रमा नयाँ बहस जन्माएको छ। के विश्वविद्यालयहरू आफ्नो नाम र परम्परागत दर्शनमै खुम्चिएर बस्नुपर्छ कि समयको मागअनुसार आधुनिक सीप र प्रविधिसँग जोडिनुपर्छ ?

वसन्त आचार्य वसन्त आचार्य
२०८३ जेठ १५ गते ९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा हाल १५ वटा राष्ट्रिय, ६ वटा प्रादेशिक विश्वविद्यालय र ८ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित २९ वटा उच्च शैक्षिक संस्थाहरू सञ्चालनमा छन्।
  • विसं २०४३ मा स्थापना भएको नेपाल संस्कृत विश्वविद्यालयले नयाँ पुस्तालाई आकर्षित गर्न नसक्दा विद्यार्थीको चाप निरन्तर घटिरहेको छ।
  • विश्वविद्यालयहरूलाई समयानुकूल बनाउन परम्परागत ज्ञानलाई आधुनिक प्रविधि तथा व्यावसायिक सीपसँग जोड्नुपर्ने आवश्यकता देखिएको छ।

सरकारको प्राथमिकताका कुराहरूमा सुझाव राख्दै सत्तापक्षका एक माननीयले लुम्बिनी बौद्ध विश्वविद्यालयले ‘हस्पिटालिटी म्यानेजमेन्ट’ विषय अध्यापन गराएको कुराप्रति नकारात्मक टिप्पणी गरेको सुनियो। ‘बौद्ध विश्वविद्यालयले विद्यार्थीलाई चिकेनरोस्ट पकाउन लगाएको’ भन्ने उहाँको व्यङ्ग्य थियो। विश्वविद्यालयहरूले नाम अनुसार काम गर्ने कि समयको माग अनुसार ? भन्ने प्रश्न यो प्रसङ्गले उठाएको छ।

सत्तापक्षकै बलशाली सांसदले सरकारका प्राथमिकताका कुराहरूमा टिप्पणी गरेका कारण सम्भवतः उहाँले भने जस्तै गरी विश्वविद्यालयको पुनर्संरचना गर्ने कुरा अगाडि आउन सक्ला। अहिले विश्वविद्यालय पुनर्संरचना गर्ने भन्ने कुरा जोडतोडले उठिरहेको छ। विद्यमान केही बेथितिहरूलाई रोक्नका लागि यो आवश्यक पनि छ।

तर हामीले गर्ने पुनर्संरचनाले विश्वविद्यालयलाई नयाँ मोडमा लैजान्छ कि फेरि पुरानै अवस्थाभन्दा झन् जटिल बनाउँछ भन्ने कुराका बारेमा भने वस्तुनिष्ठ भएर विश्लेषण गर्नुपर्ने देखिन्छ। हामीले सतही रूपमा अध्ययन गरेर बोल्दा र बोलेको कुरालाई सरकारको नीतिमा प्रतिबिम्बित गर्दा त्यसको दूरगामी प्रभाव के पर्छ भन्ने बारेमा पनि गहिरोसँग हेक्का राख्नुपर्छ।

नेपालमा हाल उच्च शिक्षाका लागि २९ वटा शैक्षिक संस्था छन्। जसमा १५ वटा राष्ट्रिय विश्वविद्यालय, ६ वटा प्रादेशिक विश्वविद्यालय र ८ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू रहेका छन्। हाल सञ्चालनमा रहेका विश्वविद्यालयमध्ये नेपाल संस्कृत विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय अलिक विशिष्ट प्रकृतिका विश्वविद्यालय हुन्।

नेपालकै दोस्रो विश्वविद्यालयका रूपमा २०४३ सालमा स्थापना भएको नेपाल संस्कृत विश्वविद्यालय विद्यार्थी विनाको विश्वविद्यालयका रूपमा रूपान्तरित हुने अवस्थामा पुगेको छ। संस्कृत विषयमा नयाँ पुस्तालाई आकर्षित गर्न नसक्दा हरेक वर्ष विद्यार्थी सङ्ख्याको ग्राफ निरन्तर ओरालो लागिरहेको छ। पूर्वीय दर्शनको केन्द्रका रूपमा संसारभरि नै स्थापित हुनसक्ने विश्वविद्यालय किन अहिलेसम्म आकर्षणको केन्द्र बन्न सकेन ? हामीले यस विषयमा अध्ययन गर्‍यौं कि गरेनौं ? मूलभूत कुरा यही नै हो।

कतै नेपाल संस्कृत विश्वविद्यालयले जस्तोसुकै जटिलतामा पनि रुढि भएर संस्कृत बाहेकका कार्यक्रमहरूमा हात हाल्नुहुँदैन भनेर यस्तो भएको त होइन ? विश्व समुदायसँग प्रतिस्पर्धा गर्न खोजिरहेको आजको पुस्तालाई भाषामा मात्र अड्याउन खोज्दा साँघुरो देखेर तर्सेका त होइनन् ? एक समय आईएस्सी अध्यापन गराउँदा विश्वविद्यालयमा विद्यार्थीको चाप निकै बढेको थियो। विज्ञान अध्ययन गर्ने विद्यार्थीले संस्कृत समेत अध्ययन गर्थे। यसले नयाँ पुस्तालाई तान्ने काम गरिरहेको थियो।

विद्यार्थीमैत्री संस्कृत शिक्षा कतै आजको आवश्यकता त होइन ? परम्परागत ज्ञानको दायरालाई फराकिलो बनाउँदै आधुनिक प्रविधि र व्यावहारिक सीपसँग संस्कृत शिक्षालाई जोड्न नसक्नु नै आजको मुख्य चुनौती हो। वास्तवमा, शिक्षा भनेको जडता होइन, यो त समयको प्रवाहसँगै परिष्कृत हुँदै जाने एक गतिशील प्रक्रिया हो।

लुम्बिनी बौद्ध विश्वविद्यालयले होटल व्यवस्थापन र पर्यटन विषय अध्यापन गराउनु हुन्छ वा हुँदैन ? अथवा नेपाल संस्कृत विश्वविद्यालयले अन्य कुनै संस्कृत बाहेकका कार्यक्रम सञ्चालन गर्दा त्यसले संस्कृत भाषालाई ओझेलमा पार्छ वा पार्दैन ? आज कृषि र वन विज्ञान विश्वविद्यालयको समेत आकार खुम्चिंदै गएको छ। यसका बारेमा मन्थन जरूरी छ। हामीले प्राज्ञिक संस्थाहरूलाई समयसापेक्ष बनाउन नसक्दा भोग्नुपरेको यो गतिरोधलाई चिर्न अब ढिला भइसकेको छ।

परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोडेर अघि बढ्ने आँट नगर्ने हो भने हाम्रा विश्वविद्यालयहरू डिग्री बाँड्ने थलोमा सीमित हुनेछन्। तसर्थ, पाठ्यक्रममा आमूल परिवर्तन गर्दै अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्नुपर्ने चुनौतीलाई अवसरका रूपमा लिनु नै आजको अपरिहार्य आवश्यकता हो।

जुन उद्देश्यले विश्वविद्यालय खोलिएको हो, सो उद्देश्यमा विश्वविद्यालयहरू केन्द्रित हुनु मनासिव नै हो। तर विद्यार्थीको आकर्षण र समयको मागलाई सम्बोधन गर्नका लागि विश्वविद्यालयले नयाँ–नयाँ कोर्सहरू निर्माण गरेर लागू गर्न पनि त सक्छ। अझ त्यसमा आजको पुस्ताका लागि आवश्यक रहेको सीपमूलक शिक्षा झनै टड्कारो आवश्यक देखिन्छ।

यस्तो अवस्थामा विद्यार्थीलाई बुद्ध दर्शनतिर आकर्षित गर्नका लागि उनीहरूले रोजेका विषयहरू अध्यापन गराएर बुद्ध दर्शनका बारेमा पनि विषय समावेश गरेर कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। अनि मात्र आजको पुस्ता आकर्षित हुन्छ। पढ्दापढ्दै काम गर्न खोज्ने आजको फास्टफुड पुस्तालाई दर्शन मात्र पढाउन खोजियो भने उनीहरूको भविष्यमाथिको प्रश्न पनि हो।

दर्शन जोगाउने नाममा विश्वविद्यालयहरू कट्टर पनि हुनुहुँदैन। ‘बौद्ध विश्वविद्यालय’ नामकरण भएको आधारमा बुद्ध दर्शन मात्र अध्यापन गराउनुपर्छ भन्ने कुरा वैज्ञानिक हुन सक्दैन। बुद्धलाई धर्म र दर्शनसँग मात्र हामीले कैद गर्नुहुँदैन। यसको महत्त्व असीमित छ। आज बुद्धकै कारण नेपालको पर्यटन क्षेत्रले फस्टाउने अवसर प्राप्त गरेको छ। हामीले बुद्धलाई ध्यान र ज्ञानसँग मात्र जोड्ने होइन, यसको फराकिलो आयामलाई आत्मसात् गर्नुपर्छ। बुद्धलाई चीवर लगाउनेहरूका माझमा मात्र होइन, टाईसुट लगाउनेहरूका बीचमा पनि लैजान सक्नुपर्छ।

बुद्ध नेपालमा जन्मिए भन्ने कुरा हाम्रो महत्त्वपूर्ण सम्पत्ति हो। विश्व समुदायलाई ‘नेपाल टेक्न पाए हुन्थ्यो’ भन्ने हुटहुटी जगाउने एउटा महत्त्वपूर्ण कुरा यो पनि हो। संसारभरका मानिसहरू बुद्ध जन्मेको भनेर लुम्बिनी हेर्नका लागि आइरहेका छन्। यसको मतलब यो होइन कि उनीहरू भन्ते नै बन्न चाहन्छन् वा बुद्ध दर्शनलाई गहिरोसँग अध्ययन गर्न चाहन्छन्। लुम्बिनी विश्वभरका बुद्ध धर्मप्रति आस्था राख्नेहरूको केन्द्र मात्र होइन, पर्यटकीय क्षेत्र पनि हो।

यहाँ आउने पर्यटकहरूलाई उचित आतिथ्यता प्रदान गर्नु हाम्रो दायित्व हो। बुद्ध दर्शन पनि जानेको कुनै विद्यार्थीले पर्यटनका बारेमा पनि जानकारी राख्यो भने त्यसले पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका बहन गर्न सक्छ। हामीले एकतर्फी नभई बहुआयामिक दृष्टिकोण अपनाउनु आजको आवश्यकता हो। बुद्धको शान्ति र अहिंसाको सन्देशलाई पर्यटनको प्रवर्धनसँग जोड्न सके मात्र हामीले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्छौं।

विश्वविद्यालयहरूले समयानुकूल आफूलाई परिवर्तन गर्दै लैजानुपर्ने हुन्छ। कुनै पनि कार्यक्रम सञ्चालन गर्नका लागि यो स्वायत्त पनि हुन्छ। विश्वविद्यालयले उत्पादन गरेको जनशक्ति कस्तो छ ? विद्यार्थीको आकर्षण कस्तो छ ? यस विषयमा गहिरो मन्थन गर्नुपर्छ। ‘यो बाहेक अरू गर्नुहुँदैन’ भन्ने रुढताले विश्वविद्यालयसँगै समग्र उच्च शिक्षालाई कमजोर बनाउँछ।

लेखक
वसन्त आचार्य

आचार्य, तुलसीपुर बहुप्राविधिक शिक्षालयका प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?