News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्तिमाथि चर्को आलोचना भइरहेको छ ।
- संवैधानिक कानूनविद् डा. भिमार्जुन आचार्यले प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई अति नै असामान्य र गम्भीर भनी टिप्पणी गरेका छन् ।
- आचार्यले प्रधानमन्त्रीको भनाइले नेपाली भूमि अतिक्रमण गर्ने कार्यलाई वैधता मिल्ने र भौगोलिक अखण्डता रक्षामा असर पुग्ने बताएका छन् ।
१७ जेठ, काठमाडौं । संवैधानिक कानूनविद् डा. भीमार्जुन आचार्यले नेपालले पनि भारतको सीमा मिचेको भन्दै प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शाहले आजै प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको र आफू प्रधानमन्त्री भएपछि त्यसबारे जानकारी पाएको बताएका थिए ।
उनको अभिव्यक्तिमाथि चर्को आलोचना भइरहेको छ ।
यसैबीच संवैधानिक कानूनविद् डा. आचार्यले प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्ति अपेक्षित नभएको बताएका हुन् ।
‘नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ । दुई देश बीचमा तेस्रो देशको उपस्थितिको आह्वान अझै चिन्ताजनक छ,’ उनले भनेका छन्, ‘आजसम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन । यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन ।’
उनको सरकार प्रमुखबाटै आएको यस्तो अभिव्यक्तिले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न सरकारले चाहँदैन वा सक्दैन भन्ने कुरा दर्शाएको पनि उल्लेख गरेका छन् ।
‘यसको सबै भन्दा ठूलो असर नेपाली भूमि जसरी जुनस्तरमा अतिक्रमण भैरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो । सीमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन वा सक्दैन भन्ने कुरा दर्शाउँछ ।’
उनले सिंगो देश र देशवासी यसबारे सचेत हुनुपर्ने पनि बताएका छन् । ‘सिंगो देश र देशवासी झनै सचेत हुनुपर्ने समय आए जस्तो छ,’ उनले भनेका छन् ।
प्रतिक्रिया 4