News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गर्दै सम्पन्न भएको छ ।
- महोत्सवको अन्तर्राष्ट्रिय विधामा ‘द ओल्डेस्ट मुनरो ब्यागर’ उत्कृष्ट फिचर वृत्तचित्र र ‘द एलिसियन फिल्ड’ उत्कृष्ट फिचर फिक्सन घोषित भए ।
- नेपाल पानोरमा अन्तर्गत ‘माइ मम इज बडी बिल्डर’ उत्कृष्ट वृत्तचित्र र ‘साँझका रङहरू’ उत्कृष्ट कथानक चलचित्र बन्दै जनही १ लाख रुपैयाँबाट पुरस्कृत भए ।
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको महोत्सवमा फिल्म प्रदर्शन, संवाद र सांस्कृतिक आदानप्रदान कार्यक्रम संचालन भए ।
महोत्सवमा २९ देशका ५० भन्दा बढी फिल्म प्रदर्शन गरिनुका साथै छलफल सत्र, स्टल, प्रदर्शनी तथा नेपाल र विश्वभरका विविध कथावाचनलाई उत्सवका रूपमा प्रस्तुत गर्ने कार्यक्रम सम्पन्न भए ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर वृत्तचित्रको पुरस्कार ‘द ओल्डेस्ट मुनरो ब्यागर’ ले प्राप्त गर्दै १,५०० अमेरिकी डलर नगद पुरस्कार जित्यो भने ‘द एन्टी एक्सिपिडिसन’ उत्कृष्ट लघु वृत्तचित्र घोषित हुँदै १,००० अमेरिकी डलर नगद पुरस्कारको विजेता बन्यो ।
कथानक फिल्मतर्फ ‘द एलिसियन फिल्ड’ उत्कृष्ट फिचर फिक्सन घोषित हुँदै १,५०० अमेरिकी डलर नगद पुरस्कार जित्न सफल भयो भने ‘एली’ उत्कृष्ट लघु फिक्सन घोषित हुँदै १,००० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्न सफल भयो ।

भारतीय फिल्ममेकर दीप्ती डी’कुन्हाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा थाइल्याण्ड फिल्म अभिलेखालयकी निर्देशक चालिदा उआबुमरुङजित, लेखक तथा कवि कुमार नगरकोटी र इटलीस्थित सेर्भिनो सिनेमाउन्टेन महोत्सवका निर्देशक लुका बिच सहभागी थिए ।
निर्णायक मण्डलले यस वर्षका उत्कृष्ट फिल्मको मूल्याङ्कन गरी विजेता छनोट गरेको थियो । नेपाल पानोरमा खण्डअन्तर्गत ‘माइ मम इज बडी बिल्डर’ उत्कृष्ट वृत्तचित्र घोषित भयो भने ‘साँझका रङहरू’ उत्कृष्ट कथानक फिल्म विधामा विजयी भयो । यी प्रत्येक फिल्मले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
यस खण्डको मूल्याङ्कन फ्रान्सेली सांस्कृतिक संस्था एलायन्स फ्रान्सेज काठमाडौंकी सांस्कृतिक तथा सञ्चार संयोजक लुसी दे बारोस, नेपाली फिल्मकर्मी नवीन चौहान र पत्रकार रीना मोक्तानले गरेका थिए ।
१ लाख रुपैयाँ राशिको दर्शक पुरस्कार चर्चित जापानी निर्देशक साकामोटो जुन्जीको फिल्म ‘क्लाइम्बिङ अफ लाइफ’ ले प्राप्त गर्यो । यो फिल्म सगरमाथा आरोहण गर्ने पहिलो महिला जुन्को तोबईको जीवनीमा आधारित छ ।
यस वर्षको किम्फमा त्रिवेणी राई निर्देशित ‘सेप अफ मोमो’ ओपनिङ फिल्मको रुपमा थियो । यस वर्षका विशेष आकर्षणमध्ये ‘क्लाइम्बिङ फर लाइफ’ को विशेष प्रदर्शन, चलचित्र र सेन्सरसिपसम्बन्धी संवाद, तथा नेपाली फिल्म निर्माणको बदलिँदो परिदृश्यबारे छलफल प्रमुख थिए ।

प्रतिक्रिया 4