0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

दूधमा रसायन मिसावट : भान्सामा भित्रिरहेको ‘मन्द विष’

खाद्य प्रविधि विभागले बेलाबेला बजार अनुगमन गर्ने र केही उद्योगका नमुना संकलन गर्ने गरे पनि दोषीमाथि कडा कारबाही हुन नसक्दा मिसावटको धन्दा झनै मौलाउँदै गएको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ जेठ २५ गते ९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको जोरपाटी दुग्ध सहकारी संस्थाले अखाद्य रसायन मिसाई नक्कली दूध बनाई डीडीसी र खुला बजारमा बिक्री गरेको फेला परेको छ ।
  • काभ्रेको पनौती र बुटवलमा संकलन गरिएको दूधमा चिनी तथा सोडाजस्ता घातक रसायन मिसावट भेटिएपछि नष्ट गरिएको छ ।
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको ९ महिनामा दूधमा मिसावट गर्नेहरूविरुद्ध ८२ वटा मुद्दा दायर गरेको छ ।

२५ जेठ, काठमाडौं । दूधलाई खाद्यवस्तुका रूपमा मात्र नभई शुद्धता, शक्ति र पोषणको अकाट्य स्रोतका रूपमा लिइन्छ । हरेक दिन बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एक गिलास दूध पूर्ण आहार मानेर ढुक्कसँग पिउन दिइने गरिन्छ ।

घर मात्रै नभई साना चियापसलदेखि ठूला क्याफे तथा तारे होटलसम्म पनि ठूलो परिमाणमा दूध प्रयोग र खपत हुन्छ ।

तर, पछिल्लो समय सरकारी निकायका प्रतिवेदन र प्रयोगशालाका परीक्षणहरूले बाहिर ल्याएको तथ्यले दूधका माध्यमबाट हाम्रो भान्सामा ‘मन्द विष’ भित्रिरहेको देखाउँछ ।

बजारमा उपलब्ध दूध धेरै समयसम्म नबिग्रिने बनाउन र अत्यधिक नाफा कमाउनका लागि केही दुग्ध उद्योगी र संकलकहरूले मानव स्वास्थ्यमाथि गम्भीर अपराध गरिरहेका छन् ।

नेपाली बजारमा प्राकृतिक दूधको बदलामा कृत्रिम दूध तयार गरी बिक्री–वितरण भइरहेको भेटिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ३१ वैशाखमा भक्तपुरमा सञ्चालित एउटा दुग्ध उद्योगमा गरेको अनुगमन क्रममा यस्तै गम्भीर लापरबाही फेला पारेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं र प्रहरी वृत्त जगातीको एउटा संयुक्त टोलीले सूर्यविनायक नगरपालिका–९ मा सञ्चालित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड अनुगमन गर्दा उद्योगको प्रशोधन कक्षबाट दूधमा मिसावट गर्न प्रयोग गरिने ५६ किलो ‘डेक्स्ट्रोज मोनोहाइड्रेट’, ९.८६ किलो ‘माल्टोडेक्स्ट्रिन’ र ३० किलो ‘बेकरी सर्टेनिङ’ बरामद गरिएको थियो ।

यस्ता अखाद्य पदार्थ मिश्रणबाट नक्कली दूध तयार गरी उक्त उद्योगले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र खुल्ला बजारमा समेत बिक्री गर्दै आएको रहस्य खुलेको थियो ।

अनुगमन टोलीले उक्त उद्योगमा पास्चराइजर ट्यांकमा हालेर पगाल्न तयारी अवस्थामा राखिएको ३० किलो ‘बेकरी सर्टेनिङ’ जस्तो देखिने चिल्लो पदार्थ समेत फेला पारेको थियो ।

टोलीले उद्योगभित्रका तीन वटा चिलिङ भ्याटमा भरिएको दूधबाट तीन थान र शंकास्पद चिल्लो पदार्थबाट एक थान नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाएको थियो ।

जेठ पहिलो साता डीडीसीले काभ्रेबाट संकलन गरी ल्याएको दूधमा पनि गम्भीर कैफियत फेला पारेको थियो । काभ्रे पनौतीस्थित चिस्यान केन्द्रमार्फत विभिन्न सहकारी र फार्मबाट ल्याइएको ३ हजार २० लिटर दूध अखाद्य पाइएपछि संस्थानले त्यसलाई नियन्त्रणमा लिई नष्ट गरेको थियो ।

प्रयोगशालामा गरिएको प्राविधिक परीक्षणमा उक्त दूधमा चिनी मिसाइएको, अस्वाभाविक गन्ध आएको र तोकिएको न्यूनतम मापदण्ड समेत पूरा नभएको तथ्य पुष्टि भएको थियो ।

बजारमा कमसल दूध पुगिरहेको र उपभोक्ताको विश्वास गुम्दै गएको व्यापक गुनासो आएपछि डीडीसीले दूध संकलन, गुणस्तर र वितरणमा कडा निगरानी सुरु गरेको थियो । सोही क्रममा पनौतीबाट आएको दूधमा यस्तो मिसावट भेटिएको थियो ।

उक्त दूध खरिद प्रकरणमा डीडीसीका कर्मचारीको समेत मिलेमतो रहेको हुन सक्ने आशंका गरिएको थियो ।

यस्तै बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिक्री भइरहेका केही दूध आपूर्तिकर्ताको दूधमा सरकारले तोकेभन्दा कम गुणस्तर र मिसावट भेटिएपछि उपमहानगरपालिकाले सूचना नै जारी गरेको थियो ।

बुटवल उपमहानगरपालिका तथा खाद्य प्रविधि एवं गुण नियन्त्रण कार्यालय भैरहवाको संयुक्त टोलीले ७ र ८ मा गरेको अनुगमन क्रममा कपिलवस्तु, नेपालगञ्ज, रुपन्देही मर्चवारी र शुद्धोधन गाउँपालिकाबाट आपूर्ति हुने दूधमा गम्भीर समस्या फेला पारेको थियो ।

अनुगमन क्रममा दूध लामो समयसम्म नफाटोस् भन्ने उद्देश्यले सोडा लगायत घातक रसायन मिसाइएको पाइएको थियो । बुटवलका विभिन्न डेरीमा दूध आपूर्ति गर्ने १२ वटा सप्लायर्समध्ये १० वटाको दूधमा यस्ता रसायन मिसावट पुष्टि भएको थियो । साथै, परीक्षण गरिएका नमुनामा दूधमा हुनुपर्ने आवश्यक फ्याट र एसएनएफको मात्रा समेत निकै कम पाइएको थियो ।

हेटौंडाको गायत्री डेरीमा फोहोरको थुप्रो

मकवानपुर हेटौंडा–२ स्थित गायत्री डेरी इन्डस्ट्रिज प्रालिमा गरिएको अनुगमनमा उद्योगको प्रवेशद्वारमै फोहोरको थुप्रो भेटिएको थियो ।

१९ जेठमा गरिएको निरीक्षणमा उद्योगमा कार्यरत कामदारहरूले मास्क, हेयरनेट र एप्रोन नलगाइ काम गरिरहेको तथा हातमा चुरा र औँठीजस्ता गहना लगाएका कारण दुग्ध पदार्थमा संक्रमणको उच्च जोखिम देखिएको थियो ।

यस्तै दूध प्रशोधन हुने ठाउँमै प्लास्टिकका डोरी र ट्युबजस्ता काम नलाग्ने अखाद्य सामग्री छरपस्ट अवस्थामा फेला परेका थिए ।

यी त केही उदाहरण मात्रै हुन् । यस्तो लापरबाही देशभरिकै डेरी उद्योगमा भेटिने गरेको छ । अनुगमन क्रममा सबैजसो डेरी तथा दुग्ध उद्योगमा सरसफाइको निकै कमी पाइएको छ ।

विगतमा पनि दूध संकलन केन्द्रदेखि ठूला डेरी उद्योगसम्म पुग्दा दूधमा कास्टिक सोडा, डिटर्जेन्ट पाउडर, युरिया मल, हाइड्रोजन पेरोक्साइड र चिनीजस्ता घातक वस्तु मिसावट हुने गरेका घटना बाहिरिएका थिए ।

दूधको अम्लीयपन नष्ट गरी त्यसलाई फाट्नबाट जोगाउन लुगा धुने साबुनमा प्रयोग हुने कास्टिक सोडा मिसाइन्छ भने दूध पातलो भए त्यसलाई बाक्लो र फिँज आउने बनाउन डिटर्जेन्ट पाउडर प्रयोग गरिन्छ ।

अझ दूधमा प्रोटिनको मात्रा बढी देखाउनका लागि खेतीपातीमा प्रयोग गरिने युरिया मलसमेत मिसाउने गरिएको तथ्यहरूले पुष्टि गरेका छन् । यी रसायन कुनै पनि हालतमा मानव शरीरले पचाउन सक्दैनन् र यसको निरन्तर प्रयोगले शरीरभित्र बिस्तारै असर देखाउन थाल्ने स्वास्थ्यविद्हरू बताउँछन् ।

खाद्य विभाग प्रवक्ता एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले पछिल्लो समय बजारमा उपलब्ध दूधमा गुणस्तरको कमी र घातक रसायन मिसावट मुख्य समस्याका रूपमा देखिएको बताइन् ।

डा. शर्माका अनुसार विभागले गरेको अनुगमन क्रममा धेरैजसो दुग्ध उद्योगमा सरसफाइको कमी र सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा नभएको पाइएको छ ।

दूधमा कम्तीमा ३ प्रतिशत ‘फ्याट’ र ८ प्रतिशत ‘एसएनएफ’ हुनुपर्ने कानुनी व्यवस्था भए पनि बजारका नमुनामा २.५ देखि २.९ प्रतिशतसम्म मात्र फ्याट र ७.१ देखि ७.८ प्रतिशतसम्म मात्र एसएनएफ भेटिने गरेको छ ।

गुणस्तरको यो कमीबाहेक दूधलाई नफाटोस् भन्नका लागि प्रयोग गरिने ‘न्यूट्रलाइजर’ (अखाद्य पदार्थ) हरू अर्को डरलाग्दो समस्याका रूपमा देखापरेको उनको भनाइ छ ।

‘दूधमा सोडाजस्ता न्यूट्रलाइजरहरू मिसाइएको भेटिएको छ,’ उनी भन्छिन्, ‘मापदण्डभन्दा कम हुनु न्यून गुणस्तर हो भने यस्ता रसायन मिसाइनु दूध दूषित हुनु हो ।’

यस्ता कैफियत भेटिएपछि विभागले कानुनी कारबाही प्रक्रिया तीव्र बनाएको उनको भनाइ छ ।

डा. शर्माका अनुसार चालु आर्थिक वर्ष ९ महिनामा मात्रै कैफियत र गम्भीर लापरबाही भेटिएपछि ८२ वटा मुद्दा दायर गरिसकिएको छ ।

न्यून गुणस्तरको खाद्य पदार्थका हकमा सम्बन्धित जिल्लाका सीडीओ (प्रमुख जिल्ला अधिकारी) मुद्दा हेर्ने अधिकारी हुन्छन् भने दूषित पदार्थका हकमा जिल्ला अदालतमा मुद्दा जाने गर्छ । यसमा ६ महिनासम्म कैद, ३ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

भक्तपुरको जोरपाटी दुग्ध उद्योगको घटनामा अहिले मुद्दा प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ छ ।

दूधमा रसायन मिसाउँदा के हुन्छ ?

सोडा र रसायन मिसाइएको दूधले मानव शरीरको पाचन प्रणालीलाई सिधै असर गर्ने वरिष्ठ अनुसन्धान अधिकृत डा. शर्मा बताउँछिन् । ‘हाम्रो पेटमा हाइड्रोक्लोरिक एसिड हुन्छ जसले खाना पचाउन मद्दत गर्छ र ब्याक्टेरियाहरू बढ्न दिँदैन,’ उनले भनिन्, ‘तर, सोडा हालिएको दूध खाएपछि पेटको पीएच लेभल बढ्छ र एसिडको मात्रा घट्छ, यसले गर्दा अपच हुने र बिस्तारै पेटका अन्य गम्भीर रोगहरू लाग्न सक्छन् ।’

स्वास्थ्यविद्का अनुसार यस्तो मिसावटले क्यान्सर, मिर्गौलाको समस्या र छालाजन्य एलर्जी निम्त्याउन सक्छ । विशेषगरी बालबालिकामा यसको असर झनै बढी हुने सम्भावना रहन्छ ।

मिसावटयुक्त दूधले मानिसको शरीरका प्रमुख अङ्गलाई सिधै निशाना बनाउँछ । दूधमा मिसाइएको कास्टिक सोडा र डिटर्जेन्टले आमाशय र आन्द्रामा गम्भीर असर पुर्‍याइ अल्सर र पाचन प्रणालीको दीर्घकालीन समस्या निम्त्याउँछ ।

त्यसैगरी युरिया र अन्य प्रिजर्भेटिभले मिर्गौला (किड्नी) फेल गराउने र कलेजोमा स्थायी क्षति पुर्‍याउने जोखिम उच्च रहने स्वास्थ्य विज्ञ बताउँछन् ।

विशेषगरी बालबालिका जसको शारीरिक विकासका लागि दूध अनिवार्य मानिन्छ, उनीहरूका लागि यस्तो मिसावटयुक्त दूध झनै घातक सावित भइरहेको छ ।

लामो समयसम्म यस्ता रसायनयुक्त दूध सेवनले क्यान्सरजस्तो असाध्य रोग निम्त्याउन सक्ने चेतावनी डाक्टरहरूले दिइरहेका छन् । उपभोक्ताले पोषणका लागि खर्च गरेको पैसा उल्टै रोग किनेर अस्पतालको शय्यासम्म पुग्ने माध्यम बनिरहेको छ ।

गुणस्तर विपरीतको दूधले नागरिकको स्वास्थ्यमाथि खेलबाड भइरहेको भन्दै विभागले भने अनुगमन र कारबाही अझ सशक्त बनाउने बताएको छ ।

झारा टार्ने खालको अनुगमन : उपभोक्ता अधिकारकर्मी

यति ठूलो जनस्वास्थ्यको विषय हुँदाहुँदै पनि राज्यका नियमनकारी निकायहरूको भूमिका भने अत्यन्तै फितलो र झारा टार्ने किसिमको भएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।

खाद्य प्रविधि विभागले बेलाबेला बजार अनुगमन गर्ने र केही उद्योगका नमुना संकलन गर्ने गरे पनि दोषीमाथि कडा कारबाही हुन नसक्दा मिसावटको धन्दा झनै मौलाउँदै गएको उनीहरूको आरोप छ ।

कैफियत भेटिएका उद्योगहरूलाई सामान्य जरिबाना गरेर छाडिँदा उनीहरूको मनोबल झनै बढेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन दूधको चिल्लोपना (फ्याट) बढाउन र धेरै समयसम्म नबिग्रने बनाउन ‘पाम आयल’ देखि ‘युरिया’ सम्मको प्रयोग भइरहेको बताउँछन् ।

दूधमा फ्याटको मात्रा बढी देखाउन यसको प्रयोग हुने गरेको उनको भनाइ छ । ‘पाम आयल नै बेकरी सर्टेनिङ हो,’ उनी भन्छन्, ‘यो चाहिँ फ्याट बढाउनका लागि प्रयोग गरिन्छ, अर्कातिर दूधमा युरिया मल, ग्लुटेन र ग्लुकोजहरू पनि मिसाउने गरिएको छ, यो वर्षौंदेखि नरोकिएको अपराध हो ।’

दूधमा हुने यस्तो मिसावटलाई महर्जनले केवल व्यापारिक जालझेल मात्र नभई बहुआयामिक ठगीको संज्ञा दिए । उनका अनुसार उपभोक्ता अहिले तीन तहबाट ठगिइरहेका छन् ।

‘यो वास्तवमा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ र यो ठगी पनि हो,’ उनी भन्छन्, ‘यहाँ तीन प्रकारको ठगी भइरहेको छ– पहिलो स्वास्थ्य, दोस्रो पैसा र तेस्रो उपभोक्ताको मानसिकतामाथिको ठगी ।’

खुला र टुप्पी दूधमा झनै जोखिम

बजारमा प्याकेटको दूधभन्दा खुल्ला वा टुप्पी बाँधेर आउने दूध शुद्ध हुन्छ भन्ने भ्रम फैलाएर उपभोक्तालाई झनै विष खुवाउने काम भइरहेको महर्जनको आरोप छ ।

‘अहिले बजारमा प्याकेटमा होइन, टुप्पी बाँधेर आउने र खुल्ला दूध प्रशस्त मात्रामा बिक्री हुन थालेको छ,’ उनी भन्छन्, ‘प्याकेटको दूध खराब हुन्छ भनेर खुला दूधलाई शुद्ध भन्दै प्रचार गरिन्छ, तर वास्तवमा ती दूधमा झनै घातक तत्त्वहरू मिसाइएका हुन्छन् ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र स्थानीय सरकारहरूले प्रभावकारी नियमन गर्न नसक्दा दूध माफियाहरूको मनोबल बढेको महर्जनको आरोप छ । उनका अनुसार ३ वर्षअघि नै यसबारे उजुरी दिँदा पनि कारबाहीमा तदारुकता देखाइएको छैन ।

‘यो खाद्य विभागको एक किसिमको लापरबाही नै हो, स्थानीय सरकारहरूले पनि अनुगमनलाई प्राथमिकता दिएका छैनन्,’ उनी भन्छन्, ‘ठूला उद्योगहरू समेत यस्तो अनियमित कार्यमा संलग्न भएको भेटिएका छन्, यस्तालाई एकाध पटक अनुगमन गरेरमात्र हुँदैन, नियमित नियन्त्रण र कडा कारबाहीको खाँचो छ ।’

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?