0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

एकातिर नागरिक एपलाई ‘सुपर एप’ बनाउने सपना, अर्कोतिर विभागैपिच्छे सफ्टवेयर

सरकारले नागरिक एपमार्फत कम्तीमा पनि एक सयवटा सरकारी सेवाहरु प्रदान गर्ने घोषणा गरेको छ, तर नापी विभाग, कन्सुलर सेवा विभाग, शिक्षा मन्त्रालयलगायतले आआफ्ना एप सार्वजनिक गरेका छन्

कौशल काफ्ले कौशल काफ्ले
२०८३ जेठ २६ गते ७:५०

नापी विभागले गत बिहीबार मात्र ‘मेरो कित्ता’ नामको मोबाइल एप सार्वजनिक गर्यो । जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने भन्दै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरियो ।

नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ । प्ले स्टोर र एप स्टोर दुबैबाट डाउनलोड गर्न सकिन्छ । एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ । आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन् ।

यस्तै, ई–सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको विभागको दाबी छ । यतिसम्म कि, फिल्ड रेखांकन सेवाका लागि आवश्यक राजस्वसमेत अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था छ ।

एपमार्फत सम्बन्धित नापी कार्यालयका प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बरसमेत प्राप्त गर्न सकिने छ । ‘मेरोकित्ता’ को वेब संस्करण पनि नापी विभागले निकालेको छ ।

यसरी आफ्नै उपस्थितीमा भएको एप सार्वजनिक कार्यक्रममा मन्त्री रावलले सूचना–प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताइन् । जग्गासम्बन्धी सेवा लिन सेवाग्राहीले कार्यालय धाउनुपर्ने बाध्यता क्रमश: अन्त्य हुँदै गएको उनको दाबी थियो ।

समग्रमा ‘मेरोकित्ता’ एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेकी मन्त्री रावलले डिजिटल सुशासनलाई सुदृढ बनाउन यस्ता प्रविधिमैत्री सेवाहरूलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता नै गरिन् ।

०००

जेठको दोस्रो साता परराष्ट्र मन्त्रालयले एउटा मोबाइल एप सार्वजनिक गर्‍यो । विदेशमा रहेका नेपालीहरूको लागि भन्दै परराष्ट्र अन्तर्गतको कन्सुलर सेवा विभागले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्यायो, जसको उद्घाटन परराष्ट्रमन्त्री शिशिर खनालले गरे ।

आफ्नो स्मार्टफोनमा उक्त एप डाउनलोड गरेर विदेशमा रहेका नेपाली र आफन्तले गुनासो/समस्या राख्नसक्ने सुविधा एपमा छ । विभागका महानिर्देशक दुरपदा सापकोटाले विदेशमा रहेका नेपालीहरूका उजुरी, गुनासा, उद्धारलगायतका कार्य उक्त एप मार्फत सहजै गर्न सक्ने बताइन् ।

हाल सञ्चालनमा रहेको अनलाइन प्रणालीमा उजुरी तथा समस्या राख्न सक्छन् । तर, उक्त अनलाइनमा भने विभागमा उजुरी आइसकेपछि विभागले नै सम्बन्धित नियोगमा पठाउनुपर्थ्यो । यसमा भने सिधै नियोगमा नै उजुरी गर्न मिल्ने उनको भनाई छ ।

मोफा मित्र उद्घाटनको क्रममा मन्त्री खनालले सहज पहुँच सुनिश्चित गर्नका लागि एप सञ्चालनमा ल्याइएको बताए । ‘एउटा एपले यहाँहरूको गुनासो सम्बोधन हुन्छ भन्ने हाम्रो अपेक्षा छ । प्रविधिको अत्यधिक प्रयोग गरेर समस्यामा परेका नेपालीका समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्री खनालले भने ।

०००

शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि आधिकारिक डिजिटल लर्निङ प्लेटफर्म आफैँ बनाएको छ । यसले विकास गरेको नेपालको आधिकारिक डिजिटल लर्निङ पोर्टल ‘सिकाई चौतारी’ मोबाइल एप आंशिक रुपमा सञ्चालनमा ल्याएको छ । शिक्षा मन्त्रालयका अनुसार, अहिले यो एप डेभलपमेन्टको चरणमै छ, यसभित्र धेरै कामहरु जारी छन् ।

यद्यपि, शिक्षा मन्त्रालयले ल्याएको यो एपमार्फत विद्यार्थी, शिक्षक र प्रशिक्षकहरूले पाठ्यक्रममा आधारित पाठ्यपुस्तक, भिडिओ सामग्री, क्विज र अन्तरक्रियात्मक सिकाइ सामग्रीहरू नि:शुल्क प्राप्त गर्न सक्ने बताइएको छ ।

नेपाली र अंग्रेजी दुबै भाषामा रहेको यो एप एन्ड्रोइड डिभाइसमा उपलब्ध छ । मन्त्रालयको दाबी अनुसार, यो एप कम इन्टरनेट भएको ठाउँमा पनि चल्छ । अझै पूर्णरुपमा बनिसकेपछि सहज ढंगले प्रयोगकर्ताले यसलाई चलाउन सक्छन् ।

०००

यसरी मन्त्रालयले आ–आफ्नो ढंगले मोबाइल एपहरु विकास सरकारले भने नागरिक एपलाई नै सम्पूर्ण सरकारी सेवा प्रदान गर्ने ‘सुपरएप’ बनाउने घोषणा गरेको छ ।

सरकारको नीति तथा कार्यक्रममा न्यूनतम एक सय सरकारी सेवाहरुलाई एकीकृत ‘नागरिक एप’मार्फत उपलब्ध गराइने उल्लेख छ । एकपटकको विवरण सबै सेवामा प्रयोग हुने सिस्टम बनाइने योजना त्यसमा छ । ‘वान विन्डो’बाटै सबै सरकारी सेवा उपलब्ध हुने संकेत नीति तथा कार्यक्रमको छ । यसको लागि अन्तरसञ्चालन सक्षम सरकारी डाटाबेस विकास गरिने योजना पनि उल्लेख छ ।

‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहलाई छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन अन्तर आबद्ध प्रणालीमा आधारित एकीकृत डिजिटल प्लेटफर्म मार्फत इगभर्नेन्स प्रणाली सुदृढ गरिनेछ,’ नीति कार्यक्रममा उल्लेख छ ।

यसपटक मात्रै होइन, पछिल्लो वर्षकै बजेटमार्फत नै नागरिक एपमा पनि दर्जनौँ सरकारी सेवाहरू आबद्ध गर्ने घोषणा सरकारले गरेको थियो । यस वर्षको बजेटले पनि एकल बिन्दूबाट सरकारी सेवा दिने कुरालाई प्राथमिकता दिएको छ । ‘डिजिटल सार्वजनिक विकास पूर्वाधारमा लगानी विस्तार गर्नेछौँ,’ अर्थमन्त्री वाग्लेले बजेटमार्फत घोषणा गरेका छन् ।

अझ त्यसभन्दा अघि सरकारले राष्ट्रिय प्रतिबद्धता भन्दै एउटा मस्यौदा सार्वजनिक गरेको थियो, जसमा नागरिक एपलाई सुपर एप नै बनाउने योजना उल्लेख थियो । ‘डिजिटल नेपाल फ्रेमवर्कलाई समयानुकूल परिमार्जन तथा नागरिक एपलाई सुपर एपको रुपमा विकास गरिनेछ,’ सरकारी प्रतिबद्धतामा उल्लेख छ ।

यसले सरकारको मुल उद्देश्य नागरिक एपलाई सुपर एपको रूपमा विकास गरेर सबै डिजिटल सेवा एकठाउँबाट दिनेमा देखिन्छ ।

व्यवहारमा भने ठिक उल्टो – मन्त्रालय पिच्छे मोबाइल एप सार्वजनिक गर्ने ट्रेन्ड पछिल्लो समय बढ्दो छ । प्रविधि विज्ञ राजीब सुब्बा यस्तो शैली अपनाउनुलाई परम्परागत सोचको रुपमा हेर्छन् । ‘सरकारले एकातिर सुपर एप बनाउने भन्ने कुरा गरिरहेको छ, तर अर्कोतिर परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, नापी विभाग लगायतले आफ्नै छुट्टाछुट्टै एप्लिकेसनहरू बनाइरहेका छन् । यो कुरा त विरोधाभासपूर्ण भएन र ?,’ उनी भन्छन्, ‘यसरी हरेक मन्त्रालय र विभागले आफैं एप बनाउँदा रिसोर्सको दोहोरो खर्च हुन्छ, काम दोहोरिन्छ, उत्पादकत्व घट्छ । यो पुरानो सोच हो ।’

अपनाउन सकिन्छ ‘ईआरपी’ मोडल

सरकारले सुपर एप बनाउने घोषणा सपना देखेको भएपनि यसरी विभिन्न मन्त्रालय र विभागहरूले छुट्टाछुट्टै एप विकास गरिरहेको भन्दै विज्ञहरुले भने ईआरपी (इन्टरप्राइज रिसोर्स प्लानिङ) मोडलमा काम गर्न आवश्यक रहेको सुझाव दिएका छन् । वर्तमान शैली सरकारी नीति र योजनाबीचकै विरोधाभाष भएकाले यसलाई एकीकृत मोडलमा काम गर्न सुझाएका छन् ।

सुब्बाका अनुसार, पहिले निजी कम्पनीहरूमा अकाउन्टिङ, पेरोल, एचआर, इन्भेन्ट्री सबै छुट्टाछुट्टै सिस्टम हुन्थ्यो । पछि ईआरपी मोडेलमा काम हुन थालेपछि सबै कुरालाई एकै प्लेटफर्ममा जोड्न थालियो । ईआरपी मोडल भनेको सबै प्रक्रियालाई एकीकृत गर्ने प्रणाली हो, जसले एउटै विन्डोबाट सबै काम गर्न सकिन्छ ।

सुब्बाका अनुसार यो गरेमा खर्च कटौती हुन्छ, सेवा छिटो र सहज हुन्छ । विकसित देशहरूमा अहिले पनि सार्वजनिक सेवाहरू यही मोडेलमा चलिरहेका छन् । ती देशहरूले वर्षौंअघि नै यो मोडेल सफलतापूर्वक लागु गरिसकेका छन् ।

तर, सबै एकैठाउँ हुँदा साइबर सुरक्षाको जोखिम कत्तिको झन धेरै हुन्छ होला नि ? यो कुरा सरकारको लगानी र व्यवस्थापनमै भर पर्ने कुरा रहेको शुब्बाले बताए । ‘ठिक हो, छुट्टाछुट्टै सिस्टम राख्दा एउटा ह्याक भए अर्कोलाई असर गर्दैन भन्ने गरिन्छ,’ उनले भने, ‘तर राम्रो साइबर सुरक्षा प्रणाली र पर्याप्त लगानी गरेर एकीकृत ईआरपी मोडलमा काम गर्दा यो अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी हुन्छ । अबको आवश्यकता यही हो ।’

विज्ञ अमृता शर्मा पनि अबको समयमा ईआरपी मोडलमा काम गर्दा सेवा सहज र छरितो हुने बताउँछिन् । अहिलेसम्म जेजसरी काम भएपनि अब भने ईआरपी मोडलमा काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘अब बनाउने सिस्टमहरू इन्टरअपरेटेबल हुनुपर्‍यो । यो दीर्घकालीन हुन्छ । नत्र त हामी एउटा सिस्टम बनाउँछौँ, फेरि अर्को केके आउँछ । खर्च पनि छरिएर हुन्छ,’ शर्माले भनिन्, ‘बरु अहिले बनेका सफ्टवेयर पनि पछि गएर लिंक गरेर इन्टरअपरेटल बनाउनेगरी काम गरेको भए पछिलाई सहज हुन्थ्यो । सरकारले यस्ता काम गर्दा अब डिजिटल पब्लिक इन्फ्रास्ट्ररको एंगलबाट गर्नुपर्छ । यसले कम खर्च गराउँछ, सेवा प्रभावकारी पनि हुन्छ ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?