0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

श्रमिकका गुनासा तत्काल सम्बोधन गर्न श्रम मन्त्रालयमा ‘एक्सन कमान्ड सेन्टर’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा, श्रम तथा रोजगार मन्त्रालयले श्रमिकका गुनासा र ठगीका उजुरी तत्काल सम्बोधन गर्न 'एक्सन कमान्ड सेन्टर' सञ्चालनमा ल्याएको छ ।
  • मन्त्री रामजी यादवको निर्देशनमा उपसचिव उपेन्द्रराज पौडेलको नेतृत्वमा ५ जना कर्मचारी खटाएर उक्त सेन्टर सञ्चालन गरिएको हो ।
  • व्यवसायीले दुःख दिएको आरोप लगाए पनि मन्त्रालयले श्रमिकलाई तत्काल न्याय दिलाउन सेन्टर स्थापना गरिएको जनाएको छ ।

२६ जेठ, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयमा श्रमिकका गुनासा तत्काल सम्बोधनका लागि ‘एक्सन कमान्ड सेन्टर’ (एसीसी) सञ्चालनमा ल्याइएको छ ।

मन्त्री रामजी यादवको निर्देशनमा गुनासा, उजुरी तथा समस्याको तत्काल सम्बोधनका लागि मन्त्रालयकै कर्मचारी खटाएर एसीसी सञ्चालनमा ल्याइएको हो ।

वैदेशिक रोजगारीमा हुने ठगीका उजुरी, आन्तरिक श्रम क्षेत्रमा आउने गुनासा तथा उजुरीको तत्काल सम्बोधन गर्नका लागि एसीसीको स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसका लागि मन्त्रालयले एक जना उपसचिव सहितका कर्मचारीलाई खटाएको छ । मन्त्रालयका उपसचिव उपेन्द्र राज पौडेलसहितका ५ जना कर्मचारीलाई उक्त सेन्टरमा खटाइएको छ । उनीहरूलाई दिनहुँ आउने गुनासा, उजुरी, उद्दार तथा ठगीका घटनालाई तत्काल सम्बोधन गर्ने जिम्मेवारी दिइएको छ ।

उपसचिव पौडेलका अनुसार दिनहुँ आउने गुनासा, उजुरी तथा समस्यालाई तत्काल सम्बोधनका लागि सम्बन्धित निकायमा पठाउने गरिएको छ । मन्त्रालयको हाल ९७६८५६५७६८ नम्बरमा ह्वाट्सएप तथा फोनमार्फत समेत गुनासो टिपाउने व्यवस्था मिलाइएको छ ।

‘ह्वाट्सएप, मेल, टेलिफोन वा भौतिक रूपमै उपस्थित भएर आएका उजुरीहरूलाई तत्काल सम्बोधन गर्नका लागि सम्बन्धित निकायमा पठाउँछौं । हाम्रोबाटै सम्बोधन गर्न सकिने विषय हामीले यतैबाट सम्बोधन गर्छौं’ पौडेलले भने ।

त्यसरी आएका गुनासा तथा उजुरीहरू सम्बन्धित निकायहरू वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग लगायतका निकायमा तत्काल पठाउने गरिएको सेन्टरले जनाएको छ ।

मन्त्रालयमै सेन्टर स्थापना गरिएपछि म्यानपावर व्यवसायीहरूले भने विरोध जनाएका छन् । उजुरीकै आधारमा म्यानपावर व्यवसायीलाई फोन गरेर तत्काल बोलाउने र उजुरीका सम्बन्धमा छलफल गर्ने गरिएको छ । व्यवसायीहरूले भने सेन्टरका नाममा अनावश्यक दुःख दिने काम भइरहेको आरोप लगाउँदै आएका छन् ।

गुनासो तथा उजुरीका सम्बन्धमा वैदेशिक रोजगार विभागले हेर्नुपर्नेमा मन्त्रालयबाट हुने गरेका यस्ता खालका कार्यले समस्या भइरहेको उनीहरूको भनाइ छ । मन्त्रीको सचिवालयले भने मन्त्रालयमा आउने पीडित, कल सेन्टरमार्फत आउने गुनासो तथा उजुरीलाई तत्काल समाधान गर्नका लागि सेन्टरको स्थापना गरिएको जनाएको छ ।

मन्त्री यादवका स्वकीय उपसचिव सरोज यादवले व्यवसायीहरूलाई दुःख दिने नभई श्रमिकलाई तत्काल न्याय दिलाउनका लागि सेन्टरको स्थापना गरिएको बताए ।

‘व्यवसायीलाई बोलाएर अनावश्यक दुःख दियो, केरकार गरियो भन्ने हल्ला फैलिरहेको छ । हामीले त पीडित श्रमिकलाई तत्काल न्याय दिनुपर्छ भनेर उनीहरूलाई मन्त्रालय बोलाएर सहज रूपमा समाधान खोज्दै आएका हौं,’ यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?