0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

डोल्पामा यार्सा टिप्न गएका विद्यार्थी फर्किए, विद्यालय खुले

डोल्पामा हरेक वर्ष यार्सागुम्बा संकलनको समयमा विद्यालय बन्द हुने परम्पराजस्तै बनेको छ ।

पूर्ण सार्की पूर्ण सार्की
२०८३ जेठ २६ गते १८:३३

२६ जेठ, डोल्पा । यार्सागुम्बा संकलनको समय चलेपछि बन्द भएका हिमाली जिल्ला डोल्पाका विद्यालयहरू पुन: सञ्चालनमा आएका छन्  यार्सा टिप्न हिमाली पाटन चढेका विद्यार्थी तथा अभिभावकहरू फर्किएपछि विद्यालयमा नियमित पठन–पाठन सुरु भएको हो ।

यार्सा टिप्ने सिजन सुरु भएपछि जेठ १० गतेदेखि यहाँका अधिकांश विद्यालयले १५ दिनसम्मको बिदा दिएका थिए । विद्यार्थी फर्किएपछि सोमबार विद्यालयमा पठन–पाठन सुरु भएको स्थानीय तहहरूले जनाएका छन् ।

शे–फोक्सुण्डो गाउँपालिकाले सोमबारदेखि विद्यालयहरूमा पूर्ण रूपमा पठनपाठन सञ्चालन गरिएको बताइको छ । गाउँपालिकाले अब सबै शिक्षक, विद्यार्थी तथा विद्यालय कर्मचारीलाई अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

यार्सा टिप्ने सिजन सुरु हुँदा जेठ महिनाको सुरुवातदेखि नै यहाँका विद्यालयहरूमा विद्यार्थीको उपस्थिति घट्न थालेको थियो । केही विद्यालयमा विद्यार्थी संख्या न्यून भएपछि पठनपाठन नै स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

डोल्पामा यार्सागुम्बा संकलन केवल मौसमी काम नभई अधिकांश परिवारको मुख्य आम्दानीको स्रोत हो ।

हरेक वर्ष जेठ महिनामा यार्सा टिप्नका लागि पाटनहरू खुला हुने गर्दछन् ।  यही बेला यार्सा टिपेर वर्षभरिको खर्च, बालबालिकाको शिक्षा तथा दैनिक जीविकोपार्जनका लागि पैसा जुटाउनुपर्ने स्थानीयको बाध्यता हुन्छ ।

यसैकारण स्थानीयबासी सबै परिवार हिमाली पाटन जाने गर्दछन् । यस अवधिमा विद्यार्थी मात्र नभई अधिकांश स्थानीय बासिन्दा हिमाली पाटनतर्फ जाने भएकाले गाउँघर सुनसान हुने, विद्यालय, बजार तथा सरकारी सेवा प्रवाहसमेत प्रभावित हुनेगर्छ ।

यसैले डोल्पामा हरेक वर्ष यार्सागुम्बा संकलनको समयमा विद्यालय बन्द हुने परम्पराजस्तै बनेको छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?