0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

दुग्ध विकास बोर्डको औचित्य प्रमाणित गर्न कृषिमन्त्री चौधरीको निर्देशन

बोर्ड पुनर्संरचना मार्फत यसको आवश्यकता र औचित्य प्रमाणित हुने मन्त्री चौधरीले बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले राष्ट्रिय दुग्ध विकास बोर्डको अध्यक्षका रूपमा पदभार ग्रहण गर्दै दुग्ध क्षेत्रको विकासका लागि निर्देशन दिइन् ।
  • मन्त्री चौधरीले स्थापनाकालदेखि नै बोर्डले अपेक्षा अनुसार काम गर्न नसकेको र आफ्नो औचित्य प्रमाणित गर्न संघर्ष गरिरहेको बताइन् ।
  • उनले ‘बोर्डको पुनर्संरचनासँगै दुग्ध क्षेत्रको विकासमा प्रभावकारी योगदान पुग्ने मेरो अपेक्षा छ’ भनिन् ।

२६ जेठ, काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले राष्ट्रिय दुग्ध विकास बोर्डलाई दुग्ध क्षेत्रको समग्र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकी छिन् ।

बोर्ड अध्यक्षका रूपमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले दुग्ध क्षेत्रको प्रवर्द्धनका लागि सरकारलाई नीतिगत सुझाव दिनुका साथै उत्पादन, उपभोग, गुणस्तर र बजार व्यवस्थापनमा सुधार ल्याउनुपर्नेमा जोड दिइन् ।

उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा बोर्डको भूमिका प्रभावकारी हुनुपर्ने बताइन् ।

निजी तथा सरकारी दुग्ध व्यवसायीबीच समन्वय गर्ने र दुग्ध विकास सम्बन्धी अध्ययन गरी ‘डेरी डाटाबेस’ तयार पार्नु बोर्डको प्रमुख जिम्मेवारी भएको उनको भनाइ थियो ।

मन्त्री चौधरीले स्थापनाकालदेखि नै बोर्डले अपेक्षा अनुसार सेवा दिन नसकेको र लामो समयदेखि आफ्नो औचित्य प्रमाणित गर्न संघर्ष गरिरहेको स्वीकार गरिन् ।

‘दुग्ध उत्पादक किसान, सहकारी र निजी क्षेत्रका लागि बोर्ड आवश्यक भए पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा समय–समयमा यसको खारेजीको चर्चा हुने गरेको छ,’ उनले भनिन् ।

वर्तमान अवस्थालाई बोर्डका लागि सुनौलो अवसरको रूपमा व्याख्या गर्दै मन्त्री चौधरीले संस्थाको लक्ष्य र उद्देश्यलाई प्राथमिकतामा राखी पुनर्संरचना गर्न निर्देशन दिइन् ।

बोर्ड पुनर्संरचना मार्फत यसको आवश्यकता र औचित्य प्रमाणित हुनेमा उनले विश्वास व्यक्त गरिन् ।

‘बोर्डको पुनर्संरचनासँगै दुग्ध क्षेत्रको विकासमा प्रभावकारी योगदान पुग्ने मेरो अपेक्षा छ,’ उनले थपिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?