२६ जेठ, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले १३ जना चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको ‘लागुऔषध विरुद्धको महाअभियान’ अन्तर्गत चेकजाँच गर्दा १३ जना चालकले लागुऔषध सेवन गरेको फेला परेको हो ।
सोमबार दिउँसो विराटनगर महानगरपालिका– १६ स्थित सीमा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले लापसे (लागुपदार्थ सेवन) जाँच गरेको थियो ।
जसमा १२ जना सिटी सफारी चालक, एक जना अटो टेम्पो चालकले लागुऔषध सेवन गरेको भेटिएको थियो ।
शंकास्पद अवस्थामा भेटिएका एक जना पैदलयात्रीले पनि लापसे गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
लागुऔषध सेवन गरी लापरवाही पूर्वक सवारी चलाएको देखिएपछि १३ जना चालकलाई नै म्याद थप गरेर अनुसन्धान सुरु गरेको उनले बताए । पैदलयात्रीविरुद्ध पनि म्याद थप गरिएको उनले बताए ।
उनका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१३ का विवेक महतो, वडा नम्बर ६ का राहुल सहनी, वडा नम्बर ११ बस्ने सुनिलप्रसाद नेपाली, वडा नम्बर १७ बस्ने प्रदीप खड्का, वडा नम्बर– ६ बस्ने सुमनसा सुनार, वडा नम्बर– १६ बस्ने श्रवण सहनी, वडा नम्बर– ६ बस्ने अनिराज बासफोर, वडा नम्बर– १४ बस्ने वीरु खत्वे, वडा नम्बर– ४ बस्ने बासुदेव उराव, वडा नम्बर– ५ बस्ने कालुराम पासवान र संजय पासवान छन् ।
त्यस्तै बुढीगंगा गाउँपालिका– २ का सन्तोष साह, बेलबारी– ११ का सुकुम लिम्बु र पैदलयात्री इटहरी – ५ बस्ने इश्वर डाँगी छन् ।
उनीहरूविरुद्ध लागुऔषध सेवनकर्तामा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए ।
प्रतिक्रिया 4