News Summary
Generated by OK AI. Editorially reviewed.- रोशी खोलामा पानीको बहाव बढेपछि अवरुद्ध भएको बीपी राजमार्गमा पुनः सवारी आवागमन सञ्चालन भएको छ ।
- काभ्रेको रोशी क्षेत्रमा अत्यधिक वर्षा र पहिरोका कारण जोखिम बढेपछि प्रहरीले राजमार्गमा सवारीसाधन चलाउन रोक लगाएको थियो ।
- राजमार्ग खुले पनि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको छ ।
२६ जेठ, काभ्रेपलाञ्चोक । रोशी खोलामा नदीको बहाव बढेपछि अवरुद्ध भएको बीपी राजमार्गमा सवारी आवागमन खुलेको छ ।
रोशीको चारसय बेशी नजिक पहिरो गएको र वर्षाका कारण रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बन्द गरिएको सवारी आवागमन खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
मंगलबार मध्याह्नदेखि बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध र रोशीको माथिलो क्षेत्रमा अत्यधिक पानी परेपछि वर्षासँगै रोशी खोलामा पानीको सतह बढ्दै गएपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा सञ्चालन हुने सम्पूर्ण प्रकारका सवारीसाधनको आवागमन तत्कालका लागि रोक लगाइएको थियो ।
राजमार्ग खुलेसँगै धुलिखेलमा होल्ड गरिएका सवारीलाई सिन्धुली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राजमार्ग खुले पनि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।
प्रतिक्रिया 4